Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

3 years ago

728




सभापति देउवाले भने संसद विघटन असंबैधानिक
सभापति देउवाले भने संसद विघटन असंबैधानिक


माघ १ पर्वत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने सरकारको निर्णय अदालतले उल्टाउने विश्वास व्यक्त गर्नुभएको छ । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा आज शहिद हरिदत्त स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै देउवाले अदालतले सहि विवेक प्रयोग गरि संसद विघटन गर्ने सरकारको निर्णय फिर्ता गर्ने विश्वास रहेको बताउनुभएको हो । 

देउवाले अहिले संसद विघटनका बिरुद्धमा दर्जनौँ मुद्धा बिचाराधिन रहेको अवस्थामा अदालतमा बिचाराधिन मुद्धाका बारेमा काँग्रेसले खण्डन गर्न नचाहने बताउनुभयो । उहाँले अदालतको निर्णय पर्खिएर बसेको भन्दै संसद पुनस्र्थापना भए राम्रो हुने र निर्वाचन हुने अवस्था भयो भने पनि काँग्रेस तयार नै रहेको पनि स्पष्ट पार्नुभयो । सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले अदालतलाई प्रभावित पार्न खोजेको आरोप समेत लगाउनुभयो । 

प्रधानमन्त्रीले अदालत लाई विभिन्न वाहनामा दबाबमा पार्ने गरि सडकमा वहष गर्दै हिँडेको भन्दै अदालतमै वकिल राखेर बहस गर्न सुझाव दिनुभयो । अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिसाबकिताब जनताले गरेर बसेको देउवाले बताउनुभयो । सभापति देउवाले पार्टीलाई एकढिक्का बनाउने प्रतिवद्धता जनाउनुभयो । कार्यकर्ताहरुले पार्टी गुटउपगुटमा गाँजिएकोमा असन्तुष्टि जनाईरहेको बेला देउवाले पार्टीलाई एकढिक्का बनाउन आफुले जुनसुकै त्याग गर्न तयार रहेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व उपसभापती एवं संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले संविधान माथी निर्मम प्रहार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाउनुभयो । 

ओलीको गतिविधि हेर्दा बैशाखमा चुनाव हुने कुनै आधार नदेखेको बताउनुभयो । उहाँले कार्यकर्ताहरुलाई जनताको घरदैलोमा पुग्न र आगामी निर्वाचनमा विजय हुने हिसावले लाग्न निर्देशन दिनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले शहिदले देखेका सपना र जनताका आकंक्षालाई वर्तमान सरकारले कुल्चिएको बताउनुभयो । रेल र पानी जहाजका सपना देखाएर सत्तामा पुगेको नेकपाले अहिले जनतालाई धोका दिएको बताउनुभयो । नेकपाको सरकार आएमा रुन पनि पाईदैन भनेर काँग्रेस सभापतिले भन्ने गरेको बताउँदै अहिले सभापतिकै भनाई अनुसार ओली सरकारले व्यवहार देखाएको सुनाउनुभयो । 

जोशीले आफ्नो पार्टीभित्र देखिएको गुटगत झगडालाई मिलाएर पार्टीलाई एकढिक्का बनाउन सभापति देउवा संग अनुरोध पनि गर्नुभयो । कार्यक्रममा हजारौँ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । तत्कालिन नेकपा माओबादीले २०६० माघ १ गते आक्रमण गरेर हत्या गरेका शहिद हरिदत्त तिवारीको स्मृतिमा हरेक वर्ष स्मृति दिवश मनाउँदै आईएको छ । १८ औँ स्मृति दिवश आज शंकरपोखरीमा मनाईएको हो । उक्त समारोहमा शहिद स्मृति भवनको पनि सभापति देउवाले उद्घाटन गर्नुभयो । कार्यक्रममा उपस्थित भएर शोक व्यक्त गर्ने वक्ताहरुले हरिदत्त तिवारीको राजनीति तथा सामाजिक जीवनको बारेमा चर्चा गर्नुभएको थियो । 

शहिदपुत्र एवं नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले आफु संधै वुवाको प्रेरणाका कारण समाज सेवामा आफुलाई समर्पित गर्दै आएको बताउनुभयो । तिवारीले शहिदको आशिर्बादले देशमा अहिले देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सचेतक मणिभद्र शर्मा कँडेल, नेपाली काँग्रेसका पूर्व सभापति एवम् निवर्तमान साँसद लालकाजी गुरुङ, गण्डकी प्रदेशकी साँसद ललितकला गुरुङ नेपाली काँग्रेस पर्वतका कोषाध्याक्ष एवम् जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल रामकृष्ण, नेपाल तरुण दलका केन्द्रिय कोषाध्याक्ष विद्धान गुरुङ, पैयुँ गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, फलेवास नगरपालिका मेयर पदमपाणि शर्मा, कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछाने, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् प्रदेश सभा ख उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाई अर्का सचिव अशोक उच्चै ठकुरी,नेपाल महिला संघकी केन्द्रिय सदस्य जोगमाया प्रसाई, फलेवास नगरपालिका–११ का वडा अध्यक्ष जितवहादुर सुनार शेरवहादुर, महाशिला गाउँपालिकाका प्रत्यसी उम्मेदवार उज्वल गुरुङ, विहादी गाउँपालिकाका प्रत्यसी उम्मेदवार प्राविण गुरुङ र नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २५ जना भन्दा बढि व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले माला लगाएर स्वागत गर्नुभएको थियो । शहिद हरिदत्त स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष अर्जुनवहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक संघ गण्डकी प्रदेशका उपमहासचिव बिष्णुप्रसाद शर्माले राख्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन शहिद हरिदत्त स्मृति प्रतिष्ठान नेपालका सचिव नरवहादुर थापाले गर्नुभएको थियो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)