
धेरै समय भएको नै छैन नी
तिमिदेखि टाढिएको म
तिमी यति छिट्टै न आत्तिनु है
यी धेरै गन्तव्यहरु बीचमा म
तिमी तिर आउने बाटो भेटाउनेछु
पर्वत , म छिट्टै नै आउनेछु !!
अन्नपूर्ण हिमशृङ्खला अनि ती
अनगिन्ती पहाडहरुको कुनाबाट
सूर्योदयको दृश्य नदेखेको धेरै भयो
तर मोदी खोलाको छेउछाउ हुँदै म
नयापूलबाट तिमीलाई बोलाउनेछु
पर्वत , म छिट्टै नै आउनेछु !!
हिमपात हुँदै छ रे आजकल
जलजला, र मोदीका पहाडहरूमा
तिम्रो काखमा चिसो हिउँ खेल्ने रहर
पूरा गर्न एकदिन म पनि
हम्पालको हिउँमा रमाउनेछु
पर्वत , म छिट्टै नै आउनेछु !!
हे निश्चल बगिरहने गण्डकी
तिम्रो त्यो कलकल आवाजले
सायद मलाई नै खोजिरहेको छ
तिम्रो वेग मै सवार भई म आफूलाई
उत्तर पर्वत बाट दक्षिण पुर्याउनेछु
पर्वत , म छिट्टै नै आउनेछु !!
तिम्रो दक्षिण भेगमा पनि म
एकदिन अवश्य नै पुग्नेछु
पन्चासे , डहरे लेक हुँदै
महाशिला , पदयात्रामा रमाएर म
तिम्रो मायाको प्यास मेटाउनेछु
पर्वत , म छिट्टै नै आउनेछु !!
सधैं सपनीमा आएर मेरो
तिमी सताउने नगर न मलाई
तिम्रै माटो र मायाबाट बनेको म
आफ्नो हृदयमा सधैं भरी
तिमीलाई नै बसाउनेछु
पर्वत , म छिट्टै नै आउनेछु !!
अरूले जसरी तिम्रो माया
कहाँ भुलाउन सक्छु र म ?
इन्द्रेणीका रंगहरु मागी एकदिन
बेसहारा भइरहेकी तिमीलाई म
सुन्दर स्वर्गझै सजाउनेछु
पर्वत , म छिट्टै नै आउनेछु !!