Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

9 months ago

430




जैमिनि ऋषि र जैमिनिघाटको परिचय
loading...
जैमिनि ऋषि र जैमिनिघाटको परिचय

१. पृष्ठभूमि

पौराणिक दृष्टिले नेपाल हिमवत्खण्डका रूपमा सुपरिचित छ । हिमालयबाट प्रादुर्भाव भएका अनेकौं नदीहरूको आसपासका तीर्थस्थलहरू विभिन्न ऋषिमुनिहरूका तपस्या गर्ने स्थल थिए भन्ने कुरा वैदिक एवम् पौराणिक वाङ्मयबाट प्रमाणित हुन्छ । यसै सन्दर्भमा यस आलेखमा जैमिनि ऋषि र कालीगण्डकीको प्रस्रवण क्षेत्रमा अवस्थित जैमिनि ऋषिको तपस्यास्थल जैमिनिघाटका बारेमा सङ्क्षेपमा परिचयात्मक चर्चा गर्ने प्रयत्न गरिएको छ ।

जैमिनि ऋषिको परिचय

जैमिनि ऋषिलाई परिचित गराउने खालका पर्याप्त सन्दर्भ सामग्रीहरू हामीसँग नभए पनि जैमिनि ऋषिको काल निर्धारण गर्ने आधार र उनले रचना गरेका कृतिहरूका आधारमा उनको सामान्य परिचय प्राप्त गर्न सकिन्छ ।

जैमिनि ऋषिको काल

जैमिनि ऋषि महर्षि वेदव्यासका शिष्य मानिन्छन् । महाभारतको आदिपर्व र महीधर भाष्यमा उल्लेख भएअनुसार जैमिनि ऋषिले वेदव्यासबाट सामवेद र महाभारतको शिक्षा लिएका थिए । त्यसैले जैमिनि वेदव्यासका समकालिक थिए भन्ने अनुमान गर्न सकिन्छ । पाश्चात्य विद्वान्हरूले जैमिनि इसापूर्व आठौं शताब्दीभन्दा पूर्वका हुन् भन्ने अभिमत प्रकट गर्दछन् भने भारतीय विद्वान्हरूले जैमिनिलाई इसाभन्दा तीन हजार वर्ष पूर्वका मान्दछन् । वेदव्यासका समकालिक भएकाले पाश्चात्य विद्वान्को मतभन्दा भारतीय विद्वान्को मतलाई आधार मानेर जैमिनि ऋषिको समय निर्धारण गर्नु युक्तिसङ्गत देखिन्छ ।

जैमिनि ऋषिद्वारा रचित कृतिहरू

वर्तमानमा जस्तो प्राचीन कालमा स्रष्टाले आफ्नो परिचय र कृतिहरूको विवरण आफैले प्रस्तुत गर्ने प्रचलन थिएन । त्यसैले जैमिनि ऋषिले केकति कृतिहरू रचना गरेका थिए भन्ने कुराको निक्र्योल गर्न निकै कठिन छ तापनि हालसम्मको अनुसन्धानका आधारमा जैमिनि ऋषिले मुख्यतः जैमिनीय सामवेद संहिता, जैमिनीय ब्राह्मण, जैमिनीय श्रौतसूत्र, जैमिनीय गृह्यसूत्र, जैमिनीय महाभारतको अश्वमेधपर्व, जैमिनीय पूर्वमीमांसासूत्र र जैमिनीय सूत्र गरी सातवटा कृतिहरू रचना गरेका थिए भन्ने कुरा प्रमाणित भइसकेको छ 


