Correspondent, ParbatNepal
7 years ago
2481
लेखक–दिनेश भुषाल
म हारेँ, तिमीसँग हारेँ,
तिम्रो प्रेमसँग हारेँ ।
सफलतामा मात्रै रम्ने 'मन'
तिमीसंग पराजित हुँदा
समेत रमाएको छ,
लाग्दैछ,
सधैं तिमीसँग हार्न पाउँ ।
म डुबेँ, तिमीसँग डुबे,
तिम्रो प्रणयको सागरमा डुबेँ ।
पोखरीमा समेत तैरन नसक्ने 'म'
मृतसागरको गहिराइ भन्दा
अझ बढी गहिराइमा डुबेँ
लाग्दैछ,
जीवनभर यसरी नै डुब्न पाउँ ।
तिमीबाट धेरै टाढा,
कहिल्यै नभेटिने, कहिल्यै नदेखिने
ठाउँ खोज्दै हिडेको मान्छे 'म'
मेरो समीपबाट टाढा तिमी रहँदा
म आफ्नै खाल्डोमा पर्दैछु भन्ने जब ठानेँ
लाग्यो,
तिम्रो आलिङ्गनमा म कहिल्यै टाढिनु हुँदैन ।
यो समय तिम्रो अनुरागमा भुलेको छु,
रमेको छु, डुबेको छु
भिजेको छु पनि ।
आज प्रणय साट्ने दिन
यो दिन तिम्रै लागि समर्पित छ,
आजको दिन मात्रै किन र?
मेरो सम्पूर्ण जीवन तिम्रै लागि अर्पित छ ।
मभित्र तिमी छौ र त,
म अपूर्ण बाट पूर्ण छु ।।
