Correspondent, ParbatNepal
6 years ago
1580
फागुन २६, पर्वत । तपाईले आफ्नो जन्म दिन कसरी मनाउनु हुन्छ ? केक काटेर, साथीभाई जम्मा गरेर भोज भतेर वा नाच गान गरेर । जन्म दिन मनाउने सवैका आ–आफ्नै तरिका हुन्छन् । तर यहाँका एक समाजसेवीले भने आफ्नो जन्मदिन फरक किसिमले मनाउनु भएको छ । जिल्लाको मोदी गाउँपालिका – २ पातीचौर निवासी समाजसेवी बुद्धिप्रसाद तिवारीले आफ्नो ६४ औँ जन्मदिनको अबसरमा यहाँका ६ वटा
विद्यालयका ६ जना उत्कृष्ट बिद्यार्थीहरुलाई नगद सहित शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
तिवारीले यस बर्ष मात्र नभइ विगत २२ बर्ष देखि आफ्नो जन्मदिनमा विद्यार्थीलाई नगद सहित पुरस्कार वितरण गदै आउनु भएको हो ।
वि.स. २०५४ सालमा १० हजार राशीको बुद्धि शुभ जन्मोत्सव अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट गाउँपालिकाका ६ वटा विद्यालयका विद्यार्थीलाई पुरस्कृत गदै आउनु भएको छ ।
यसवर्ष देखि अक्षयकोषको रकम ५० हजार पु¥याउनु भएको छ ।
सोमवार भएको कार्यक्रममा जननेत्र माविका विशाल राज शर्मा, नमूना आवासीय माविका सौगात लामिछाने, देउपुर नमूना आवासीय माविका रिया केसी, पशुपति आविका सफल परियार, आदर्श आविका गरिमा चापागाई, र जनआदर्श अंग्रेजी आविका रेजन मल्ललाई जनही एक हजार नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको छ । सो अवसरमा बोल्दै मोदी गाउँपालिका – २ का वडाध्यक्ष विकास तिमिल्सिनाले समाज सेवाको क्षेत्रमा तिवारीले पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । त्यस्तै रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष प्रेम प्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अक्षय कोष संचालक समितिका अध्यक्ष नारायण प्रसाद चापागाई सो सभापतित्वमा भएको सो कार्यक्रमको संचालन पशुपति आधारभूत विद्यालयका प्रधानध्यापक तारापती तिमिल्सिनाले गर्नु भएको थियो ।
