मंसिर ६ पर्वत । पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका कृषकहरुले मुसाले नोक्सान गरेको धानमा राहात दिन माग गरेका छन् । जिल्ला प्रसासन कार्यालयमा वडा कार्यालयले कृषकहरुको क्षतीको विवरण सहित कृषकहरुलाई राहात दिन सिफारिस गरेको हो । जिल्ला प्रसासन कार्यालय, कृषि ज्ञान केन्द्र र कुश्मा नगरपालिकामा राहातका लागि कृषकहरुको निबेदन पेश गरिएको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
स्थानीय एक सय ६१ जना कृषकहरुले मुसाले धान नोक्सान गरेको भन्दै निवेदन दिएका हुन् । आधा उत्पादन मुसाले काटेपछि कृषकहरुले राहातको माग गरेको वडाध्यक्ष लामिछानेले बताउनुभयो । उहाँले ३ मुरी देखि १५ मुरीसम्म धान नोक्सान भएको पाइएको छ । स्थलगत रुपमा वडा कार्यालय र कृषि प्राविधिकले अनुगमन गरि क्षतीको मुल्याकंन गरेका हुन् ।
क्षतीको मुल्याकंन पश्चात कृषकहरुको खुद उत्पादन र नोक्सानको विवरण एकत्रित गरि वडा कार्यालयले राहातका लागि सिफारिस गरेको हो । कृषकहरुको माग सम्वन्धित निकायमा पठाईसकिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
उहाँले क्षतीपूर्तीको व्यवस्था के कसरी दिन सकिन्छ भनेर आवश्यक समन्वय गरिरहेको बताउनुभयो । केहि दिन अगाडी पकुवाका कृषकहरुले पनि मुसाले धान काटेको भन्दै राहातको माग गर्दै निबेदन दिएका थिए ।