जैमिनीय सामवेद संहिता

सामवेदका एक हजार शाखाहरू थिए । तीमध्ये वर्तमानमा कौथुमी शाखा, जैमिनीय शाखा र राणायणीय शाखा गरी तीन शाखामात्र उपलब्ध छन् । विशेषतः कौथुमी शाखा गुजरात र मिथिला क्षेत्रमा तथा राणायणीय शाखा महाराष्ट्र प्रदेशमा प्रचलित छन् भने जैमिनिद्वारा प्रवचन गरेको जैमिनीय शाखा मुख्यतया भारतको कर्नाटक प्रदेशमा प्रचलनमा रहेको छ । आफूले वेदव्याससँग सामवेद पढेपछि त्यसकै आधारमा जैमिनिले तयार गरेको जैमिनीय सामवेद संहिताको एउटा संस्करण सन् १९०७ मा डब्लु क्यालन्डले प्रकाशित गरेका थिए र यस संहितालाई तलवकार संहिता पनि भन्ने गरिन्छ ।

जैमिनीय ब्राह्मण

वेदको संहिता भागपछिको अर्को भागलाई ब्राह्मण ग्रन्थ भनिन्छ । जैमिनिले प्रवचन गरेको जैमिनीय ब्राह्मण हाल सर्वांशमा उपलब्ध नभए पनि त्यसका दुई अंश भने उपलब्ध छन् । जैमिनीय ब्राह्मणसँग सम्बद्ध ‘जैमिनीय आर्षेय ब्राह्मण लाई सन् १८७८ मा वर्नेलले प्रकाशन गरेका थिए भने ‘जैमिनीय उपनिषद् ब्राह्मण लाई सन् १९२१ मा एचदृ एन्टलले प्रकाशमा ल्याएका थिए । डच भाषामा अनुवाद गरिएको ‘जैमिनीय आर्षेय ब्राह्मण लाई भने डब्लु क्यालन्डले प्रकाशन गरेका थिए । ‘जैमिनीय आर्षेय ब्राह्मण को नवौं अध्याय केनोपनिषद् र ब्राह्मणोपनिषद्का नामले समेत प्रसिद्ध छ ।

 जैमिनीय श्रौतसूत्र

जैमिनि ऋषिले सामवेद पढेकाले उनले रचना गरेको जैमिनीय श्रौतसूत्र पनि सामवेदसँग सम्बद्ध छ । सन् १९०६ मा लाइडेनले जैमिनीय श्रौतसूत्रलाई खण्डित रूपमा प्रकाशमा ल्याएका थिए भने संस्कृतेतर भाषामा यसको केही अंश अनुवादका रूपमा प्रकाशित छ ।



जैमिनीय गृह्यसूत्र

जैमिनिद्वारा रचित जैमिनीय गृह्यसूत्र पनि सामवेदसँग नै सम्बद्ध छ । डब्लु क्यालन्डकै सत्प्रयासमा सन् १९२२ मा पन्जाब संस्कृत सिरिज लाहोरबाट यसको अनुवादसहितको संस्करण प्रकाशित भएको छ ।

जैमिनीय महाभारतको अश्वमेधपर्व

महाभारत आदिपर्व ९७६३र८९९०० मा उल्लेख भएअनुसार वेदव्यासले जैमिनिलाई सामवेद संहिताका साथमा महाभारत पनि पढाएका थिए । महाभारत पढेका आधारमा जैमिनिले महाभारतको अश्वमेधपर्व तयार गरेका थिए र त्यस पर्वमा ६८ अध्यायहरू छन् । जैमिनिले यस पर्वमा युधिष्ठिरको अश्वमेधयज्ञका साथै अन्य धार्मिक क्रियाकलापको पनि विस्तृत वर्णन गरेका छन् । वेदव्यासले जैमिनिसँगै सुमन्त, पैल र शुकलाई पनि महाभारत पढाएका थिए र उनीहरूले रचना गरेका महाभारतका सबै अंशहरू लुप्त भएकाले पनि जैमिनीय महाभारतको अश्वमेधपर्वको ऐतिहासिक विशेष महत्त्व रहन गएको देखिन्छ ।

