Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

3667




हाम्रो ध्यान जनताका आवश्यकता तर्फ - दिपक पौडेल
हाम्रो ध्यान जनताका आवश्यकता तर्फ - दिपक पौडेल

संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भएको डेढ बर्ष भयो । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको स्थानीय सरकार अहिले पूर्णरुपमा क्रियाशील छ । धेरै अपेक्षा, योजना र आश्वासन बोकेर आएका जनप्रतिनिधिहहरुको डेढ बर्ष अलमलमै बितेको आरोप थुप्रै सुनिन्छ । उसो त समस्या, चुनौती, जटिलताहरु पनि स्थानीय तहमा उत्तिकै छन् । नागरिकहरु चुनौतीका विचमा जनप्रतिनिधी मिहेनतमै लागेका छन् भने नागरिकहरु अवसरको प्रतिक्षामा छन् । आज हामीले फलेवास नगरपालिका–५ खानीगाउँका वडाध्यक्ष दिपक शर्मा पौडेल सँग उनी निर्वाचित भएपछिको एक बर्षको अनुभवका बारेमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, पत्रकार साजन परियारले उनीसँग गरिएको कुराकानीको अंश ।

तपाईको राजनितिक र सामाजिक पृष्ठ भूमि बताईदिनुस न ?

म राजनितिक पृष्ठभूमीमा हुर्केको व्यक्ति हुँ । राजनितिमा मेरो सानै देखी रुची थियो । मेरो परिवार नै राजनीतिक वातावरणमा हुर्किएको हुनाले सानैदेखि समाजप्रति उत्तरदायी हुन सिकेको छु । मैले विद्यार्थी कालदेखी नै राजनिति शुरु गरेको हुँ । स्कुल देखी क्याम्पस तहसम्म पुग्दा राजनितिवाट धेरै सिक्ने मौका पाएँ । विद्यार्थी कालमा सिकेको ज्ञानलाई आत्म साथ गदै अगडी बढँे । अनेरास्ववियूमा आवद्ध भएर मैले नेतृत्वको पाठ सिकेको हुँ । तत्कालिन नेकपा एमालेको गाउँ कार्यसमितिका विभिन्न पदमा वसेर मैले राजनीतिक यात्रा अगाडी बढाएको छु । खानीगाउँ गाविसमा ३ बर्ष जति संयन्त्र दलको प्रतिनिधीत्व गरेँ । पार्टीले मेरो काम र जिम्मेवारीलाई सम्मान गदै मलाई स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको टिकट दियो । जनताको सेवा गरेकै कारण हाल खानीगाउँको वडाध्यक्ष भएर जनताको सेवा गर्ने मौका पाएको छु ।

वडाध्यक्ष भएको डेढ बर्षमा के–के काम गर्नुभयो ?

हामी आएपछि जनताका आधारभूत आवश्यकता पूरा गरेका छौँ । हामीले धेरै चुनौती मोल्दै जनताका आवश्यकता पुरा गर्दै आएका छौँ । हाम्रा जनताले हामीवाट जुन अपेक्षा लिएका थिए र हामीले चुनावमा जति ठुला सपना बाँडेका थियौँ ति पुरा गर्न सकेका छैनौँ । यसमा विभिन्न नीतिगत र प्रक्रियागत समस्या रहेको कुरा कसैबाट छिपेको छैन् । तर, निराश भैहाल्नुपर्ने अवस्था छैन् । हामी काम गर्दैछौँ । सबै कुरा एकैपटक हुँदैनन् । विस्तारै विकासले गति लिन्छ भन्ने मेरो विश्वास छ । हामीले खानीगाउँमा अहिले मुडिकुवा हुँदै पक्कि सडक बनाईसकेका छौँ । हामीले खानीगाउँलाई जिल्लाकै दोस्रो पूर्ण सरसफाई युक्त वडा घोषणा गरेका छौँ । गाउँमा जुवातास मदिरा बिक्रि वितरणमा रोक लगाएका छाँै । यहाँका नागरिकहरुलाई विभिन्न आय मुलक सिप सिकाउन स्वरोजगार मुलक तालिम दिएका छौँ । यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी लगायत जनता सँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा हामी केन्द्रित भएर काम थालेका छाँै । सडक विस्तारको क्रममा नयाँ ट्याकहरु खोल्न सफल पनि भएका छौं ।  हामीले वडाका सबै सडक ८–११ मिटर फराकिलो बनाएका छौँ ।  गण्डकी प्रदेश सरकारले तिन जिल्ला जोड्ने गरि निर्माण गर्न लागेको स्याङजाको नौडाँडा, पर्वतको कार्कीनेटा हुँदै खानीगाउँ, जैमिनीघाट हुँदै बागलुङ जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकमा रहेको सडकलाई जोड्न थालेका छौँ । त्यस्तै जैमिनीघाटबाट बाटो चक्लाबन्दी गदै झकलाक हुँदै चितीपानी, शंकरपोखरी जोडेका छौँ । यो सडक फलेवास नगरपालिका र प्रदेश राजधानी जोड्ने रणनीतिक सडक हो । हामीले ‘एक घर एक धारा’ जोड्ने अवधारणा पनि तयार पारेका छौँ । सडकको अवस्था राम्रो हुँदामात्र सहजता आउँछ भन्ने कुरालाई हामीले बुझेर नै सडक विस्तार र नयाँ ट्रयाक खोल्ने कुरालाई प्राथमिकतामा राखेका हौँ । अरु थप विकास निर्माणका कार्य र वडाबाट जनतालाई प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी र सहज बनाउन हामीले ठूलै प्रयास गरेको महसुुस भैरहेको छ । जुन कुरा मैले भन्दा जनताको मुखबाट हजुरले सुन्न पाउनुहुन्छ ।

जनताले महसुस गर्ने खालका काम भएजस्तो लाग्छ ?

जनप्रतिनिधिहरु निर्वाचित भइसके पछि प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनताप्रति हामी उत्तरदायी बनेका छौं । रोकिएका कामहरु, बर्ष अगाडि कागजमा मात्र सिमित भएका कुराहरु व्यवस्थापन गर्न, अत्यावश्यक कुराहरु जस्तै बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानीपानी र सरसफाईलाई प्राथमिकताका साथमा अगाडि बढाउने र महिला, पिछडिएका वर्ग, जनजाती, दलित सबै वर्ग र तहका समुदायलाई नेतृत्व विकास, उद्धमशिलता जस्ता कुराहरुमा आत्मनिर्भर बनाउने कार्यमा अगाडि बढिरहेका छौँ । जनताले प्रत्यक्ष महसुस गर्नेगरी विकास निर्माणका कार्यमा लागिरहेका छौं ।

वडा भित्रका मुख्य समस्या के हुन् त ?

भौगोलिक रुपमा सुगम रहे पनि हाम्रो वडामा अहिले खानेपानीको समस्या छ । सिँचाईका लागि फलेवास सिँचाई कुलो मर्मत नहुँदा विग्रिँदै गएको छ । नगरपालिकाको केन्द्र तोकेपनि हामी खुल्ला आकाशकै अवस्थामा छौँ । यूवाहरु विदेश कुदिरहनुभएको छ । यहाँको मुख्य समस्या भनेकै बेरोजगार हो । यहाँका अधिकाँस युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यता छ । गाउँमा दक्ष जनशक्तिको अभाव छ । गाउँमा भएका महिलाहरु पनि चुलोचौकोमा मात्र सिमित छन् । उनीहरुलाई आत्म निर्भर बनाउन आवश्यक सिप मुलक तालिम संचालन गर्नुपर्ने आवश्यक छ । यहाँका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन । त्यसकारण गरिव जनताहरुले दुख गरेर नीजि विद्यालयमानै पढाउनु पर्ने बाध्यता छ । त्यस कारण हामीले सामुदायिक विद्यालयको गुणस्तर बृद्धिमा ध्यान दिएका छौं, कार्यक्रमहरु पनि सञ्चालन गरियो । वडाका अपांग र छात्रामैत्री छैनन् । छात्राहरुले महिनावारीको समयमा विद्यालय छाड्नु पर्ने अवस्था छ । सुविधा सम्पन्न अस्पतालको आवश्यक छ । वडाबासीहरु औषधी उपचारका लागि पोखरा, काठमाडौँ जानुपर्ने अवस्था छ । खानेपानीको अवस्था पनि त्यस्तै चिन्ता जनक छ । हामीले ‘एक घर एक धारा’ कार्यक्रम पनि लागू गदै छौँ । बृहत फलेवास खानीपानी योजना अन्र्तगत वडाका सबैै घरमा धारा जडान हुन लागेको छ । कृषिमा पनि राम्रो सम्भावना छ । उहाँका युवाहरुलाई कृषि पेशामा आकर्षण गर्न सकियो भने यहाँका नागरिकहरुको जिवनस्तर धेरै माथि उठ्ने थियो । म यहाँको स्थानीयबासी भएका कारण पनि यहाँ समस्या र चुनौतीका विषयमा म पूर्ण जानकार छु । यहाँको समस्या समधान गर्न म कार्यभार सम्हाले देखिनै विषेश महत्व दिएर लागेको छु । वडाको विकासमा थुप्रै समय खर्च गरेको छु ।


