Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 months ago

348




साहित्यकार भट्टराईको पहिलो सन्तान ‘वर्तुल’ले दिएको सन्देश
loading...
साहित्यकार भट्टराईको पहिलो सन्तान ‘वर्तुल’ले दिएको सन्देश


-गोविन्द अधिकारी-

पर्वत । परदेशको भूमि भारतको गुहाटीबाट साहित्य पस्कने हुटहुटी लिई मातृभूमि प्रवेश गर्ने एक युवा नारी पात्रको नाम हो विनु भट्राई । धेरै नेपाली युवायुवती रोजीरोटीका खातिर आफ्नो यौवन, जोश, जाँगर सवै परदेशी भूमिमा विताउन बाध्य छन् भने केही नेपाली युवाहरु आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने छन् । यस्तै परिवेशमा साहित्यकार भट्टराई पनि लामोसमय भारत वसेपछि नेपाली भाषाको गजल साहित्य पस्कन नेपाल आइन् । उनले आफ्नै भूमिमा गजल रुपी साहित्यिक पहिलो सन्तान ‘वार्तुल’ लिएर आएकी छिन् । 


प्रेम, संस्कृति, जीवन, जगतका भोगाई र बुझाईलाई गजल मार्फत् पोख्दै दुनियाँलाई सतकर्ममा घच्घचाउन खोज्दै गर्ने युवा साहित्यकार भट्टराईको जन्म पर्वतको कर्नास, पाङराङमा भएको हो । छिमेकी देश भारतमै स्नातकसम्मको पढाई पुरा गरेकी भट्टराईले आफूलाई बाल्यकालदेखि नै साहित्यिक यात्रातर्फ रुचि बढेको बताउँछिन् । साहित्यक्षेत्रमा एउटा परिपक्व सन्तान जन्माइ सकेकी सािहत्यकार लाई आफ्नो बाल्य अवस्थामा साहित्यप्रतिको लगाव कसरी बढ्दै थियो ?भन्ने सम्झदा अहिले पनि उनको मन कुतकुतिएर आउँछ । साहित्यमा प्रेरणाका स्रोत मानिएका उनकै बाबु रामप्रसाद भट्टराईकै काखमा हुर्कदै गर्दा साहित्यकार भट्टराईको मनले साहित्यिक क, ख सिकिसकेको थियो । 

       सानो छदै खेरि लोक दन्त्यकथा, भजन, गीत सुन्दै हुर्केकी उनले जवानी बढ्दै जाँदा आफूलाई झनै त्यसमा आकर्षण बढ्दै गएको पाइन् । साहित्यकारको ‘वर्तुल’नामक गजल कृति जुन पहिलो साहित्यिक कृति होे तर रचनाको भाव र वाक्य संरचनाका हिसावले पहिलो भन्ने छनक दिएको पाइदैन । उनका कतिपय गजलका हरफहरु केही शव्दमै गहिरो जीवनदर्शन ओकल्न र मार्गदर्शन गर्न सफल भएका छन् । यही कलाले उनको पहिलो कृति नै साहित्यिक मनहरुको मन जित्न सक्ने देखिन्छ । उनले सत्यको परिभाषा ओकल्दै मृत्यु पारको सन्देश दिदै मुक्तिको वात यसरी गर्दछिन् । 

सत्य टिक्छ, दश औला जोडेर वसौ ।

मुक्तित्यहीँनेर मिल्छ, मोह छोडेर बसौं ।

त्यस्तै उनी भन्छिन्–

प्रायजसो देखिन्छ जन्म–मृत्युका घटना,

तैपनि मानिस अन्जान छ आफ्नै मरणबाट ।

उपरोक्त गजल पंक्तिले मानिसले जीवन जगतको रहस्यमयी खेललाई बुझ्न नसकेर निहित स्वार्थमै भुलेर मानवतालाई समेत लत्याएको भनी शालीन तवरबाट आलोचना गरेकी छन् । मानिसले जीवनको जन्ममृत्यु जस्तो शास्वत सत्यलाई बुझ्न र सम्झन नसकी भ्रंममा बाँचिरहेकाले नै दुःखी हुनु परेको कुरा उल्लेख गजल पंक्तिले गरेको छ ।

