Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

2 months ago

152




कुश्मामा ४८ घण्टे क्षमता अभिबृद्धि तालिम सञ्चालन
कुश्मामा ४८ घण्टे क्षमता अभिबृद्धि तालिम सञ्चालन



माघ २ पर्वत । पर्वतको कुश्मा नगरपालिकाले न्यायिक समितिलाई वडा स्तरमा बिस्तार गर्नुपूर्व मेलमिलापकर्ताहरुलाई क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । नगरपालिकाले १४ वटै वडामा मेलमिलापकर्ता मार्फत न्यायिक समिति सम्म आउने बिबादको निरुपण गर्ने योजना बनाएको छ । 

वडामा देखिएका बिबाद वडा स्तरमै मिलाउने गर्ने मेलमिलापकर्ता परिचालन गर्ने तयारी छ । यसका लागि आधारभूत तालिम आयोजना गरिएको कुश्मा नगरपालिकाले जनाएको छ । कार्यक्रममा कुश्मा नगरपालिकाका १४ वटै वडाबाट ४२ जना सहभागी रहनुभएको छ । 

कुश्मा नगरपालिका न्यायिक समितीको आयोजनामा आज देखि शुरु भएको तालिम माघ ९ गते सम्म सञ्चालन हुने भएको छ । तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख एवं न्यायिक समितीका संयोजक सीता काफ्ले लामिछानेले न्यायिक समितिको कार्यसम्पादन चुस्त र प्रभावकारी बनाउदै नगरबासीको न्यायिक हक सुनिश्चित गर्ने दिशामा यो तालिम निकै नै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । 


उहाँले तालिमले न्यायीक निरुपणमा देखिएका कानुनी जटिलताको सहजीकरणमा सहयोगी हुने बताउनुभयो । न्यायिक समितिका संयोजक लामिछानेले न्यायिक समितिलाई प्रभावकारी बनाउँदै लगेको बताउँदै लामिछानेले साना तिना मुद्धाहरु प्रहरी र अदालतमा पुग्ने समस्याको अन्त्य गर्न आफु प्रतिबद्ध रहेको अवगत गराउनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले न्यायिक समितीको प्रभावकारी कार्यसम्पादन बाट नै संविधानले परिकल्पना गरेको लोककल्याणकारी राज्य स्थापनामा टेवा पुग्ने बताउनुभयो । पंगेनीले जटिलताहरुलाई सहजतामा रुपान्तरण गर्न तालिम प्रभावकारी रहेको जानकारी गराउनुभयो । 

उहाँले स्थानीय सरकार सञ्चालन ऐन तथा नेपालको संविधानको धारा २१७ मा रहेको न्यायिक समितिको अधिकार कर्तव्यको मर्म अनुसार कुश्मा नगरपालिकाले न्यायिक कार्यविधि बनाएर काम गर्दै आएको अवगत गराउनुभएको थियो । पंगेनीले कुश्मा नगरपालिकाबासीहरुलाई स्थानीय सरकार मार्फत प्राप्त हुने सेवालाई सहज र सरल बनाउन आवश्यक राय र सुझाव दिन अनुरोध गर्नुभयो । 


मेलमिलाप संस्था कास्कीका अध्यक्ष हरिप्रसाद पण्डित र अधिवक्ता गिता आचार्यले तालिमको सहजीकरण गर्नुभएको छ । कार्यक्रममा स्वागत न्यायिक समितिका सदस्य एवं कार्यपालिका सदस्य देवेन्द्रवहादुर नेपालीले गर्नु भएको थियो भने कार्यक्रम संचालन कुश्मा नगरपालिकाका सूचना अधिकारी धुर्वराज पौडेलले गर्नुभएको थियो ।  


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )