Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1897




सामुदायिक विद्यालयमा शैक्षिक सुधार भएपछि नीजि विद्यालय धमाधम बन्द
सामुदायिक विद्यालयमा शैक्षिक सुधार भएपछि नीजि विद्यालय धमाधम बन्द

मंसिर ४, पर्वत । पर्वत जिल्लामा सामुदायिक विद्यालयले शैक्षिक सुधार गरेपछि निजी विद्यालय बन्द भइरहेका छन् । शहरी क्षेत्रमा धमाधम सामुदायिक विद्यालय बन्द भइरहेका छन् र निजी विद्यालय खुलिरहेका बेला पर्वत जिल्लामा भने यसको विपरीत देखिएको छ ।

 निजी विद्यालय बन्द भएर सामुदायिक विद्यालयमा गाभिने क्रम दक्षिण पर्वतको बिहादी गाउँपालिकामा शुरु भएको हो । गाउँपालिकाले सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन गराउन थालेपछि निजी विद्यालय छाडेर विद्यार्थीहरू सामुदायिक विद्यालयमा आउन थालेका छन् । गाउँपालिकाले एक कक्षादेखि तीन कक्षासम्म अनिवार्य अङ्ग्रेजी माध्यममा पढाउन थालेका छन् ।

चालु शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका ३२ सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालेको छ । अनिवार्य अङ्ग्रेजी, विज्ञान र गणित विषय अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी नआउने र अङ्ग्रेजी पढाउनकै लागि अभिभावकले बालबालिका बोकेर बजार झर्न थालेपछि एकैपटक सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरिएको गाउँपालिकाका गाउँ शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

गाउँपालिकाले अङ्ग्रेजी माध्यममा विद्यालयमा पढाउन शुरु गरेपछि बिहादी–२ बर्राचौरको बिहादी बोर्डिङ स्कुल बन्द भएको छ भने वडा नं १ बाच्छाको जनकल्याण माविमा नजिकका विद्यार्थी आएपछि त्यहाँको बोर्डिङ पनि बन्द हुने अवस्थामा पुगेको छ ।

तीन कक्षासम्म चलेको विहादी बोर्डिङ यसवर्षदेखि बन्द भएको छ । विद्यार्थी धेरै नजिकैको आम्बारी माध्यामिक विद्यालयमा गएका छन् । निजी विद्यालय बन्द भएपछि आम्बारी माविमा तल्लो कक्षामा विद्यार्थीको चाप बढेको प्रधानाध्यापक गणेश पौडेलले बताउनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)