जैमिनीय पूर्वमीमांसासूत्र

मीमांसाशास्त्र पूर्वमीमांसा र उत्तरमीमांसा गरी दुई किसिमको हुन्छ । पूर्वमीमांसाशास्त्रका प्रणेता जैमिनि ऋषि हुन् । उनले रचना गरेको पूर्वमीमांसासँग सम्बद्ध ग्रन्थलाई जैमिनीय पूर्वमीमांसासूत्र भनिन्छ । यो ग्रन्थ १२ अध्यायमा विभक्त छ । यसमा कर्ममीमांसाका धर्म, कर्मभेद, शेषत्व, प्रयोज्य प्रयोजकभाव, क्रम, अधिकार, सामान्यातिदेश, विशेषातिदेश, अह, बाध अभ्युच्चय, तन्त्र र आवाप गरी १२ विषयहरूमा विचारविमर्श गरिएको छ । त्यसैले यो ग्रन्थ द्वादशलक्षणी नामले पनि प्रसिद्ध छ । यस ग्रन्थमा ‘लिङ्गदर्शनाच्च सूत्र ३० पटकसम्म पुनरावृत्ति भएको छ भने यसरी बारम्बार आवृत्त भएका सूत्रहरू यस ग्रन्थमा प्रशस्त पाइन्छन् । त्यसैगरी बादरायण, आत्रेय आदि आचार्यहरूको नाम पनि पूर्वमीमांसासूत्रमा पुनरावृत्ति भएको पाइन्छ । त्यतिमात्र होइन जैमिनि स्वयम्ले आफ्नो नामसमेत मीमांसासूत्रमा पाँचपटकसम्म दोहो¥याएका छन् । अधिकांश प्राचीन लेखकहरूमा यस किसिमको लेखनशैली पाइने भएकाले यसलाई ग्रन्थकारको दोष मान्न उपयुक्त देखिँदैन । जैमिनीय पूर्वमीमांसासूत्र नामक ग्रन्थको पहिलो अध्यायको पहिलो पाउ तर्कपाद नामले प्रसिद्ध छ । ‘अथातो धर्मजिज्ञासा नामक पहिलो सूत्रबाट धर्मका बारेमा जिज्ञासा राख्तै यस ग्रन्थको आरम्भ भएको छ । यस ग्रन्थमा प्रत्यक्ष, अनुमान, उपमान, अर्थापत्ति, अभाव र शब्द गरी छ प्रकारका प्रमाणहरूको चर्चा गरिएको छ । जैमिनिले पनि वेदलाई अपौरुषेय मानेका छन् भने वैयाकरणहरूले झैं उनले पनि शब्द र अर्थको सम्बन्धलाई नित्य ठान्दछन् । शरीरदेखि भिन्न आत्मा, स्वर्ग र मोक्षको अस्तित्वलाई स्वीकारे पनि साक्षात् ईश्वरको अस्तित्वको चर्चा भने उनले गरेका छैनन् ।

जैमिनीय सूत्र

जैमिनिले रचना गरेको ज्योतिषशास्त्रसँग सम्बद्ध ग्रन्थ ‘जैमिनीय सूत्र का नामले प्रसिद्ध छ । काशी हिन्दु विश्वविद्यालयका ज्योतिषशास्त्रका भूतपूर्व प्राध्यापक रामरत्न ओझाले जैमिनिको ज्योतिषशास्त्रसँग सम्बद्ध ‘जैमिनीय सूत्र नामक ग्रन्थ प्रकाशन गरेका थिए । यस ग्रन्थमा विशेषतः आयुका बारेमा विचारविमर्श गरिएको छ ।

जैमिनिघाटको परिचय

कालीगण्डकीको प्रस्रवण क्षेत्रमा अवस्थित जैमिनिघाटको सामान्य परिचयका लागि त्यसको भौगोलिक अवस्थिति, नामकरण, स्वरूप, दाह संस्कार स्थल, धार्मिक एवम् सांस्कृतिक महत्त्व, जैमिनीश्वर महादेवको मन्दिर र पर्यटन विकासको सम्भावनाका बारेमा चर्चा गर्नु युक्तिसङ्गत हुनेछ ।


