Correspondent, ParbatNepal
8 years ago
2011
पर्वत-पर्वतका सबै स्थानीय तहमा बैंक स्थापना भएका छन्। दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा विभिन्न बैंकहरुले शाखा कार्यालय स्थापना गरेको हो।
बैंकका शाखा विस्तार भएपछि स्थानीय तह र नागरिकलाई कारोबार सहज भएको छ। स्थानीय तहमा शाखा विस्तार नहुँदा कारोबारका लागि सदरमुकाम कुश्मामा धाउनुपर्ने बाध्यता रहेको थियो।
बैंकको शाखा विस्तार नहुँदा जिल्लाको फलेवास नगरपालिका, महाशिला गाउँपलिका, विहादी गाउँपालिका र जलजला गाउँपालिकामा सबैभन्दा बढी समस्या भएको थियो। सदरमुकामबाट टाढाको दूरीमा रहेका ति स्थानीय तहमा पछिल्लो समयमा बिभिन्न बैंकका शाखाहरु संचालनमा ल्याइएको छ।
जिल्लाको विकट गाउँपालिका विहादीमा गत बुधवार प्रभु बैंकले शाखा विस्तार गरी कारोबार सुरु गरेको छ भने पैंयु गाउँपालिकामा कृषि विकास बैंक, गरिमा विकास बैंक र गण्डकी विकास बैंकले शाखा विस्तार गरेका छन्। मोदी गाउँपालिकामा पनि गत वर्षदेखि राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार भएको थियो भने लुम्बिनी विकास बैंकको शाखा रहेको छ।
