Correspondent, ParbatNepal
7 years ago
1641
कात्तिक १२, पर्वत । समाजमा हुने अपराध न्यूनिकरण, सचेतना कार्यक्रम सञ्चालन र शान्ती सुरक्षालाई चुस्त बनाउन पर्वतमा समूदाय– प्रहरी कार्यक्रम शुरु गरिने भएको छ । प्रहरी र स्थान्ीय तहबिच कार्यक्रम कार्यान्वयन गर्ने बारेमा आईतवार छलफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिले सहमति पत्रमा हस्ताक्षर गरेर कार्यक्रम शुरु गर्न लागेका हुन् । समझदारी पत्रमा हस्क्षातर संगै जिल्ला प्रहरी कार्यालयले आज अन्तरकृया कार्यक्रम मार्फत साझेदारी कार्यक्रमको बारेमा जानकारी गराएको छ । कार्यक्रममा सहभागीहरुले समुदाय–प्रहरी अवधारणालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले सबै प्रकारका अपराध नियन्त्रणको काम प्रहरीले मात्रै गर्न नसक्ने भएकाले समुदायको सक्रियता र सहयोगमा मात्रै संभब हुने बताउनुभयो । उहाँले महिला र बालबालिकालाई सुरक्षित बनाउँदै समाजलाई अपराध रहित सभ्य समाजको रुपमा स्थापित गर्न सहकार्य दिर्घकाल सम्म जरुरी रहेको बताउनुभयो । उहाँले समुदाय सम्म सुरक्षाको अवधारणा पु¥याउँदा जनताले सुरक्षाको अनुभूति समेत गर्ने भएकाले अपराधीहरु निरुत्साहित बन्ने धारणा राख्नुभयो ।
सोही कार्यक्रममा बोल्दै फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले प्रहरीको एकल प्रयासबाट मात्र अपराध नियन्त्रण सम्भव नरहेको चर्चा गर्दै सामुदायिक सहयोग प्रहरीको सबैभन्दा ठूलो शक्ति रहेकाले पनि यस्तो अभियान सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रहरीले दबाब र भनसुनका आधारमा भन्दा कानुनका आधारमा काबार्ही गर्ने हो भने पनि धेरै अपराध नियन्त्रण हुने भएकाले यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नारालाई साकार पार्न प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा अभियान सुरु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । कार्यक्रमको बारेमा जानकारी दिदै तिवारीले शान्ति सुरक्षा कायम गर्ने दायित्व प्रहरी र स्थानिय तह संग संगै मिलेर गर्ने बिषय भएकाले यसलाई प्रभावकारी बनाउन सबैको हातेमालो गर्न खोजिएको हो भन्नुभयो ।
कार्यक्रममा स्थानिय तह, सामाजिक संस्था र सबै बिद्यालय तह सम्म सञ्जाल निर्माण भैसकेको र अब सहकार्यका आधारमा कार्यक्रम सञ्चालन हुने जानकारी उहाँले दिनुभयो । कार्यक्रममा प्रहरी निरीक्षक रबिन्द्रकुमार श्रेष्ठले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमलाई तल्लो तह सम्म लैजाने जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लाका सात वटै पालिकाका प्रमुख र प्रतिनिधी, अधिकाँश वडाका अध्यक्ष र सदस्यहरु, बिद्यालयका अध्यक्ष र प्रअ तथा बिभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी कृष्ण अखेलीले गर्नुभएको थियो ।
लोकगायक बिमलराज क्षेत्री र आरसी पौडेलले साँगितीक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।
