Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1690




बुवाआमाको स्मृतिमा ५० लाखको भौतिक संरचना निर्माण
बुवाआमाको स्मृतिमा ५० लाखको भौतिक संरचना निर्माण

पर्वत नेपाल संवाददाता । पर्वतको एक गाउँमा दिवंगत बुवाआमाको स्मृतिमा ५० लाख रुपैयाँको भौतिक संरचना निर्माणमा सहयोग गरेका छन् । कुश्मा नगरपालिका ३ दुर्लुङ स्थित सूर्यप्रकाश माविमा स्थानीय रामकाजी गुरुङ, एकनारायण गुरुङ र कृष्णप्रकाश गुरुङले बुवाआमा कुलबहादुर र धनलक्ष्मी गुरुङको स्मृतिमा बिद्यालयको भवन निर्माण गरेका छन् भने फर्निचर व्यवस्थापन र अक्षयकोष समेत स्थापना गरेका छन् । 


गुरुङ परिवारले बिद्यालयमा तीनकोठे भवन बनाईदिएको प्रधानाध्यापक श्यामसुन्दर सापकोटाले जानकारी दिनुभयो । गत वर्षदेखि निर्माण सुरु गरिएको भवन विद्यालयको ३९ औं वार्षिकोत्सवका अवसरमा हस्तान्तरण गरिएको छ । उनीहरूले विद्यालय सञ्चालनका लागि १५ लाखको कुलबहादुर – धनलक्ष्मी स्मृति कोष समेत स्थापना गरिदिएका छन् । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउन प्रोजेक्टर , केही थान ल्यापटप र डेस्कटप कम्प्युटर समेत उपलब्ध गराएको सहयोगदाता रामकाजी गुरुङले बताउनुभयो । विद्यालयमा स्नातक तहका कक्षा सञ्चालन भए आफ्नो परिवारले थप सहयोग गर्ने गुरुङ परिवारले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 २०३६ सालमा स्थापना भएको विद्यालय प्रावि, निमावि हुँदै हाल माध्यमिक तहसम्म छ । कुलबहादुर विद्यालयका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । निकै संघर्ष गरेर विद्यालयलाई टिकाइराखेको भन्दै कार्यक्रममा सहभागीले उहाँको योगदानको स्मरण गरे ।

 विद्यालयलाई आगामी दिनमा क्याम्पस तहसम्मका कक्षा सञ्चालन गर्न सकिने भएकाले त्यसमा हातेमालो गर्न व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्माले आग्रह गर्नुभयो । दाताहरूले निर्माण गरिदिएको भवनको कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले उद्घाटन गर्नुभएको छ ।

 नवनिर्मित भवनको साँचो रामकाजी र एकनारायण गुरुङले प्रधानाध्यापक श्यामसुन्दर सापकोटा र विव्यस अध्यक्ष लेखनाथ शर्मालाई हस्तान्तरण गर्नुभएको छ ।

भौतिक संरचनाको उद्घाटन गदै नेपाली काँग्रेसका नेता गगन थापा 

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)