Correspondent, ParbatNepal
7 years ago
2346
रोशन तिवारी कार्तिक २७ पर्वत । जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ साताव्यापी भ्रमणको निम्ति सोमवार युरोप प्रस्थान गर्नुभएको छ । सो भ्रमणमा उहाँकी धर्मपत्नी राधिका मल्ल पनि सहभागी हुनुहुन्छ । एकसाताको समयमा मल्लले युरोपका विभिन्न देशको भ्रमण गर्ने जनाईएको छ । विदेश भ्रमणका क्रममा युरोपको विकास सँगै त्यहाँ रहेका नेपालीहरुको अवस्था र जलजला गाउँपालिको पर्यटन लगायत समग्र क्षेत्रको विषयमा छलफल गर्ने बताउनु भएको छ । प्रवासीहरुको चासो जलजलाको पर्यटकिय क्षेत्रमा बढिरहेको सन्दर्भमा मल्लको भ्रमणले जलजला र प्रवासी नेपालीहरुले पनि लगानी गर्ने जनाइएको छ ।
एनआरएनएका उपाध्यक्ष कुल आचार्य समेत सहभागि भएर केहि समय अगाडी हम्पालको भ्रमण गरिएको थियो । जलजलाले हम्पालको विकासका लागि डिपिआर समेत बनाउँदै छ । जलजला गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरेर पूर्वाधार विकास गर्न गुरुयोजनामा अन्तराष्ट्रिय समूदाय र बिदेशमा रहेका नेपालीहरुलाई लगानी गर्न आव्हान गर्ने अध्यक्ष मल्लले बताउनुभयो । गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्न चालू आर्थिक वर्षदेखि पूर्वाधार निर्माणका काम थाल्ने गरी योजना तयार पारिएको छ । तर, वजेटको प्रर्याप्तता छैन ।
यूरोप भ्रमणमा आफ्ना योजनाको बारेमा व्रिफिङ गर्ने र त्यहाँका नगरपालिका संग भगिनी सम्वन्ध स्थापित गरि दुई पक्षिय सम्बन्ध विस्तार गर्ने योजना रहेको जनाइएको छ । जलजलाले पर्वत बेनीदेखि हम्पाल लेकसम्मको पर्यटकीय पदमार्गको पहिचान गरिएको छ । यो पदमार्गत्रि पर्ने पर्यटकीय तथा धार्मिक महत्वका स्थानलाई गाउँपालिकाको मुख्य ‘सर्किट रुट’ समेट्ने गरी काम सुरु गरेको जलजलाका प्रवक्ता एवम् पूर्वाधार समितिका संयोजक देवेन्द्रबहादुर भण्डारीले बताउनुभयो । ‘अहिले पर्यटनको मुख्य आकर्षण पदमार्ग नै हो,’ उनले भने, ‘धुले सडकको विकल्पमा धेरैले पदमार्ग रुचाउँछन ।’ जलजलाभित्र धेरै पर्यटकीय तथा धार्मिक महत्वका स्थान छन । तिनको व्यवस्थित प्रचारप्रसार र आकर्षक भौतिक संरचनाको सम्भाव्यता अध्ययन सुरु गरेको उहाँले बताउनुभयो ।
जलजलाले गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको पहलमा भू–गर्भ्विद्सहितको प्राविधिक टोलीले गाउँपालिकाका मुख्य पर्यटकीय गन्तव्यको स्थलगत अध्ययन समेत गरेको छ । प्रदेश र संघीय सरकारले पनि पर्यटनको क्षेत्रमा सहयोग गर्ने बचन दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले पनि जलजलाको पर्यटन गुरुयोजनालाई सहयोग गर्ने आश्वसन दिनुभएको छ ।
अध्यक्ष मल्लका अनुसार पर्वत बेनीदेखि मल्लाज, सर्षकुमाई, गिद्धेश्वर, पूर्णगाउँ, तारे, दीपको बराहताल, सिर्कु, कालाञ्जरपर्वत हुँदै हम्पाल लेकसम्मको पदमार्गको सम्भाव्यता अध्ययन गरेको हो । यो रुटमा दर्जन बढी पर्यटकीय र धार्मिक स्थल पर्छन । फलामेडाँडा पर्यटकका लागि आकर्षक गन्तव्य हो । बेनी, बाग्लुङ र कुश्माका व्यवसायी, कर्मचारी र विद्यार्थीहरूसमेत शीतल खोज्दै यहाँ आउने गर्छन । गर्मीमा पनि चिसो हावा चल्ने फलामेडाँडामा गर्मी छल्नकै लागि बेंसीबाट आउने गर्छन् । डाँडाकटेरीका होमस्टेको अवलोकन र बासपछि पर्यटक बेनी फर्कने वा त्यहाँबाट घोडेपानी जान सक्छन । गाउँपालिकाले हम्पालको लेकमा २२ रोपनी क्षेत्रफलमा ताल बनाउने योजना बनाएको छ ।
३३ सय मिटर उचाइमा रहेको यो ठाउँमा झन्डै १२ हेक्टर समथर जमिन छ । हम्पालको लेकबाट दलदले जमिन हुँदै बगेको पानीले पूरै जमिन लचकदार भएकाले पनि यो स्थानको नाम जलजला रहन गएको स्थानीय बुढापाका बताउँछन् । यो क्षेत्रमा ताल निर्माण भएमा अन्नपूर्ण पदमार्गमा आउने अधिकांश पर्यटक जलजलाको कालाञ्जर पर्वत पुग्न सहज हुने जलजलाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो । यहाँको बारेमा यूरोपका सरकार प्रमुखहरुलाई जानकारी दिने र नेपाली संघसंस्था मार्फत लगानी भित्राउने योजनामा रहेको मल्लले बताउनुभयो । जलजलाको स्वास्थ्य, शिक्षा, सडक विस्तारमा पनि भ्रमण फलदायी हुने मल्लले बताउनुभयो ।
‘गुरुयोजनाको विस्तृत अध्ययन हुँदैछ,’ मल्लले भने, ‘सबै पूर्वाधार एकैपटक बनाउन सम्भव छैन । प्याकेजमा छुट्टाछुट्टै काम गर्ने हो ।’ केहि सहयोग बिदेशबाट भयो भने काम चाँडो हुने हाम्रो अपेक्षा छ ।