पाँच बर्षमा वडालाई कस्तो बनाउने योजना छ ?

सोँच र चाहना त ठूलो छ । तर, ती सबै यही कार्यकालमा पूरा गर्न असम्भव छ । यो पाँच वर्षे कार्यकालमा बजेटले भेट्ने र वार्डलाई आवश्यक सम्पूर्ण कामहरु निष्पक्ष रुपमा सम्पन्न गर्नेछु  । मेरो कार्यकालमा बजेटले भ्याएसम्म कालोपत्रे सहितका व्यवस्थित सडकहरु हुनेछन् । वडा भित्रका सबै सडक ८–११ मिटर फराकिलो हुनेछन् । यस वडामा सुविधा सम्पन्न खेलमैदान निर्माण गर्ने छौँ । यहाँका सबै विद्यालय प्रबिधीमैत्री बनाउने योजना छ । यस क्षेत्रमा  साना तथा मझौला उद्योगहरुको स्थापना गरेर यहाँका युवाहरुलाई स्वरोजगार बनाउने सपना देखेको छु  । बेरोजगारीको समस्याबाट ग्रसित युवा पुस्ता आज खानीगाउँबाट सयौंको संख्यामा विदेश पलायन भइरहेका छन् । उनीहरूलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न सुलभ मूल्यमा मलबीउको उपलब्धता, कृषि अनुदान र व्यावसायिक तालिमको व्यवस्था गरिने छ । कृषियोग्य जमिनमा सिँचाइको व्यवस्था गरी व्यावसायिक कृषि पशुपालन र तरकारी खेतीमार्फत कृषकहरूको जीवनस्तर उकास्न पहल गर्नेछु । खेल क्षेत्रको विकासका लागि सुविधा सम्पन्न खेलमैदान र कभर्ड हलको निर्माण गर्न पहल गर्नेछु ।

वडाका अन्य राजनीतिक दलसँग कसरी सहकार्य गर्दै गर्नुभएको छ ?

म पनि राजनिति गरेर आएको व्यक्ति हुँ । मूलतः यो स्थानीय सरकार हो । यसलाई नेपालको संविधान २०७२ ले पर्याप्त अधिकारसँगै स्थानीय सरकारको रूपमा स्वीकार गरेको छ । यति हुँदाहुँदै पनि खानीगाउँका  सबै राजनीतिक दलका साथीहरूसँग छलफल र समन्वय गरी यहाँका समस्या समाधान गर्न सहकार्य गरिरहेका छौँ । तत्कालिन एमालेको तर्फवाट टिकट पाएर म प्रतिनिधी भएपनि म सबैको साझा व्याक्ति भएको छु । म साझा भएपछि मैले गर्ने निर्णय साझा हुन्छन् । नेपाली काँग्रेस, राप्रपा, जनमोर्चा लगायतका पार्टि मात्रै हैन सर्वसाधारण सबैका विचार आफैँमा महत्वपूर्ण छन् । वडाको विकासमा सबैको सहयोग आवश्यक छ । सबैको सहकार्य आवश्यक छ । राजनीतिवाट निरपेक्ष रहेर सबैलाई समान हैषियतमा सम्मान गरेकै कारण सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेका छन् । व्यक्तिगत स्वार्थ भयो भने टकराव बढ्न सक्छ । हामीले राजनीतिक, व्याक्तिगत र साना कुरामा बिबाद गर्ने हो भने जनताका काम अवरुद्ध हुन्छन् र जनताले राहातको महसुस गर्दैनन् । हामी सहकार्यलाई आत्मासाथ गरि कार्यसम्पादन गरिरहेका छौँ ।

