Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 years ago

1848




आकर्षण छहरे झरना
आकर्षण छहरे झरना

स्याङ्जाको वालिङ बजारबाट दक्षिण पर्वत तर्फ लागेपछि १५ किलो मिटर पार गरेपछि पुग्ने ठाउँ हो छहरे झरना । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ बानीडाडामा अवस्थित यो झरनामा गर्मी होस् वा जाडो, घुम्न जाने धेरै भेटिन्छन । वालिङ–हुवास सडक खण्डको डुम्रेभञ्ज्याङबाट बायाँ तर्फ १० मिनेट र सोही सडक खण्डको चिसापानीबाट बाया तर्फ ३० मिनेट सवारी साधनमा हिँडेपछि पुगिन्छ छहरे झरनामा । जुन झरना दक्षिण पर्वत र स्याङ्जा क्षेत्रकै खास आकर्षण बनेको छ ।

झरनामा कच्ची मोटर बाटो पुगेको छ । जीप, मोटरसाइकल सहजै पुग्छ । ठूला बस र निजी सवारी साधन लिएर आउनेहरू डुम्रेभञ्ज्याङमा पार्किङ गरी झरनातर्फ पैदल पनि जान सकिन्छ । वालिङ–हुवास सडकबाट झरना देखिँदैन । डुम्रेभञ्ज्याङ–भुर्तेलथोक, त्रिवेणी सडक खण्ड अन्तरगत यो झरना पर्दछ । झरनाबारे जानकारीमूलक सूचना बोर्ड राखिएको छ  । युट्युबमा छहरे झरना पैयूँ पर्वत खोज्ने हो भने प्रशस्तै लोभलाग्दा भिडियो पाइन्छन् । झरना अलौकिक लाग्छ । एक सय २० मिटर भन्दा लामो झरनामा पानी निरन्तर झर्दछ ।

 

यहाँ पुग्नेहरू थकान मेटाएको अनुभूति गर्दै घण्टौं भुल्छन । स्वर्गको अनुभुति गर्दछन  | गत भदौमा वण्डरफुल वालिङबाट  गणेश राउतको नेतृत्वमा १४ जनाको समूह छहरे झरनामा पुगेको थियो । करिब ५ घण्टा उनिहरु झरना अवलोकनमा बिताए । ‘साह्रै रमाइलो लाग्यो,’ उनले भने, ‘धेरै फोटो खिच्यौं । फोटो खिच्दा पानीले भिजेको पनि पत्तो पाइएन ।’


गर्मी मौसममा शितल खोज्नेहरूको भीड झरनामा देखिन्छ । झरना नजिकै पुग्दा शरीर भिजिसकेको हुन्छ । चिसो मौसममा पनि पानीमा भिजिरहेको, भिडियो र फोटो खिचिरहेका दृश्य नौला लाग्दैनन् । कलेज र विद्यालयको शैक्षिक भ्रमणको गन्तव्य प्रायसः यही झरना बन्ने गरेको छ । त्यसो त झरना फिल्म र म्युजिक भिडियो छायांकन गर्न पनि सकिन्छ  ।


असोज ११ गते आईतबार अनुगमनको क्रममा छहरे झरना पुगेका पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले झरना अत्यन्तै राम्रो लागेको र यो पर्यटकीय र प्राकृतिक सम्पादाको दृष्टिकोणले महत्वपूर्ण रहेको बताए । पर्यटकीय क्षेत्रमा विकास गर्न सबै निकायले ध्यान दिएमा यहाँ वाह्य तथा आन्तरीक पर्यटक ल्याउन सकिने र पैयुँको आर्थिक विकासमा समेत ठुलो योग्दान पुग्ने बताए ।  

https://paiyunpost.com/news/162
सम्बन्धित समाचार (पैयूं गाउँपालिका )