जैमिनिघाटको भौगोलिक अवस्थिति

बागलुङ जिल्ला सदरमुकामदेखि करिब बीस किलोमिटर दक्षिणमा कालीगण्डकीको किनारमा जैमिनिघाट अवस्थित छ । पश्चिमतर्फबाट बगेर आउने ठेउले खोला जैमिनिघाटमा आएर मिसिएको छ । जैमिनिघाटको पूर्वतर्फ पर्वत जिल्लाको देवीस्थान गाविसअन्तर्गतको फलेबास गाउँ रहेको छ भने दक्षिणमा बागलुङ जिल्लाको बिनामारे गाविस पर्दछ । बागलुङदेखि कुस्मी सेरासम्मको कच्ची सडकअन्तर्गत टुनिबोट गाउँबाट करिब बीस मिनेटको ओरालो लागेपछि जैमिनिघाट पुग्न सकिन्छ भने पर्वत जिल्लाको फलेबासको डिलबाट करिब पन्ध्र मिनेट ओरालो झरी पुल तरेर पनि जैमिनिघाटमा पुग्न सकिन्छ । जैमिनिघाट पञ्चायत कालसम्म अमलाचौर गाविसमा पर्दथ्यो भने त्यसपछि जैमिनिघाटलाई कुस्मी गाविसमा समावेश गरिएको थियो । स्थानीय तहको पुनः संरचना आयोगले सरकारलाई हालै बुझाएको प्रतिवेदनमा उल्लेख भएअनुसार बागलुङमा चारवटा नगरपालिका एवम् छवटा गाउँपालिकाको व्यवस्था गरिएको र जैमिनिघाटलाई प्रस्तावित जैमिनि नगरपालिकामा राखिएको छ । उक्त आयोगको प्रतिवेदन कार्यान्वयन भएका अवस्थामा जैमिनि ऋषिका नाममा नामकरण गरिएको जैमिनि नगरपालिकाले निश्चय नै जैमिनिघाटको मात्र होइन समग्र त्यस क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिने कुरामा आशावादी हुन सकिन्छ ।

जैमिनिघाटको नामकरण

जैमिनि ऋषिले योगसाधना र तपस्या गरेको घाट भएकाले यसलाई जैमिनिघाट भनिएको हो । संस्कृतको ‘घट्ट शब्दले नदीको किनारलाई बुझाउँछ र त्यही घट्ट शब्दबाट नेपालीमा घाट शब्द विकसित भएको हो । जुनसुकै नदीको किनार वा घाटलाई तीर्थस्थल मानिन्छ । जैमिनि ऋषिको तपस्याका बलले अझै पवित्र बनाइएको तीर्थस्थल भएकाले जैमिनि ऋषिकै नाम जोडेर यसको ‘जैमिनिघाट नामकरण गरिएको हो । स्थानीय रूपमा धेरैले यसलाई ‘ज्यामिरघाट भन्न रुचाउँछन् । ‘ज्यामिर शब्दले फलविशेषलाई बुझाउँछ । ज्यामिर फल्ने वा ज्यामिर पाइने घाट भनेर यसलाई ज्यामिरघाट भनिएको होइन । जैमिनिघाट शब्द नै अपभ्रंश भएर ज्यामिरघाट बन्न पुगेको हो ।

