Correspondent, ParbatNepal
7 years ago
1960
मंसिर १, पर्वत । सामाजिक सुरक्षा भत्ताको २३ लाख रुपैयाँ हराएर कुख्यात बनेको विहादी गाउँपालिका फेरि एकपटक विवादमा आएको छ । सामाजिक सुरक्षाको रकम बाटोबाटै गायब भएपछि प्रहरीसम्म पुगेको यो मुद्धा भने रकम बुझ्न गएका सचिवबाट भरपाई गर्नेगरि मिलाईएको थियो । रकम कसले र कसरी लग्यो भन्ने विषयमा कुनै खोजीनीति भएको नै छैन् ।
रकम गायब प्रकरण पछि गाउँपालिका फेरि अर्को विवादमा परेको छ । स्थानीयका अनुसार विवादमा आउनुको कारण हो, कर्मचारी नियुक्ती । गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषाल नै ठाडो आदेशमा दल निकटका कर्मचारी नियुक्त गरेको आरोप लागेको छ ।स्थानीयका अनुसार स्थानीय तहको चुनावमा तत्कालीन एमालेबाट निर्वाचित भुषालको ठाडो दबाबमा गाउँपालिकाको वडा नं. ३ मा मध्यरातमा कर्मचारी नियुक्त गरिएको छ ।
गाउँपालिकाले असोज २ गते वडा नं. ३ रानीपानीमा कार्यालय सहायक पदमा कर्मचारी आवश्यकताको सूचना प्रकाशन ग¥यो ।साधारण लेखपढ गर्न सक्नेले आवेदन दिन सक्ने भनिएतापनि विज्ञापनमा शैक्षिक योग्यताको प्रमाणपत्र मागिएको थियो ।१५ दिनभित्रमा आवेदन दिनसक्ने गरि प्रकाशित विज्ञापनको लागि वडा नं. ३ का कक्षा ८, एसएलसी उत्तीर्ण सहित ४ जनाले उम्मेदवारी दिए । तर, शैक्षिक योग्यतालाई बेवास्ता गर्दै अध्यक्ष भुषालले बुधबार राती कक्षा ८ उत्तीर्ण उम्मेदवारलाई नियुक्त गरे, त्यो पनि कार्यालय समयभन्दा निकै अबेर राती साढे ९ बजे ।
स्थानीयवासीका अनुसार मध्यरातमा कर्मचारी नियुक्ती गर्नुको कारण भने अध्यक्षको राजनैतिक स्वार्थ रहेको थियो । नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘गाउँपालिका अध्यक्षकै दबाबमा कर्मचारी नियुक्त गरिएको हो । विज्ञापन त प्रक्रियामात्र थियो ।’ उनका अनुसार गाउँपालिकाले यसअघि पनि २ जना नजिकका मान्छेलाई करारमा नियुक्त गरिसकेका छन् ।
नेपाल सरकारले जारी गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ११ प्रशासकीय कर्मचारी व्यवस्थापनको दफा (८३) को उपदफा ७ बमोजिम कार्यालय सहयोगीसहित घोडे, माली इन्जिनियर लगायतका प्राविधिक कर्मचारी गाउँपालिका तथा नगरपालिकाले खुला प्रतिस्पर्धाका आधारमा सेवा करारमा पदपूर्ति गर्न सकिने व्यवस्था गरिएको छ । तर, करारमा राखिएका सबै कर्मचारी आफूखुशी भर्ना गरिएको छ ।
तर, गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालले भने, कर्मचारी नियुक्ती प्रक्रिया पु¥याएरै गरिएको प्रतिक्रिया दिए ।‘मेरो केही भूमिका छैन्, छनोट समितिले नै योग्य कर्मचारी नियुक्त गरेको हो ।’ उनले भने, ‘कसैको चित्त बुझ्छ कसैको बुझ्दैन यसमा मेरो त दोष हुन्न नि <’विज्ञापन गरेर नै आवेदन लिईएको उनले बताए । ‘विज्ञापन भनेको राजनीतिक नियुक्त होईन, यसको अधिकार ‘विज्ञापन भनेको राजनीतिक नियुक्त होईन, यसको अधिकार छनोट समितिलाई थियो, उसैले विवेक प्रयोग ग¥यो ।’ उनले प्रष्टाए ।
कर्मचारी छनोट समितिका संयोजक तथा गाउँपालिकाका प्रशासकीय अधिकृत ऋषिराम पन्थीले कर्मचारीलाई दोष आएको बताए । ‘यो सबै राजनीतिक तानातानले भएको हो, हामीले सबै प्रक्रियामै रहेर योग्य कर्मचारी छानेका हौँ, कार्यालय सहायकलाई लिखित अन्तर्वार्ता लिने भएपो कम योग्यताले पाउँदा धाँधली भयो भन्नु, मौखिक अन्तर्वार्ता हो जसले काम गर्न सक्छ जस्तो मान्यौँ, उसैलाई छान्यौँ ।’ उनले भने । दलीय खिचातानीका कारण कर्मचारी समस्यामा परेको उनको गुनासो थियो ।
