Author
ParbatNepal
Bishan Kshetri

Correspondent, ParbatNepal

8 years ago

2646




अरे, कोही त आउ सेतीवेणी बचाईदेऊ ।।। (कविता)
अरे, कोही त आउ सेतीवेणी बचाईदेऊ ।।। (कविता)

- विशन क्षेत्री

(bnews952@gmail.com)

सानोमा म बिरामी पर्दा

मेरी आमा घरको दक्षिणतिर फर्किएर

सेतीवेणी भाक्थिन

एक्लो छोरो, वंशको अंशलाई

केही नहोस भनेर

आउने सक्रान्तिमा पुजा गर्छु भनेर

घरमा केही अनिष्ट नहोस

मनमा अशान्ति हुँदा

मेरी आमा सेतीवेणी भाक्थिन्

सातफेरि तिम्रो परिक्रमा गर्छु भनेर

जब म ठुलो भएँ मेरो उमेर बढ्यो

मेरी आमाको पुकार पनि बढ्यो

मेरो छोरो परिक्षामा प्रथम होस्

उसले आँटेको पुगोस

यावत कुरा लिएर मेरी आमा सेतीवेणी भाक्थिन्

मेरी आमा मात्रै हैन्

ओल्लो घर, पल्लो घर, समाज र मेरो सारा गाउँ

अहिलेपनि सेतीवेणी भाक्छ,

तिथीमा पुजा गर्छु

हाम्रो गाउँलाई शान्ति देऊ

अनिष्ट नदेउ भनेर

मान्छे मर्दा होस वा मान्छे जन्मिँदा

मेरो गाउँ अहिलेपनि सेतीवेणी भाक्छ

सहनशक्ति देउ वा आशिर्वाद देउ भनेर

सबैले भाक्ने मेरो सेतीवेणी, हाम्रो सेतीवेणी

तर, अहिले सेतीवेणी सेतो कफनमा बेरिएको जस्तो भएको छ,

देउताको नाममा मैले प्रयोग गर्ने थेगो सेतीवेणी

आज, कुपोषित बालक जस्तै भएको छ,

सात वर्षअघि म  पहिलोपटक सेतीवेणी जाँदा

एउटा ठुलो ढुंगा मात्र देखेँ

त्यतिबेला मेरो मानसपटलले एक बालकको हैसियतमा भौतिक चित्र मात्र देख्यो

चार वर्षअघि म सेतीवेणी जाँदा

उसको काखबाट बग्ने सेतीखोला र कालीगण्डकी देखेँ

जब म सेतीवेणीलाई बुझ्ने भएँ

सेतीवेणीको काखलाई स्पर्श गर्न सक्ने भएँ

त्यो बेला भनेको अहिलेको समय हो

म भर्खरै सेतीवेणी गएँ

सातौँ पटक म सेतीवेणी जाँदा म विरक्त भएँ

मेरी आमाले म बिरामी हुँदा भाक्ने गरेको,

मेरो सुदिनको लागि भाक्ने गरेको

मेरो गाउँले अनिष्ट आउँदा भाक्ने गरेको

सबैले भाक्ने गरेको सेतीवेणी

आज आफैँ अचेत अवस्थामा पुगेकी छन्

हिजो सेतीवेणीकै आशिर्वादले योग्य भएका केही मानवीय अंशहरुले

आज सेतीवेणीकै कोखमा प्रहार गरिरहेका छन्

डोजर र स्काभेटरलाई हतियार बनाएर

सेतीवेणीको कोखमा बग्ने सेतीखोला र कालीगण्डकी

आज सेतीवेणीले दर्दमा बगाएका आँशु जस्ता देखिएका छन्,

मैले सात वर्ष अघि पहिलो पटक पूर्ण अस्तित्वमा देखिएकी सेतीवेणी

अहिले कसैको मृत्युशोकमा क्रिया बसेको जस्तो देखिएकी छन्,

कारण,

जब म घण्टौँ पैदल हिँडेर सेतीवेणी पुग्थेँ

किलोमिटर परैबाट सेतीवेणी देखिँदा

मैले बाँकी रहेको दुरीलाई सेतीवेणी हेर्दै जाँदा बिर्सन्थेँ

तर, जब विकासको लहर आयो,

सबैले बाटो र चारपाङ्ग्रे गाडीमात्र देखे

गाउँमा हिँड्नुको सटट गुड्ने साधन आउँदा

म स्वयमले सेतीवेणी बिर्सिँदिएँ,

अहिले सेतीवेणीकै दाहिनेपट्टिबाट कालीगण्डकी करिडोर आउँदैछ

मेरो गाउँपालिका र मेरो वडालाई पनि छुन्छ,

म खुशी छु, मेरो गाउँ पनि खुशी छ

तर, जब हामी विकासको नाममा

करिडोर बग्दै जाँदा

आडैमा रहेको सबैले भाक्ने सेतवेणीको मांशपेशीलाई नै

करिडोरमा विलिन प्रयोग गरि अस्तित्व नै संकटमा पार्दा

मैले, हामीले र सबैले भाक्ने सेतीवेणीको शरिरमा

जबर्जस्त शोषण हुँदा

आज म विवश छु,

सेतीवेणीको नाम भजाएर पेटपुजा गर्नेहरु

आज चुपचाप छन्

बिहानै सेतीवेणीमा गएर जल चढाउनेहरु

जल मात्र चढाएर फर्किन्छन्

कारण उनीहरुलाई सबै थाहा छ, विलाप पनि गरिसके र शोक पनि मनाईसके

कोही त छौ, कहाँ छौँ,

सेतीवेणी संकटमा पर्दा जसरी तिमि आफु संकटमा पर्दा सेतीवेणी भाकेका थियौ

आज तिमीले गुन तिर्ने पालो आएको छ,

जसरी तिमीले सेतीवेणी अलापेका थियौ

आज सेतीवेणीले सांकेतिक भाषामा तिम्रै पुकार गरिरहेकी छन्,

अरे, कोही त आउ सेतीवेणी बचाईदेऊ ।।।

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)