खानीगाउँले मन्त्री पनि पायो, उपमेयर पनि यहाँको हुनुहुन्छ । मेयर पनि तपाईकै पार्टी समर्थक हुनुहुन्छ । खानीगाउँ विकासमा अगाडी हुनुपर्ने भन्ने कुरा सुनिन्छ नि ।

हामी आफैमा भाग्यमानी छौँ । यहि वडाको नेता विकास लम्साल प्रदेशसभाको माननिय मन्त्री बन्नुभएको छ । उपमेयर मन्जु अधिकारी पनि यहि वडाको हुनुहुन्छ । मेयर पदमपाणी शर्मा पनि मेरो समर्थक पार्टिको हुनुहुन्छ । यहि कारण खानीगाउँ विकासमा अगाडी हुनुपर्ने कुरामा तपाई जस्तै अरुको पनि आँकलन हुनु नौलो हैन् । मन्त्री, उपमेयर यहि वडाको हुँदैमा सबै विकास यहाँ हुनुपर्छ भन्ने छैन् । पहुँच भएको ठाउँमा मात्रै विकास भयो भने अरु ठाउँमा हुँदैन् । समानुपातिक विकास भयो भने मात्रै देश अगाडी बढ्छ । स्वभाविक रुपमा मन्त्री ज्यूले खानीगाउँको विकासमा धेरै लगानी गर्नुभएको छ । उपमेयर र मेयर पनि यहि वडा केन्द्र भएकाले यहाँको विकासमा केन्द्रित भएर सकरात्मक सहयोग गरिरहनुभएको छ । खानीगाउँ फलेवासका सबै वडामध्ये विकासमा अगाडी रहेको सबैले देखेका छन् । तर यो विकास मन्त्री, उपमेयर, मेयर र मेरो प्रयासले मात्रै भन्दा पनि सबै समूदाय, वर्ग, व्याक्ति र संस्थाको कारण पनि विकासमा अगाडी बढेको मेरो ठहर छ ।


वडाले प्रदान गर्ने सेवा र दिने सुविधामा ढिलासुस्ती हुन्छ भन्ने जनताको गुनासो छ नि ?

हामीले चाहेर ढिलासुस्ती गरेकै छैन । जनताको सेवालाई चुस्त र छिटो बनाउन हामी लागि परेका छौं । केही कुराको पनि प्रक्रिया हुन्छ । ती प्रक्रिया त जनताले पूरा गर्नुपर्छ नि । हामी पनि नयाँ छौं, हामीले पनि धेरैकुरा सिकिरहेकै पनि छौं । यहाँबाट प्रदान गरिने सेवालाई छरितो पार्ने कार्य जारी छ । आर्थिक पक्षमा हामीले निश्चित पकृया पूरा गर्ने पर्छ, त्यसका लागि केही समय लाग्न सक्छ । यसलाई अन्यथा मान्नु हुन्न । हामी कसैलाई भेदभाव नगरी सहज ढंगले सेवा प्रदान गर्ने कुरामा प्रतिबद्ध छौँ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

तपाईंहरुसँग गरेका प्रतिवद्धताहरु हामी अबश्य पूरा गछौं । धैर्य गर्नुभएको छ, जसका लागि म आभार प्रकट गर्छु । २० वर्षपछि भएको निर्वाचनबाट यहाँहरुले धेरै अपेक्षा गर्नु, र छिटोछिटो काम होस् भन्ने चाहनु ठिकै हो । हामी प्रतिनिधी जनताकै लागि हो । तपाईंहरुसँग गरेका प्रतिवद्धता पुरा हुने छन् धैर्य गर्नुहोस् । र पर्वत नेपाल अनलाईन पत्रिकाले पर्वत जिल्लाका गतिविधीलाई समेटेर अगाडी बढेको छ । जनताको मन जितेको छ । आगमी दिनमा पनि सत्य तथ्य र चेतना मुलक जानकारीलाई प्राथमिकता दिएर विकास र समृद्धि टेवा पुग्ने पत्रकारिता गर्नुहोला धन्यवाद ।

सम्बन्धित समाचार (जिल्ला )