Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1756




कालीगण्डकी लोकमार्गको पुल अलपत्र
कालीगण्डकी लोकमार्गको पुल अलपत्र

कात्तिक ७, पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको देवीस्थान–कुर्घा खण्डमा पर्ने लमाए खोलाको पक्की पुल अलपत्र परेको छ । निर्माण कम्पनीको लापर्बाहीका कारण पुल अलपत्र परेको हो । खोलामा पुल बनाउन नयाँ बाटो गौचन जेभी कास्कीले सम्झौता गरेको थियो । कम्पनीले काम छोडेर सम्पर्कविहीन भएपछि पुलको काम अगाडि बढेको छैन ।


झण्डै ५ करोड १३ लाखको अनुमानित लागतमा पुल निर्माण हुने सम्झौता भएको थियो । मोटरेबल पुल २५ मिटर लामो र ११ मिटर चौडाइको रहेको छ । निर्माण कम्पनीले मोटरेबल पुलको काम गर्ने जिम्मा लिए पनि हालसम्म फाउण्डेशनको काम पनि शुरू गरेको छैन । २०७६ साल असारसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भए पनि पुलको निर्माण कार्य शुरू नहुँदा स्थानीय आक्रोशित भएका छन् ।


लोकमार्गको फलेवास नगरपालिकादेखि मोदीखोलासम्म ९ किलोमिटर सडक खनी सकिएको छ । यस खण्डमा पर्ने मोदीखोलाको पुलको आधा काम सकिएको छ । तर, लमाएखोलाको पुल भने शुरू नै भएको छैन । ‘पुल बनेको भए यो सडकमा गाडी गुडिसक्ने थियो,’ फलेवास–६ का वडाध्यक्ष भोलानाथ भुसालले भने, ‘पुल नबनेपछि लोकमार्ग नै अधुरो भयो ।’ १ वर्षअगाडि जिम्मा लिएको काम निर्माण व्यवसायीले शुरू नगर्दा आफूहरूलाई टाउको दुखाइ भएको वडाध्यक्ष भुसालले बताए । फलेवास–मोदीबेनी सडक खण्डमा दुईओटा पुल बनेमा लोकमार्गको पर्वतखण्ड छिचोलिने बताइएको छ ।


स्थानीयले गुनासो गरेपछि स्थानीय र जनप्रतिनिधिका साथै सांसद पदम गिरीले पुल निर्माण स्थलको अवलोकन गरेका छन् । सम्बन्धित निकायलाई तत्काल यस विषयमा ध्यानाकर्षण गराउने भन्दै आगामी मङ्सिरदेखि निर्माण कार्य अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)