Correspondent, ParbatNepal
8 years ago
2702
रोशन तिवारी जुन ३ लण्डन । एक महिनासम्मको तयारी र दौडधुप । पर्वतका साँसदहरुको जमघट । जनप्रतिनिधी पनि एउटै मञ्चमा । पर्वत र लण्डनमा रहेका नेपाली कलाकारहरुको साँगितिक प्रस्तुती । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूकेको व्यवस्थापन तथा सबै देशमा रहेका पर्वत समाजको समन्वयमा लण्डनमा जुन ३ मा भव्य रुपमा च्यारिटी कार्यक्रम भएको छ ।
समृद्ध पर्वत निर्माण गर्ने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएकोमा च्यारिटी कार्यक्रमबाट लगभग ६५ लाख संकलन भएको छ । एक करोड संकलन गर्ने लक्ष्य पुरा गर्न अन्य कार्यक्रम गर्ने घोषणा गरिएको छ । अन्य रकम पनि संकलन क्रममै छ । बृहत छलफलमा प्रसुती गृह बनाउने प्रस्ताव आएको छ । तत्कालका लागि रकम कसरी परिचालन गर्ने र कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समाजको बैठकले संरक्षक सल्लाहकार सहित उच्चस्तरिय समिति बनाएर तत्काल कार्य शुरु गर्ने निर्णय गरिएको समाजका उपाध्यक्ष झलक केसीले जानकारी दिनुभयो । विशेष अथिति संरक्षक एवं एनआरएनएका उपाध्यक्ष कुल आचार्यले च्यारिटी बाट उठेको रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्ने निर्णय अनुसार प्रशुती गृह निर्माण लगाउन प्रस्ताव गर्नु भएको थियो ।
रकमको सदुपयोग गर्न तत्कालका लागि एनआरएनएका उपाध्यक्ष कुल आचार्यको संरक्षकत्वमा समिति बनाइएको छ । अर्को बैठकले उच्चस्तरिय समिति बनाउने, संरक्षक, सल्लाहकार र परिचालन समिति बनाउने पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीले प्रस्ताव गर्नुभएको छ । सोही अनुसार गर्ने वैठकमा सर्वसहमत निर्णय भएको छ । पर्वतका साँसद पदम गिरी, साँसद लालकाजी गुरुङ, प्रदेश ४ का साँसद ललितकला गुरुङ, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण‘ सहित प्रबासमा रहेका पर्वतेली दाजुभाई दिदिबहिनीहरु एकै थलोमा भेला भएर भव्य रुपमा च्यारिटी कार्यक्रम भएको हो ।
च्यारिटी कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न गरिएको आयोजकले जनाएको छ । अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले सबै तयारीका कारण कार्यक्रम सोचे भन्दा बढि सफल भएको बताउनुभयो । उहाँले पर्वतको बिकासका लागि सबै जना चिन्तित रहेको आफुले पाएको बताउनुभयो । पर्वतको बिकासका लागि पर्वतबाट जनप्रतिनिधीहरु र प्रवासी नेपालीहरु बिभिन्न देशबाट आएर कार्यक्रमको महत्व झनै बढाएको बताउनुभयो ।
अन्तराष्ट्रिय पर्वत समाजका कोषाध्यक्ष एवं पर्वत समाज यूकेका महासचिव भरत पौड्यालका अनुसार आगामी बृहत भेला मध्य पूर्वमा गर्ने भेलाले निर्णय गरेको छ । ‘यूएईका सल्लाहाकार गोपीचन्द्र भुसाल आउनुभएको हुनाले उहाँसंग सल्लाह गरेर मध्यपूर्वको यूएईमा बृहत भेला गरौँ भनेर प्रस्ताव गरिएको छ, तर, यूएईमा गर्ने कि अन्यत्र भन्ने कुराको टुंगो लागेको छैन,’ पौड्यालले भन्नुभयो ।
