Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1939




हातखुट्टाले घिर्सिँदै तरकारी खेती
हातखुट्टाले घिर्सिँदै तरकारी खेती


रोशन तिवारी मंसिर ६ पर्वत- जिल्लाको दुर्गम गाउँ टकलाकका रुक्मागत न्यौपाने र जानुकुमारी न्यौपाने दुबै अपाङ्गता भएका व्याक्ति हुन् । रुक्मागतको घुँडामुनीको भाग छैन भने जानुको देव्रे हात छैन । तर उनीहरु दुबै अरुका साहारामा हैन आफ्नै वहुवलमा वाँचेका छन् । 


दुवै दम्पत्ती मिलेर गाउँमा कृषि फर्म सञ्चालन गरेका छन् । कृषि फर्ममा दिनसाँझ नभनी काम गर्दै उनीहरुले आफ्नो जीवनलाई शानदार वनाएका छन् । सपाङगहरुलाई पनि न्यौपाने दम्पत्ती प्रेरणाका स्रोत वनेका छन् । कृषि फर्ममा उनीहरुले तीस हजार कफि, चार हजार कुरिलोका बिरुवा, दुई रोपनी जमिनमा बिभिन्न मौसमी तथा बेमौसमी तरकारी, चारवटा टनेलमा गोलभेंडा, एउटा टनेलमा च्याउ, बिभिन्न प्रजातिका डाले घाँस र भुईं घाँस रोपेका छन् । यो सबै कामका लागि न्यौपाने दम्पती आफै खट्छन् । न्यौपाने दम्पत्ती भन्छन्,‘आँट हुने हो भने शारिरीक अपाङ्गताले प्रगतिलाई रोक्दैन ।’


तरकारी खेती गर्ने योजना सुनाउँदा गाउँलेका हाँसोको पात्र वनेको झलझली सम्झिन्छन् रुक्मागत । हिँड्न नसक्नेले फुर्ति ग¥यो भनेर सबैले जिस्काउँथे । पोलियोले उनको दुवै खुट्टा घुँडामुनी छैन । ह्वीलचियरमा भित्रवाहिर गर्छन । कतै हिँडडुल गर्न र वारीका कान्ला उक्लिन नसके श्रीमतीले वोकेर पु¥याइदिन्छिन् । 


२०६८ वाट उनीहरुले वेमौसमी तरकारी खेतीमार्फत व्यवसाय शुरु गरेका हुन् । तरकारी, कफि, च्याउखेती, कुरिलो र गड्यौँले मल वेचेर न्यौपाने दम्पत्तीले वर्षेनी पाँच लाख रुपैयाँ आम्दानी गर्छन । न्यौपानेको बारीमा अहिले भरपर्दो पानीको स्रोत नभएको ठाउँमा आकासे पानी संकलन गर्न ५४ हजार लिटर क्षमताको ट्याङ्की बनाएर सोहि पानीको भरमा सिँचाई गर्दै आएका छन् । 



‘बारी खन्ने,पोलिथिनमा माटो भोर्ने लगायतका सक्नेजति सबै काम आफै गर्छौं,’ रुक्माङ्गतले भने, ‘अलि कठिन कामका लागि कामदार खोज्ने गरेका छौं ।’ आशिंक कामका लागि चारजनालाई खेताला हाल्ने गरेको रुक्मागतले वताए । ‘वारी खन्ने, वीउ विजन ढुवानी गर्ने जस्ता काममा खेताला हाल्छौँ अरु काम आँफै गर्छौँ ।’

 

रुक्मागतले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक सम्मको अध्ययन सकेका छन् । जागिर खाने कहिल्यै सोचिन, ‘उनी भन्छन जागिर अरुको ईसारामा गर्नुपर्छ, यो काममा कसैको धाकधम्कि सुन्न परेन । ’ रुक्मागत संग ‘ख’ र जानुसंग ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र छ । उनीहरुले राज्यको सुविधा पनि लिन्नन् । ‘हामी आँफैले राज्यका लागि योगदान गर्न सक्छौँ भने किन सुविधा लिनु भनेर अहिलेसम्म कुनै सुविधा लिएका छैनौँ,’ उनले भने, ‘अरुले केहि सिकुन् भनेर नै हामी यसरी खटेका हौं ।’ 


न्यौपाने दम्पतीको काम देखेर गाउँका अरु यूवाहरु पनि कृषि कर्ममा लागेका छन् । गाउँमा केहि उपाय नदेखेर विदेश जाने तयारी गर्ने यूवाहरुलाई वोलाएर सम्झाउन पनि न्यौपाने दम्पत्ती सक्रिय छन् । यो दम्पत्तीको नमुना काम र निरन्तरको संघर्षबाट पाठ सिकेर आसपासका युवाहरु पनि गाउँमै व्यवसायिक बन्न थालेका छन् । ‘पहिला त एघार–बाह्र पढेपछि सबैले गाउँ छाडिहाल्थे,’ स्थानीय खुमबहादुर थापाले भने, ‘रुक्मागत दाईको प्रेरणाका कारण अहिले धेरैजसो युवाहरुले यहिँ तरकारी लगाएर आम्दानी गर्न थालेका छन् ।’ 


उत्पादीत कृषि उपज वजार पठाउन समस्या छैन । वडा कार्यालय सम्म गाडी आउँछ । त्यहाँवाट तरकारी नजिकै हुवास, सेतीबेनी बजार र स्याङ्जा र पोखरा सम्म पुग्न थालेको छ । कृषि कर्ममा सफल भएका रुक्मागत र जानु दुबैजना गाउँका प्रेरणाका स्रोत वनेका छन् । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)