Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 months ago

278




चन्द्रेश्वर शिवालयलाई धार्मिक पर्यटकीय गन्तब्य स्थल बनाउन महायज्ञ आयोजना
loading...
चन्द्रेश्वर शिवालयलाई धार्मिक पर्यटकीय गन्तब्य स्थल बनाउन महायज्ञ आयोजना

मल्लाज २ पुष । जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले सोमबार देखि शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञ सुरु भएको छ । पुष १२ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले चन्द्रेश्वर शिवालयको विकासका लागि समुदायले गरेको प्रयासलाई पालिकाको साथ र सहयोग रहने बताउनुभयो । 

चन्द्रेश्वर शिवालयसम्म सडक र पदमार्ग निर्माणमा गाउँपालिकाले सघाएको बताउदै अध्यक्ष मल्लले मल्लाज भगवती, पूर्णगाउँको बराह ताल, गुफा, गिद्धेश्वर मन्दिर र हिन्दु धर्मावलम्बिहरुको धार्मिक ग्रन्थ रामायणमा उल्लेखित कालञ्जर पर्वत, जलजला, धाईरिङको भुमे ठाकुर लगायत स्थानहरुको विकासका लागि पर्यटन गुरुयोजना बनाएको बताउनुभयो । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष कुल आचार्यले आफ्नो जन्मथलोको विकासका लागि सहयोग गर्न प्रवासीहरु तयार रहेको बताउँदै महायज्ञलाई एक लाख पचपन्न हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभयो । उहाँले बिदेशमा आर्जेको सिप, प्रबिधि र पुँजी आफ्नो ठाउँमा भित्र्याउन अनुकुल नीति काम गर्ने वातावरण र सुरक्षाको आवश्यकता रहेको बताउनुभयो । महायज्ञका प्रमुख वाचक पण्डित भिमनाथ पराजुलीले प्रशस्त सम्भावना भएर पनि जलजलाका धार्मिक स्थलहरु पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेका बताउनुभयो । 


ओझलमा परेको चन्द्रेश्वर शिवालयको प्रचारप्रसारका साथै नियमित पुजा सञ्चालन र पूर्वाधार निर्माणका लागि आयस्रोत जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर खत्रीले बताउनुभयो । महायज्ञ उद्घाटन कार्यक्रममा नेकपाका नेता लालबहादुर अधिकारी र नेपाली काँग्रेसका गाउँपालिका संयोजक चन्द्रबहादुर जिसीले जलजलाका धार्मिक पर्यटकीय स्थलहरुको एकिकृत विकासका लागि सरकारी निकाय र समुदाय सक्रिय बन्नुपर्ने बताउनुभयो । 

जलजला गाउँपालिका २ का वडा अध्यक्ष गोविन्द खत्री, वडा सदस्य भगवती जिसी, फड्के ढुङ्गा आधारभुत विद्यालयका प्रअ गोपालप्रसाद आचार्य लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर खत्रीको अध्यक्षता, चित्रराज रेग्मीको सञ्चालन र वडा अध्यक्ष तिलकबहादुर जिसीको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । महायज्ञ उद्घाटन अघि माझफाँट र लेकफाँटबाट चन्द्रेश्वर शिवालय मन्दिर सम्म कलशयात्रा गरिएको थियो । महायज्ञमा धार्मिक प्रवचनका साथै पुजापाठ, भजन पनि सञ्चालन हुने जनाइएको छ । 

माझफाँट र लेकफाँटको सिमा क्षेत्रमा अवस्थित चन्द्रेश्वर शिवालयमा ऋणी मुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको किम्बदन्ती छ । इश्वरानन्द, खड्ग, नारायण, नित्यानन्द, रामानन्द, लाल गिरी लगायतका ऋणीहरुले यस स्थानमा तपस्या गरेको जनाइएको छ । चन्द्रेश्वर शिवालय १६ रोपनी छ आना क्षेत्रफलमा फैलीएको छ । माझफाँट र लेकफाँटका पौडेल बन्धुहरुले शिवालयलाई जग्गा उपलब्ध गराएका थिए । भिरालो ठाउँमा अवस्थित मन्दिर परिसरमा धर्मशाला पनि छ । बेनी देखि मल्लाज हुदै पैदल हिडेर डेढ घण्टामा पुगीने यस स्थानबाट धौलागिरी हिमाल, बेनी बजार, म्याग्दी र मल्लाज क्षेत्रका बस्तीहरुको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।