नेपालका भूगोललाई ३५ जिल्लामा विभाजन हुने समयमा पर्वत र स्याङजा एउटै जिल्लामा पर्दथियो । जस्लाई पश्चिम ४ नंम्वर भन्ने गरिन्थो । यसको सदर मुकाम स्याङजा नुवाकोटमा रहेको थियो । अहिले पर्वत प्रदेश नम्वर ४ मा पर्दछ । पर्वतमा अहिले दुई नगरपालिका कुस्मा र फलेवास भएको छ भने जलजला, पैयुँ, महाशिला, मोदी र विहादी समेत पाचँ गाउँपालिका भउको छ ।
पर्वत जिल्लाको पाङमा भेटिएका अवशेष नेपालको सबैभन्दा पुरानो पाषणकालीन भएको प्रमाणित भएको छ । पर्वत जिल्लाको पाङ ऐतिहासिक गाउँ हो । यस गाउँलाई जोतिषको गाउँ पनि भन्ने गरिन्छ । इट्टा बनाउने क्रममा भेटिएका ती अबशेषहरु पाच हजार बर्ष पुराना भएको पुरातात्विक बिभाग बाट प्रमाणित भएको छ । माटो खन्दै जादा सानो गुफा पनि भेटिएको छ । गुफामा भेटिएका माटोका भाडाहरु,स–साना मुगाहरु, तिर तथा भाला लगायतका सामाग्रीहरु पुरातात्विक बिभागमा राखिएको छ ।
पर्वत जिल्लालाई जगतमाता पार्वतीको जन्मस्थान मानिएको छ । पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ गाउँमा भएको मानिन्छ । यसैको आधारमा पर्वत नामाकरण भएको पाइन्छ । परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भन्ने गरेको किम्वदन्ती रहेको छ । पर्वत जिल्लाको सदरमुकाम कुश्मालाई प्रचिनकालमा कुशुमपुर भन्ने गरिन्थो । प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले पार्वती गंगामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई रहेको छ । कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रुपान्तरित भै यस ठाउको नाम कुश्मा हुन पुगेको हो ।
पन्चासे र डहरेको लेक यस क्षेत्रका संभावना बोकेका पर्यटकिय स्थल पनि पर्वत जिल्लामा रहेको छ । सदरमुकाम कुश्मा पोखरा बाट ५८ कि।मि को दुरीमा रहेको छ । कुश्माबजार अर्थात कुशुमपुर पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ । यसका लागि यहाँको प्राकृतिक सुन्दरता मात्रै होइन, मानव निर्मित संरचनाको पनि बिकास भएको छ । कुश्मामा छ ओटा अग्ला र लामा पुलका कारण पुलैपुलको सहरको रुपमा कुश्माबजारले अहिले आफ्नो परिचय बनाएको छ ।
टाढाबाट हेर्दा, कुश्मा, ज्ञादी, बलेवा र फलेवास एउटै समथर उपत्यकाको रुपमा देख्न सकिन्छ । झट्ट हेर्दा ठूलै उपत्याकाको झल्को दिने यो ठाउँ मोदी र कालीगण्डकी नदीका कारण प्राकृतिक रुपमा विभाजन भएको छ । मोदी उर्जा उत्पादनका लागि प्रख्यात छ भने कालीगण्डकी धार्मिक रुपमा । पर्वतको ऐतिहासिक मल्लाज दरबार १ सय ५१ बर्षअघि मल्लकालीन समयमा बनेको माझफाटस्थित उक्त दरबार १९१८ सालमा तत्कालिन कर्णेल तेजबहादुर मल्लले निर्माण गरेका थिए । नेपाली सेनाबाट निबृत्त भएपछि उनले भक्तपुरबाट कालीगढ मगाएर उक्त दरबार बनाएको भनाई छ । पछिल्लो समयमा मल्लाज दरबार संरक्षित हुन सकेको थिएन । अहिले आएर मल्लका वशंहरुले दरबार जिर्णेद्धाार गरेका छन । मन्दिर भित्रका ऐतिहासिक हतियार, दरबारमा रहेका परम्परागत नाचगानका सामग्री, विभिन्न ऐतिहासिक नेपाली, हिन्दी, अंग्रेजी र नेवारी भाषाका पुस्तकहरु भने हराएका छन ।
पर्वतको ऐतिहासिक कालखण्ड अध्ययन गर्ने हो भने यसको क्षेत्र विशाल थियो । राजा मलेबमका पालामा पर्वत शक्तिशाली चौविसे राज्यमा मानिएको थियो । पर्वत राज्य लाई उत्तर भोट, दक्षिण गुल्मी र गल्कोट, पूर्वमा मोदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भएका थिए । त्यतिबेलाको गण्डकी क्षेत्रको एक शक्तिशाली चौबिसे राज्यको रुपमा लिने गरिएको थियो । यसरी इतिहासले विगतको पर्वत बाट वर्तमान पर्वत सानो भूगोलमा आएको छ । पर्वत जिल्ला धवलागिरी अन्चलमा पर्दछ । पर्वत जिल्ला कास्की, स्याङजा, म्याग्दी, र बाग्लुङ जिल्लाको विचमा रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल ५३६।८६ वर्ग किलोमिटर रहेको छ । उचाईका हिसावले समुन्द्रको सतहबाट ५२० मिटर उचाईमा रहेको सेतीवेणी देखि ३३०९ मिटर उचाईमा रहेको हम्पालको लेकसम्मको भू–भाग यस जिल्लामा पर्दछ । पर्वतको पश्चिमी भागमा कालीगण्डकी नदी, मध्यभागमा मोदी भएतापनि यी नदी बाट सिंचाईको उपयोग हुन पाएको छैन । तर अन्य स–साना खोलाहरु लुंदी, लस्ति, पाति, रति, जहरे, मल्याङगदी, चर्दी, लमाय, वाच्छा, सेती लगाएतका खोलाहरु भने सिंचाईका मुख्य स्रोत बनेको छ ।
