प्रवासी राजनीतिमा महिला सहभागिता र चुनौती
दिपिका भुसाल     5 months ago
प्रवासी राजनीतिमा महिला सहभागिता र चुनौती
पर्बत घर भै हाल इजरायल मा बसोबास गर्ने दिपिका भुसाल अन्तराष्ट्रिय पर्बत समाज को उपाध्यक्ष हुन्

‘प्रवासमा नेपाली राजनीतिक आवश्यक वा अनाआवश्यक ?’ त्यो बहसको बिषय हुन सक्छ । नितान्त रोजगारीका लागि प्रवासिएका नेपालीहरु नेपालबाट  बाहिरिदा राजनीतिक सोच बोकेर बाहिरिएका हुदैनन् । सबैभन्दा सुरुवाती सोच भनेको सकेसम्म आर्थिक अवस्था कसरी सुधार गर्ने भन्ने नै हुन्छ । बिस्तारै आर्थिक अवस्था सुधारिदै गएपछि समाजसेवातर्फ मन जानु अथवा आस्था राखिएको पार्टीमा क्रियाशील हुने रहर पलाउनु स्वाभाविक नै हो । नेपालमा हुदा सकृयतापुर्वक राजनीति गरेका कार्यकर्ताहरु पनि बिदेशिनुपर्ने बाध्यात्मक अवस्थालाई नियाल्दा त्यसरी क्रियाशील भएर काम गरेका मान्छेहरु बिदेशमा छिट्टै राजनीतिमा आकर्षित भएको देख्न सकिन्छ ।

सामाजिक दृष्टिकोण

महिला र पुरुषबीचमा पनि बिदेशिनु पर्ने अवस्थालाई फरक किसिमले हेर्ने गरिएको पाइन्छ । एक जना पुरुष बिदेशमा कार्यरत रहनु र एकजाना महिला बिदेशमा कार्यरत रहनुमा धेरै ‘परिस्थिति’हरु फरक रहेको स्पष्ट देख्न सकिन्छ । बिदेशमा कार्यरत अधिकांश महिलाहरुलाई आर्थिक समस्या संगसंगै अन्य धेरै अफ्ठेराहरुको सामना गरिरहनु परेको यथार्थ लुकाएर लुक्ने खाले छैनन । निजि समस्याबाट पार पाउने बित्तिकै ‘सामाजिक दृष्टिकोण’को कसीमा अब्बल ठहरिनका लागि बेग्लै लक्ष्मणरेखा भित्र खुम्चिएर बस्नुपर्ने कतिपय बाध्यताहरु पनि नभएका होइनन । यति हुदाहुदै पनि नेपाली दिदीबहिनीहरु प्रवासमा खुलेका राजनैतिक दलका भातृ  संगठनहरुमा राम्रै स्थान जमाएर आफ्नो उपस्थिति देखाउन र आफुलाई प्रमाणित गर्न सक्ने भएका छन्त्यो। जुन सानो खुशीको कुरा होइन ।

पुरुष प्रधान मानासिकता

प्रवासमा खुलेका त्यस्ता संगठनहरुमा माथिल्लो पदसम्म पुगेका महिलाहरु कमै देखिन्छन किनकी त्यहा पनि एक किसिमको ‘पुरुष प्रधान मानसिकता’ क्रियाशील रहेकै हुन्छ । एक जना महिला कार्यकर्ताकै हैसियतमा सधैको लागि पार्टीभित्र अटाउन गाह्रो हुदैन तर तिनै महिला ‘नेतृत्वको आकांक्षी’ हुने बित्तिकै त्यसले धेरै किसिमका पात्रहरुलाई अफ्ठेरोमा पारेको देख्न सकिन्छ ।

कार्य मुल्यांकनको अभाव 

महिलाहरुले आफु कार्यकर्ताको हैसियतमा हुदा हुदा देखाएको क्रियाशीलता, संगठनको सचिवालयमा हुदा गरेका कामहरुको मुल्यांकन होला भन्ने आशा त नगर्दा नै राम्रो।  त्यसमाथि आफुले बरियताक्रम अनुसार नै पाउनुपर्ने र आफु नियम अनुसारको हकदार हुने पदको आकांक्षी मात्र हुदा पनि जब त्यो स्थान नदिनकै लागि फोहोरी राजनीति सुरु हुन्छ तव भने प्रवासको त्यो ‘संघर्षशिल’ समुदाय समेत कतिसम्म पूर्वाग्रही हुन सक्दो रहेछ भन्ने कुरा बुझिन्छ ।

महिलाकै प्रयोग

पुरुष मानसिकता मात्र पूर्वाग्रही छैन महिलाहरुमा पनि एकताको कमी छ। एक जना महिलाको सफलतामा अर्को महिला खुशी हुन सक्ने संस्कृतिको बिकाश अझै हुन सकेको छैन । त्यति मात्र होइन जव नेतृत्वमा कुनै महिला पुग्ने अवस्था आइपुग्छ तब महिलाको खुट्टा तानेर लडाउनको लागि ‘महिलाकै प्रयोग’ हुनु अत्यन्तै दुखादायी अवस्था हो ।