जैमिनिघाटको स्वरूप

पश्चिम दिशाबाट बग्दै आएको ठेउले खोला र पूर्वोत्तर दिशाबाट बग्दै आएको कालीगण्डकीको संगमस्थलदेखि करिब सय मिटर उत्तरतर्पm कालीगण्डकीको किनारमा दुईवटा शिला छन् । तीमध्ये एउटा शिला विशाल छ । त्यो शिला शङ्खको जस्तो आकारको छ अनि त्यसमा शङ्खको जस्तै प्वाल पनि छ । शङ्ख फुक्न अत्यन्त सिपालु मान्छेले त्यस शिलाको प्वालमा मुख राखेर फुक्ता त्यसको ध्वनिले पहाड नै थर्किएको जस्तो हुन्छ । शङ्खजस्तो भएका कारण त्यस ढुङ्गालाई स्थानीय बासिन्दाले ‘शङ्खेढुङ्गा भन्दछन् । शङ्खेढुङ्गाको करिब सात मिटर पश्चिम दिशामा अवस्थित पहराको आडमा अर्को शिला छ । जैमिनि ऋषिले तपस्या गर्दा बसेको आसनजस्तो आकार शिलामा स्पष्ट देखिएकाले त्यसलाई ‘जैमिनि शिला भन्ने गरिन्छ । त्यसको दक्षिणतर्पm ‘देवशिला अवस्थित छ जसलाई स्थानीयवासीले ‘देउढुङ्गा भन्ने गर्दछन् । त्यसको उत्तरतर्पm पहरामा एउटा कुटी छ, जसलाई जैमिनि कुटी भनिन्छ । त्यस कुटीभित्र एउटा कुनामा पूजा गर्ने मण्डप छ, जसमा कालीगण्डकीकै किनारमा पाइने शालिग्राम राखिएको छ । स्थानीय किंवदन्तीअनुसार प्राचीन कालदेखि नै त्यस मण्डपमा शालिग्रामको नियमित पूजा गरिँदै आए पनि केही वर्षदेखि त्यसले निरन्तरता पाउन सकेको छैन ।

दाह संस्कार स्थलका रूपमा जैमिनिघाट

बागलुङ जिल्लाको दक्षिणी भेक र पर्वत जिल्लाको उत्तरी भेकका करिब एक दर्जन गाविसमा बसोबास गर्ने व्यक्तिहरूको दाह संस्कार गर्ने स्थलका रूपमा पनि जैमिनिघाट सुप्रसिद्ध छ । यस क्षेत्रमा मानिसको मृत्यु भएपछि एकोहोरो शङ्ख फुक्ने चलन छ । यसरी एकोहोरो शङ्ख फुक्ता छिमेकीहरूले तत्काल मृत्युको सूचना पाउँछन् । त्यसका साथै शवलाई लिएर दाह संस्कार स्थलसम्म पुग्दा पनि एकोहोरो शङ्ख फुकिन्छ र मलामीको गन्ती गर्दा त्यसरी फुकिएको शङ्खलाई पनि गन्ती गरिन्छ । यस क्षेत्रमा कसैलाई अत्यन्त नराम्रोसँग गाली गर्नुप¥यो भने ‘तेरो टाउको शङ्खेढुङ्गामा सेलाउन परोस् भनिन्छ । जैमिनिघाटमा दाह संस्कार गर्ने मृतकको शिरलाई शङ्खेढुङ्गामा सिरान बनाइन्छ । शङ्खेढुङ्गाको प्वालमा फुक्ता दोहोरो शङ्ख बजाउन नसकिने र एकोहोरो शङ्ख बजेजस्तो आवाज निस्कने भएकाले त्यसलाई अशुभ मानेर त्यस भेकमा सर्वप्रथम एकोहोरो शङ्ख फुक्ने चलन चलेको हुनसक्छ, जुन प्रचलन पछि आएर क्रमशः नेपालका अधिकांश भागमा फैलिएको अनुमान गर्न सकिन्छ । प्रारम्भमा खसआर्यहरूमा मात्र सीमित रहेको एकोहोरो शङ्ख फुक्ने चलन क्रमशः अनार्यहरूमा पनि विस्तार हुनगएको देखिन्छ ।

