Correspondent, ParbatNepal
8 years ago
3472
जेठ १२, पर्वत । मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल सहित ६ जना विरुद्ध अख्तियारमा उजुरी परेको छ । मोदी गाउँपालिका ६ तिलाहार ठानामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयमा राजनीतिक हस्तक्षेप गरेको भन्दै स्थानीयबासीले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।
अख्तियारमा मा १७५०मा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल सहित मोदी ६ तिलाहारका वडा अध्यक्ष विमल लामिछाने, विद्यालय निरिक्षक झलक आचार्य, विद्यालयका प्रधानाध्यापक ख्यामप्रसाद लामिछाने, विषय विशेषज्ञ भुपेन्द्र चापागाई लगायतलाई प्रतिबादी बनाइएको छ । शिक्षक नियुक्तिमा विद्यालयका प्रधानाध्यापक ख्यामप्रसाद लामिछानेले आफ्नो भान्जी पर्ने बविता केसीलाइ शिक्षकमा नियुक्ति गर्न शैक्षिक क्षेत्रमा राजनीतिकरण गरेको आरोप छ ।
मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, मोदी ६का वडा अध्यक्ष विमल लामिछानेले राजनीतिक हस्तक्षेप गरी अनेरास्ववियू केन्द्रिय सदस्य अनमोल केसीकी श्रीमती वविता केसीलाइ नियुक्ति गर्न खोजेपछि अख्तियारमा उजुरी परेको हो । प्रावि तृतीय श्रेणीमा शिक्षक नियुक्ति गर्नको लागि २०७४।१२।१२ मा गरिएको विज्ञापन अनुसार शिक्षक नियुक्ति गर्नुको सट्टा एकलौटी रुपमा राजनीतिकरण गरेर विद्यालय व्यवस्थापन समितिलाइ कुनै जानकारी विनानै बैशाख १३ गते परीक्षा लिएको बताइएको छ ।
जसको नतिजा जेठ १ गते प्रकाशन गरिएको थियो । जस अनुसार अस्मीता मल्ल जिसी, विन्दु गौतम र बविता केसीको लिखितमा नाम निकाली जेठ ८ गते अन्तरबार्ता गरी वविता केसीलाइ नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाएपछि अहिले त्यसको व्यापक विरोध भएको छ ।
विद्यालयमा स्थानीय महिला तथा युवाहरुले विद्यालयमा ताला लगाइदिएका छन् ।