पर्वतको विकासका बारेमाा कार्यक्रममा गहन रुपमा छलफल भएको छ । पर्वत जिल्ला पर्यटकिय संभावना, कृषिको प्रचुर संभवना, जल, जमिन, बनबाट धेरै फाईदा लिन सकिने भएपनि त्यसको समुचित प्रयोग हुन नसकेकोमा छलफलमा चिन्ताको बिषयका रुपमा उठान भएको छ । प्रमुख अतिथी एवं साँसद लालकाजी गुरुङले अव राजनीतिक दाउपेच भन्दा पनि बिकासमा सबैजनाको एकमतो हुनुपर्ने बताउनुभयो । पर्वतको बिकासका लागि बिदेशमा रहेका नेपालीहरुको चासो दिएर लण्डनमा बोलाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँले जिल्लाको बिकास भएमात्रै जिल्लाबासीहरुको अवस्था पनि सुधार हुने भएकाले बिकासका काममा राजनीति गरेर काममा अप्ठ्यारो गर्न कसैलाई छुट नभएको बताउनुभयो । अन्तराष्ट्रिय पर्वत समाजलाई पर्वतको बिकासमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रमुख अतिथी एवं संघिय साँसद पदम गिरीले जिल्लाभित्रका सम्पदाहरु त्यसै खेर जाने तर यहाँका जनशक्ति दिनदिनै बिदेश पलायन हुने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो । बिगतमा ६ ६ महिनामा सरकार परिवर्तन हुने खेलका कारण सरकारले बनाएका योजना पुरा नहुने गरेको स्मरण गर्दै अहिले ईतिहाँसकै बलियो सरकार बनेकाले यो सरकारले यूवाहरुमा आशा र भरोसा जगाएको बताउनुभएको थियो । उहाँले जिल्लाको कायापलट हुने गरि साँसदहरुले काम गर्ने र सरकारले पनि हाम्रा स्रोत र साधानहरुको समुचित प्रयोग हुने नीति ल्याउने बिश्वास दिलाउनुभयो । ‘बिदेशमा रहेका नेपालीहरुलाई हामी सुरक्षा र नाफाको ग्यारेण्टी दिन्छौँ आउनुहोस अव भाषण हैन लगानी गरेर मातृभूमीको बिकासमा लागौँ,’ साँसद गिरीले भन्नुभयो ।साँसद गिरीले आफुले यो परियोजनामा थप एक करोड सहयोग गर्ने बाचा गर्नुभएको छ ।
बिशिष्ठ अतिथी एवं प्रदेश साँसद ललितकला गुरुङले प्रदेशले प्रबासी नेपालीहरुलाई स्वदेशमा सहज तरिकाले लगानी गर्ने र त्यसबाट राम्रो प्रतिफल कसरी गर्न सकिन्छ भनेर कानुन बनाउन आवाज उठाउने बताउनुभयो । स्वदेशको बिकास होस भन्ने कुरामा बिदेशमा रहेका नेपालीहरु बढि चिन्तित रहेको बताउँदै साँसद गुरुङले राज्यले अब हरेक बिकासमा प्रबासी नेपालीहरुलाई सहभागी गराउनुपर्छ भन्ने पक्षमा आफु पहिल्यैदेखि सकारात्मक रहेको बताउनुभयो ।
कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशी र जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले संघियता पछि पर्वतले बिकासको बाटो हिँड्न खोजेको तर, अझै केहि समस्या भने यथावत रहेको बताउनुभयो । कानुनको अभाव, कर्मचारीको अभाव, पूर्वाधारको अभाव, बजेटको कमी, राजनीतिक आग्रह पूर्वाग्रह जस्ता कारण सिँहदरबार गाउँ पुग्न नसेकेको उहाँहरुले बताउनुभयो । तर, निराश भैहाल्नुपर्ने अवस्था भने नरहेको बताउनुभयो । पहिलो अभ्यास भएकाले कमी कमजोरी भएपनि बिस्तारै भविष्यमा संघियता सफल हुँदै जाने र पर्वतका सबै क्षेत्रमा बिकासका नतिजा देखिने जोशी र मल्ले बताउनुभयो ।
बिदेशमा रहेका पर्वतेलीहरुलाई जन्मभूमीको माया नमार्न दुबै जनाले आग्रह गर्नुभएको छ । अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले पर्वतका साँसदहरु र अन्तराष्ट्रिय पर्वत समाज र पर्वत सेवा समाजमा आवद्ध प्रतिनीधी सबै पर्वतको बिकासका निम्ती चिन्तित रहेको बताउनुभयो । पर्वतको बिकासका लागि गर्न सक्ने सबै सहयोग गर्ने बताउनुभएको जानकारी दिनुभयो ।