साहित्यकार भट्टराई जीवन जगत प्रति जति गहन तर सरल तरीकाले आफ्ना शव्द खेलाउन सफल छिन् । उसैगरी उनले आफूलाई प्रेमिल बनाउँदै प्रेमको रापले आफै आनन्द विभोर बन्न समेत चुकेकी छैनन् । प्रेमलाई जीवन भनेर परिभाषागर्ने साहित्यकार भट्टराईले एक प्रेमिका जव आफ्नो प्रेमी अर्थात् ईश्वरको न्यानो सामिप्यतामा आउँछिन् उनमा आउने भावनात्मक उतारचढावलाई गजल पंक्तिमार्फत् यसरी  प्रेमिल भावनाले रोमान्टिकता प्रस्तुत गरेकी छिन् । उनले आफ्नो रचनालाई भौतिक मानवसँगको सम्वन्धलाई मात्र नभई ईश्वर, प्रकृति र मानवतासँग जोड्दै विम्वात्मक शैलीले फराकिलो तवरबाट भाव प्रकट गर्न खोजेको पाइन्छ ।  

सर्नु भो नजिक नजिक त्रसित भएँ म ।

सर्वाङ्ग छोइदिनु भो, कम्पितभएँ म ।

त्यसैगरी गजलकारले आफ्नो मनको राजाअर्थात् प्रेमीसँगलजाउदै यसरी यौन मनोविज्ञान पोख्छिन्–

किआउदै नआउ, किआगो बुझाऊ,

लाज, सरम नै भाग्छ तिमीलाई देखेपछि ।

भौतिकवादीदुनियाँतर्फ अतृप्तचाहनाले अतिआकर्षित भै छट्पटिदै गरेको भौतिकवादी मनुष्यलाई गजलकारले गजलका शव्दमार्फत् सम्झाउन यसरी लागिपरेकी छिन्–

असीमित चाहनाले विगार्छ मान्छेलाई ।

सोचेको नभएपछि पीर पार्छ मान्छेलाई ।

जिन्दगीको राजमार्गमा हुँइकिदै जाँदा,

मृत्युले हरमोडमा पुकार्छ मान्छेलाई ।

यी हरफले आधुनिक समयका चेतनाले जड बनेका मुन्छेलाई मृत्यु मार्फत् होस् खुलाएर सत्य पथमा लगाउने चेष्टा गजलकारले गर्दैछिन् । थोरै शव्द खर्चिएको गजल संग्रह वर्तुल मार्फत् गजलकारले प्रेम, मृत्युचेतना, मानव अन्तर सम्वन्ध, जीवन जगत लगायतका विषयवस्तु प्रस्तुत गर्दै पाठक हरुलाई सत्यपथ तर्फ उन्मुख हुन झक्झकाउँछिन् । गजलकारको अर्को खास विशेषता भनेको आफ्नो रचनामा सकारात्मक सन्देशलाई जोड दिदै आक्रोश, कुण्ठा, रीस, रागलाई नामेट पार्नु पर्नेमा जोड दिन्छिन् ।

समाजमा देखापर्ने विकृति विसंगति प्रति गजलकारले व्यङ्ग्यात्मक प्रहार गरेकी छिन् । यसले गजलकार प्रेम र प्रकृति सँग मात्रनभई कुसंस्कृति लाई हटाउनुपर्छ भन्ने मान्यता प्रकट गर्छिन्–

बोक्सीकै आरोपमा जल्छन् विधवा र असक्त

को छ र यहाँ धामी झार्की बनि चमत्कार गरेको ?

गजलकार भट्टराईको कृति वर्तुलको जुन अर्थ हुन्छ चक्र यही नामको अर्थ अनुसार नै मावनजीवन र प्रकृति जगतमा देखा पर्ने हरेक पक्षको चक्रीय पद्धतिलाई उजागर गर्ने प्रयास गरेको छ ।