अरुको स्वार्थको लागि गरिएका अनेक किसिमका बहानावाजी, तिकडम  र फोहोरी चलखेलहरुमा एकजना महिलाले आफु महिलाकै बिरुद्दमा प्रयोग भईरहेकी त छैन कतै अथवा आफुले गरेका कुराले आफूजस्तै हकदार महिलाको अपमान त भईरहेको छैन कतै भनेर ‘ऐनामा राम्रोसंग अनुहार हेरेर मात्र बिरोध र समर्थन’ गर्नुपर्ने हो तर अवस्था त्यो भन्दा धेरै फरक छ ।

‘म प्रयोग भएँ’ त्यसैले एकजना महिला अवसरबाट बन्चित हुनुपर्यो भन्ने कुरा बुझ्ने समय आउदा आफुमाथी समेत उस्तै राजनीति सुरु भैसकेको हुन्छ र त्यो बेलाको प्रतिवादले कुनै महत्व राख्दैन ।  महिला भएकै कारण आफ्नो समुदायले सहयोग गर्छ भन्ने सोझो सोचले जुनसुकै बेला धोका खान सक्छ । अधिकांश महिला दिदीबहिनीहरुमा एकता देखिए पनि खुट्टा तान्नैकै लागि केहि महिला पुरुष स्वार्थ अनुरुप प्रयोग हुनु एकदमै दु:खदायी क्षण हो तर एकचित्त भएर निष्ठापुर्वक संस्थाको काममा लागेको अवस्थामा भने त्यस किसिमको कपटसंग डराउनुपर्ने कुनै कारण देखिदैन ।

अस्वस्थ प्रतिष्पर्धा

अहिले मेरो नजरबाट हेर्दा महिलाको प्रतिष्पर्धा पुरुषसंग हुनु कुनै चुनौतिको विषय नै होइन । प्रतिष्पर्धा स्वच्छ र स्वस्थ भयो भने जुनसुकै महिला जतिसुकै शक्तिशाली पुरु संग पनि लड्न सक्छिन  तर सबैभन्दा अफ्ठेरो तव पर्छ जव कुनै पुरुषले आफ्नो महिला प्रतिष्पर्धीलाई हराउन अन्य महिलाकै प्रयोग गर्छन । प्रतिष्पर्धी बलियो हुदैमा दु:ख मान्नुपर्ने कुनै कारण हुदैन, प्रजातान्त्रिक अभ्यासमा हार र जीत सामान्य हुन्छ तर जव आफ्नै समुदायको कारण  अनावश्यक दवाव झेल्नु पर्छ त्यो समय भने निकै पीडादायी हुन्छ ।

त्यो भन्दा ठूलो दु:खको कुरा भनेको एकजना महिला सहकर्मीको पक्षमा उभिनुपर्ने अर्को महिलाले निहित स्वार्थ र अन्य केही साना फाइदाको लागि महिलाकै बिरोध गरिरहेको समेत देख्न सकिन्छ । त्यस्ता केहि ब्यबहारहरु र केही सांकेतिक अभिव्यक्तिहरु हेर्दा सुन्दा भने आखिर एकजना महिला अर्को महिलाको सफलतामा किन खुशी हुन सक्दिनन भन्ने प्रश्न टड्कारो रुपमा उठ्ने गर्दछ ।

अस्वीकृत सह अस्तिव

सह अस्तित्व र समानताको यो युगमा आईपुग्दा समेत समकक्षिको दृढतालाई कम आंकलन गर्नु अथवा अरुको आत्मसम्मानलाई गौण रुपमा लिनु जोसुकैको लागि प्रत्युत्पादक हुन सक्छ । जिन्दगीका धेरै उतार चढावहरु पार गरेर  कुनै निश्चित उचाइमा पुगेको व्यक्ति बिनाकारण त्यो दौडबाट बाहिरिन्छ भन्ने भ्रम बोक्नु हुदैन । कमजोर नै किन नहोस स्वस्थ प्रतिष्पर्धाको लागि चुनावी मैदानमा उत्रनु र प्रतिष्पर्धा गर्नु अनि जितेर नेतृत्वमा पुग्नु सामान्य प्रक्रियाहरु हुन् हामि त्यसको लागि समेसा तयारि अवस्थामा रहनुपर्दछ ।

मैले जनसम्पर्क समिति ईजरायलको ‘प्रथम उपसभापति’ को हैसियतले केहि बर्ष काम गरिसकेको अनुभवलाई सरसर्ती नियाल्दा नेतृत्वमा पुग्नका लागि एक जना महिलाले पार गर्नुपर्ने चुनौतीहरुलाई बुदागत रुपमा केलाउने कोशिस गरेकी हुँ ।