प्रत्येक रात उ आउँछ
अनि भन्छ, कहिले आउँछौ ?
मेरो एउटै उत्तर हुन्छ, केही समय पछि
अनि फेरि उ भन्छ,
के तिम्रो जवानी सकिएपछि ?
के तिमीलाई यहाँबाट लखेटेपछि ?
मुग्लान पसेका मेरा साथीहरुलाई
सायद उ सँधै यही भन्दोहोला,
मलाई देखाएका सपना
उनीहरुलाई पनि देखाउँछ होला
अनि, मलाई भनेजस्तै गरि भन्छ होला
अहिलो तिम्रो ठाउँमा गाडी चल्छ,
अहिले तिम्रो आँखामा बिजुली बल्छ,
अहिले तिम्रो ठाउँमा अनगिन्ती सुविधा छ
उ, अर्थात मेरो गाउँ
अझै भन्छ, तिम्रो गाउँमा मलामी जाने मान्छे पनि छैनन्,
खेतहरु बाँझै छन्,
अनि खोलाहरु पनि एक्लिएका छन्,
वनपाखाले पनि सुसेल्न छाडेका छन्,
तिमी छिट्टै फर्क
काठको बाकसमा होईन, बलिया पाखुरा लिएर
तिम्रो बाल्यकालको खुसी लिएर फर्क,
सम्वृद्धि गर्न फर्क
तर, जवानीमै फर्क
म, अर्थात हुनेवाला भुपु नेपाली
उसलाई भन्न सक्छुहोला,
म छिट्टै फर्कन्छु
यहाँको सीप र प्रविधि लिएर आउँछु
मेरा सँगी साथी लिएर फर्कन्छु
तर,
म विवश छु
मेरो सीप र प्रविधिमा विदेशी दाग छ
मेरो दक्षता ठालुहरुको चाकडीमा फेल हुन्छ
मेरा साथीहरुमा रेमिट्यान्सको भार छ
त्यसैले उसलाई म सिर्फ यति भन्छु
म छिट्टै फर्कन्छु
किनकि म भूपू नेपाली बन्दै छु