Correspondent, ParbatNepal
7 years ago
1601
कात्तिक १३, पर्वत । पर्वतको फलेवासका कृषकहरुले आफुहरुले उत्पादन गर्दै आएको मकैको बीउ स्थानीय स्तरमै बजारीकरणको व्यवस्था गरिदिन माग गरेका छन् । प्रधानमन्त्री आधुनिककरण कृषि परियोजना मकै जोनका कृषकहरुले मकैको बीउ बाहिरी जिल्लामा पठाउन भन्दा आफ्नै जिल्लामा विक्री वितरण गर्ने व्यवस्था गर्न सरोकारवालाहरुलाई आग्रह गरेका हुन् ।
मकै जोनका कृषकहरु, जोनका कर्मचारी, कृषि ज्ञान केन्द्रका प्रमुख एवं फलेवास नगरपालिकाका जनप्रतिनिधी सम्मिलित मकैको बजारीकरण सम्वन्धमा भएको अन्तरक्रियामा कृषकहरुले त्यस्तो माग गरेका हुन् । उक्त अवसरमा बोल्दै कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जिल्लाभित्र उत्पादन भएको मकैको बीउ स्थानीय स्तरमा विक्री गर्न सकेमा जिल्लाका कृषकहरुले राहात पनि पाउने र उत्पादन पनि बढ्ने राय दिनुभयो । त्यसका लागि कृषि ज्ञान केन्द्र, मकै जोन कार्यालय र फलेवास नगरपालिकाले कार्ययोजना बनाउनुपर्ने बताउनुभयो । स्थानीय तहले कृषकहरुको समस्या सबैभन्दा पहिले सम्बोधन गनुर््पर्ने उहाँले औल्याउनुभयो । उहाँले गुणस्तर मकैको उत्पादन गरेर उपलब्ध गराउन कृषकहरुलाई आग्रह गर्नुभयो । मकै जोनका कृषकहरुले आफुहरुले गतवर्ष विक्री गरेको मुल्यमा फरक नपर्ने गरि यसपाली पनि मकैको वीउ विक्री गर्ने व्यवस्था गरिदिन पनि माग गरे ।
गतवर्ष अरुण जातको मकैको बीउ प्रतिकिलो ६२ रुपैयाँ र मनकामना जातको मकै प्रतिकिलो ६० रुपैयाँमा विक्री भएको थियो । त्यस्तै कृषकहरुले बाँदर आतंक रोक्न पनि माग गरे । कार्यक्रममा बोल्दै मकै जोन फलेवासका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले कृषकहरुलाई मकै उत्पादनका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
बजारीकरणका लागि जोन कार्यालयले जुनसुकै दायित्व वहन गर्न पनि तयार रहेको कौडालले बताउनुभयो । कार्यक्रममा फलेवास नगरपालिका ४ मुडिकुवाका वडाध्यक्ष एवं प्रवक्ता टिकाराम गौँडेल र फलेवास नगरपालिका ८ का वडाध्यक्ष एवं नगरपालिकाका आर्थिक समितिका संयोजक मनवहादुर कुँवरले नगरपालिकाले कृषिलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । जोन एरियाका कृषकहरुका समस्या समाधानका लागि नगरपालिका तयार रहेको बताउनुभयो । उहाँहरुले ग्रेडिङ गरेको मकैको बीउ विक्री गर्न नगरपालिकाको तर्फबाट सहयोग गर्ने र कृषकहरुको श्रम अनुसार उचित मुल्य कायम गराउन तयार रहेको बताउनुभयो । कृषि विकास अधिकृत हेमशर्मा तिवारीले मकै जोन क्षेत्रमा यसवर्ष उत्पादन भएको मकैको बारेमा जानकारी गराउनुभयो ।
तिवारीका अनुसार यसवर्ष २५ मेट्रिकटन वीउ उत्पादन भएको छ । २७ हेक्टर क्षेत्रफलमा मकैको वीउ उत्पादन हुने गरेको छ भने १२५ जना कृषकहरुले मकै उत्पादन गर्दै आएको तिवारीले बताउनुभयो । मकै जोनका कृषकहरुका समस्या, सफलता र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा जोन सञ्चालक समितिका अध्यक्ष नरवहादुर क्षेत्रीले जानकारी प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मकै जोन कार्यालयका प्राविधिक सहायक राजु गौतमले गर्नुभएको थियो ।