जैमिनिघाटको धार्मिक तथा सांस्कृतिक महत्त्व

जैमिनिघाट त्यस भेकको महत्त्वपूर्ण तीर्थस्थल भएकाले जुनसुकै धार्मिक चाडपर्वका अवसरमा त्यहाँ गङ्गास्नान गर्नेहरूको भीड लाग्ने गर्छ । प्रत्येक माघ सङ्क्रान्तिका अवसरमा कालीगण्डकीको किनारमा अवस्थित रिडीमा जस्तै जैमिनिघाटमा पनि भक्तालु जनहरूको तीन दिनसम्म मेला लाग्ने गर्दथ्यो । बागलुङ र पर्वतबाट मात्र होइन कास्की, स्याङजा र गुल्मीबाट समेत जैमिनिघाटमा माघे सङ्क्रान्ति मेला भर्न आउनेहरूको घुइँचो लाग्दथ्यो । माघे सङ्क्रान्ति मेला लागिरहेकै बेलामा करिब पच्चीस वर्षअघि अज्ञात व्यक्तिद्वारा प्रहरी इन्स्पेक्टरलाई छुरी हानेर हत्या गरिएपछि असुरक्षाकै कारण जैमिनिघाटमा माघे सङ्क्रान्तिका बेलामा मेला लाग्न छाडेको हो । बाला चतुर्दशीका दिनमा पनि जैमिनिघाटमा शतबीज छर्ने मान्छेहरूको भीड लाग्थ्यो । पहिला पहिलाजस्तो भीड लाग्न छाडे पनि माघे सङ्क्रान्ति, बाला चतुर्दशी र ठूली एकादशीका अवसरमा जैमिनिघाटमा भक्तजनहरूको जमघट हुँदै आएको पाइन्छ । जैमिनिघाटको धार्मिक र सांस्कृतिक महत्त्वलाई जनसमक्ष पु¥याउने उद्देश्यले २०४२ सालमा योगी नरहरिनाथको सक्रियतामा स्याङजाका पं।कमलाकान्त सुवेदीको प्रमुख वाचकत्वमा शिवपुराण महायज्ञ सञ्चालन गरिएको थियो । त्यसको यज्ञशेषबाट जैमिनिघाटमा सोही वर्ष वेद र वेदाङ्गका विषयहरू पठनपाठन गर्ने उद्देश्यले ‘जैमिनि संस्कृत पाठशालाको स्थापना गरिएको थियो, जुन पाठशाला केही वर्षपछि स्थानान्तरण भएर बागलुङ दमेकको शिवपुरीमा हालसम्म सञ्चालन हुँदै आएको छ । योगी नरहरिनाथको यसै अभियानबाट प्रेरित भएर स्वदेश तथा विदेशमा रहेका स्थानीय व्यक्तिहरूको सत्प्रयासमा जैमिनिघाटमा जैमिनि ऋषिको मूर्ति र शिवको मन्दिरसमेत स्थापना भएका छन् । विगतमा झैं वर्तमानमा पनि जैमिनिघाटमा भक्तजनहरूको आकर्षण बढाउन यथोचित सुरुक्षा प्रबन्ध मिलाउनुका साथै यसको धार्मिक एवम् सांस्कृतिक महत्त्व बुझाउने खालका थप कार्यक्रमहरू बेला बेलामा सञ्चालन गरिनु आवश्यक छ ।

जैमिनीश्वर महादेवको मन्दिर

जैमिनिघाटमा रहेको मन्दिरलाई जैमिनीश्वर महादेवको मन्दिर भनिन्छ । यसको स्थापना वि।सं। १९९० तिर भएको र यसको जीर्णोद्धार भने २०१६ सालतिर भएको अनुमान गरिन्छ । जागिरका सिलसिलामा भारतको मद्रासमा रहेका त्यस भेकका केही भक्तजनहरूको सक्रियतामा अर्थसङ्कलन गरी २०४१ तिर स्थानीय व्यक्तिहरूको श्रमदानसमेत प्राप्त गरेर जैमिनीश्वर महादेव मन्दिरको वर्तमान स्वरूप खडा भएको हो । यस मन्दिरको दैनिक पूजाखर्च र पुजारीको जीवनवृत्तिका लागि बिनामारे गाविसको वडा नं। १ मा करिब सात मुरी धान फल्ने खेत मन्दिरका नाममा दर्ता गरिएको छ । विशेषतः महाशिवरात्रीका अवसरमा यस मन्दिरमा दर्शनार्थीहरूको ठूलो भीड लाग्ने र २४ घण्टा अखण्ड कीर्तनसमेत हुने गरेको छ ।

