Correspondent, ParbatNepal
6 years ago
1697
बैशाख १६, पर्वत । खाद्यान्न बोक्नका लागि पास लिएर मदिरा ओसादै गरेको बोलेरो जिप प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले आज चेकजाँज गर्ने क्रममा ग १ ज ७४५४ नम्वरको बोलेरो जिप नियन्त्रणमा लिएको हो । उक्त जिपवाट ५ वटा कार्टुनमा रहेको पानस नामक अवैध मदिरा १ सय ५० र फाटफट नामक १ सय ५० गरि ३ सय बोतल अवैध मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए ।
कोरोना भाइरसको संभावित संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको अवस्थामा अत्यावश्यक वस्तु बाहेक अन्य कुनै वस्तुहरु ओसारपसार गर्न प्रतिबन्ध लगाईएको अवस्थामा उक्त सवारीले अवैध मदिरा ओसारपसार गरेकाले तत्काल नियन्त्रणमा लिई आवश्यक कार्वाही गरिएको प्रहरी निरिक्षक थापाले बताए । लकडाउनको बेला अनुमतिबिना चलाइएका साना ठुला गरी १६ वटा सवारी साधानको चावी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउन उलंघन गर्ने सवारी साधनलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
