Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1587




पर्वतका किसान गोरु पाल्न छाडेर प्रविधि पछ्याउँदै
पर्वतका किसान  गोरु पाल्न छाडेर प्रविधि पछ्याउँदै

मंसिर १२, पर्वत । पर्वतमा कृषिमा यान्त्रिकरण बढ्दो छ । खेत जोत्न हाते ट्याक्टर, धान काट्न थ्रेसर मेशिन लगायतको प्रयोग प्रति किसानको आकर्षण बढ्दै गएको छ । गाउँमा गोरुले गर्ने काम यन्त्र उपकरणले गर्न थालेपछि किसानले बिस्तारै गोरु पाल्न छोड्दै गएका छन् ।

जलजला–७ फर्सेका राजन सापकोटाले हल गोरु पाल्न छोडेको ७ वर्ष भयो । खेत जोत्न हाते ट्याक्टर भित्राएपछि उहाँले २०६९ मा गोरु बिक्रि गर्नुभयो । बेमौषमी तरकारीमा चर्चित फर्सेमा उनिसहित ५० बढी परिवारले तरकारीको व्यवसायिक खेती गर्छन् । कसैकोमा पनि गोरु भने छैनन । हिउँदका बेलामा फांटैभरि तरकारीले हरियै देखिने फर्सेका किसानले वर्षातमा भने धान रोप्छन ।

खेत जोतखन गर्न हाते ट्याक्टर, धान चुट्न थ्रेसरको प्रयोग सहज भए पनि किसानले कुनै बेला गोरु नपालेकोमा पछुताउनु परेको छ । पराल भित्र्याउने बेलामा गोरु अभावले दाइँ हुँदैन । फाँटको फराकिलो गरामा खलो बनाएर मियो वरिपरि पराल छिरलेपछि गोरु घुमाएर गरिने दाइँ हेर्दा जति आकर्षक लाग्छ त्यसरी थन्क्याएको पराल पनि गाईबस्तुका लागि उत्तिकै लाभदायक मानिन्छ । दाइँ गरेको पराल गाइबस्तुले सजिलै खान्छन् । टौवा वा कटेरामा थन्क्याउन पनि उत्तिकै सजिलो हुने किसान बताउँछन् । व्यवसायिक रुपमा गाइबस्तु पाल्नेका लागि दाइँ गरेको पराल अनिवार्य हुन्छ ।

असारमा धान रोप्न र मंसिरमा धानको पराललाई माडेर राख्न गोरु अनिवार्य हुन्छ । गोरुको विकल्पमा किसानले पछिल्लो समय ट्याक्टरको प्रयोग गर्न थालेका छन् । ‘पहिला गोरु नपाल्ने घर हुन्थेन,’ जलजला–७ का रामु सुबेदीले भने, ‘अहिले प्रविधिले गोरु विस्थापित भए । एक–दुई घर हुँदै बिस्तारै सबैले पाल्न छाडे । बल्ल गोरुको महत्व थाहा हुँदैछ ।’

गोरु नहुँदा समयमा दाइँ गर्न नसकिएको उनले सुनाए । धान काटेर चुटेर थन्क्याएपछि पराल माड्नका लागि दाँईं अनिवार्य हुन्छ । कतिपय समथर ठाउँमा ट्याक्टरले माडेर पराल भित्र्याउने गर्छन् । ठुलो ट्याक्टर नपुग्ने गाउँमा त्यो सम्भव छैन । ‘सानो ट्याक्टरले पराल माड्न मिल्दैन,’ फलेबास–३ का टिकाराम तिवारीले भने, ‘गोरु नभएपछि परालकै पिरलो छ ।’

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)