जैमिनिघाटमा पर्यटन विकासको सम्भावना

नेपाल प्राकृतिक रूपले मात्र समृद्ध छैन अपितु धार्मिक, सांस्कृतिक र पुरातात्त्विक दृष्टिले पनि उत्तिकै समृद्ध छ । त्यसैले यिनको समुचित संरक्षण गर्दै यिनका बारेमा विश्व समुदायलाई राम्रोसँग जानकारी गराउन सकियो भने मात्र नेपालका हरेक क्षेत्रमा पर्यटन विकासको प्रचुर सम्भावना छ । प्रकृतिले ठगे पनि विश्वका कैयौं मरुभूमि मुलुकहरूले दिनानुदिन लाखौं पर्यटकहरूलाई आकर्षित गर्न सफल भइरहेका सन्दर्भमा नेपालमा जैमिनिघाटजस्ता ऐतिहासिक तीर्थस्थलहरूमा पर्यटन विकासको सम्भावनामात्र होइन सार्थकता पनि रहेको छ । निर्माणाधीन कालीगण्डकी करिडोरले जैमिनिघाटलाई पनि छोएको र जैमिनिघाटदेखि रिडीसम्म कालीगण्डकीमा र्याफ्टिङको सम्भावना रहेका कारण मुक्तिनाथ क्षेत्रतर्पm जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई जैमिनिघाटतर्फ पनि आकर्षित गर्न सकिन्छ । हालसम्म राज्यबाट उपेक्षित रहँदै आएको जैमिनिघाटमा पर्यटनको विकास हुनसक्यो भने त्यसबाट नेपालमा अहिलेसम्म ओझेलमा परेका जैमिनि ऋषिको व्यक्तित्व र कृतित्वका बारेमा जानकारी हासिल गर्नाका साथै पर्यटनका माध्यमबाट स्थानीय जनता र समग्र राष्ट्रसमेत आर्थिक समृद्धितर्फ अग्रसर हुनसक्ने सम्भावना देखिन्छ ।

उपसंहार

जैमिनिघाटलाई आफ्नो तपस्यास्थल बनाउने जैमिनि ऋषि निश्चय नै नेपाली थिए होलान् । उनको कृतित्वका बारेमा विभिन्न मुलुकमा अध्ययन अनुसन्धानहरू सम्पन्न पनि भइसके होलान् र सम्पन्न हुने क्रममा पनि रहेका होलान् तर बत्तीमुनिको अँध्यारो भनेझैं जैमिनि ऋषि र उनको तपस्यास्थल जैमिनिघाटका बारेमा हालसम्म नेपालबाट विशेष खोज वा अनुसन्धान हुन नसक्नु गम्भीर चिन्ताको विषय हो । त्यसका साथै जैमिनिघाटलाई पर्यटकीय क्षेत्रका रूपमा समेत विकास गर्न नेपाल सरकार र स्थानीय जनताहरूको विशेष सक्रिय संलग्नता रहनु आवश्यक देखिन्छ ।

सन्दर्भसूची

गुगल, जैमिनि ऋषि, विकिपिडिया (९हिन्दी संस्करण) ।

शर्मा, कीर्तिनाथ, जैमिनीश्वर महादेव.एक शब्दचित्र (अप्रकाशित लेख), कुस्मी२, बागलुङ, २०७० शर्मा, दीनानाथ, जैमिनि ऋषि र ओझेलमा परेको जैमिनिघाट, गुगल, टुरिजम अफ नेपाल डट कम ।

सम्बन्धित समाचार (जिल्ला )