मंसिर ६ पर्वत । पर्वतको मोदी –२ देउपुरका टिकाराम तिमिल्सीनाले मौरीपालनबाट वार्षिक ३५ लाख रुपैयाँ कमाउन थालेका छन् । ७० वटा घारमा मौरीपालन गरेका तिमिल्सीनाले मह, मौरीको चाका र घार बेचेर वार्षिक यति कमाउने गरेका हुन् । २०५८ सालदेखि तिमिल्सीनाले मौरीापलन शुरु गरेका हुन् । घरको वार्तली, आँगनको डिल, वारी र कान्लामा मौरीका घार राखेका उनी बिहान देखि साँझ सम्म मौरीको स्यहारमा व्यस्त हुन्छन् । ‘विहान उठेपछि मौरीको स्याहारमा व्यस्त हुन्छु,’ उनले भने,‘ यिनैको स्याहार गर्दागर्दै खाना खाने समय पनि बिर्सिन्छु ।’
तिमिल्सिनाले वर्षमा ३०० घार माहुरी र ७ क्विण्टल मह बिक्रि गर्दै आएको सुनाए । उनले तयारी मह प्रतिकिलो एक हजारमा विक्री गर्दै आएका छन् । माहुरी सहितका घार प्रतिगोटा ९ हजारमा विक्री गर्दै आएका कृषक तिमिल्सीनाले जानकारी दिए । माहुरी फर्म हेर्न आउनेबाट एक हजारका दरले शुल्क समेत लिनेगरेका छन् । तिमिल्सिनाको माहुरी फर्म हेर्न मात्रै बिभिन्न व्यक्ति र समुह समेत गरि वर्षमा सय भन्दा बढी आउनेगरेका छन् ।
उनी मौरी वाहेक सुन्तलाका पनि व्यवसायिक कृषक हुन् । मौरीको आहाराका लागि घर वरिपरि सुन्तलाका विरुवा लगाएका छन् भने प्रस्ततै फुलका विरुवा पनि छन् । त्यस अलवा नजिकैको सामूदायिक बनमा पनि मौरीलाई चरनको व्यवस्था छ ।
लघु उद्यम विकास कार्यक्रमले दिएको तालिम पछि उनले मौरीपालन शुरु गरेका हुन् । विगत २७ वर्षदेखि मौरीपालन गर्दै आएका ६५ वर्षिय तिमिल्सीनाले मौरीबाटै प्रसस्त सम्पत्ती जोडिसकेका छन् । उनको फर्ममा मौरी सहितका घार किन्नका लागि पर्वत, कास्की, स्याङजा, गुल्मीका मानिसहरु आउने गरेका छन् । ‘अहिलेसम्म १५ सय भन्दा बढी घार बेचिसकें । पहिलापहिला २५ सयमा पनि बेचें । अहिले १० हजार सम्म पर्छ ।’ उनले भने,‘ जाँगर चलाउने हो भने थोरै दुःखले पनि राम्रो आम्दानी लिन सकिन्छ ।’ उनले मौरीपालक कृषकहरुलाई तालिम समेत दिने गरेका छन् ।
उनले एपी सेरेना जातको माहुरी पालन गर्दै आएका छन् । यो जात भीर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने उनले बताए । ‘अन्य जातको माहुरीको मह गुणस्तरीय नहुने भएकाले मुल्य कम पर्छ,’ उनले भने,‘ एपी सेरेनाको मह धेरैले खोज्दै आउँछन ।’ उनले मह वेच्न वजार जानुपर्दैन । घरमै मह खोज्दै ग्राहक आईपुग्छन् । पर्वत जिल्लामा व्यवसायिक मह उत्पादन गर्नेहरु खासै छैनन् ।
मुढेघारमा मौरीपालन गर्दै आएका उनले तालिम लिएपछि आधुनिक घारमा मौरीपालन गर्न थाले । उनले आधुनिक घारमा मौरी पाल्न थालेपछि दोव्वर÷तेव्वर उत्पादन हुन थालेको सुनाए । उनले वर्षमा दुई पटक मह निकाल्ने गरेका छन् । मह निकाल्ने समयमा उनको घरमा ग्राहकहरुको लाईन नै लाग्ने गरेको छ । महलाई स्वाद, पौष्टिकता र औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । माग वढेपछि उनी झनै व्यवासायमा हौसिएका छन् । तिमिल्सीना गाउँवाट कुनै संभावना नदेखेर विदेश जाने यूवाहरुलाई विदेश जान नपर्ने सुझाव दिन्छन् । ‘म वुढो त गाउँमै नंग्रा ख्याएर पैसा कमाएको छु भने यू्वाहरुले पनि मेरो जस्तै ब्यवसाय गरे किन बिदेश गएर रगत पसिना बगाउने’, उनले प्रश्न गरे ।
मौरीपालनसंगै झण्डै १ सय सुन्तलका बोटबाट उनले बार्षिक लाखौँ आाम्दानी समेत गर्दै आएका छन । उनी पर्वतकै नमूना मौरीपालक कृषक हुन् । आम्दानी र लगानीको हिसावले टिकाराम जत्तिको कृषकहरु अरु जिल्लामा कोहि नभएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । उनलाई बिगतमा कृषि कार्यालयले अनुदानका कार्यक्रम मार्फत मौरीपालनमा धेरै सहयोग गरेको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।
