Correspondent, ParbatNepal
7 years ago
2636
पर्वत– पोखरादेखी पिपलटारीका अर्जुन खनाल आईतवार लालपुर्जाको चार किल्ला छुट्टाउन वडा कार्यालय पुगे
। विहान ९ बजे कार्यालय पुगेका खनाललाई वडाध्यक्ष सुजन वि.कले ११ बजे आउन आग्रह गरे । खनाल ११ बजे कार्यालयमा पुगे । कार्यालयमा ताला झुण्डिएरहेको थियो । कार्यालयमा सेवाग्राहीहरुको भीड थियो । अन्य सेवाग्राही पनि आउँदै फर्किदै गरेका थिए । दिउँसो २ बजेसम्म पनि कार्यालय कर्मचारी नआएपछि अन्य सेवाग्राही जस्तै खनाल त्यहाँवाट फर्के । यो त एउटा उदाहरण मात्र हो ।
वडा कार्यालयमा कर्मचारी नबस्दा सेवाग्राहीले दिनहुँ दुःख पाउने गरेका छन् । वडा कार्यालय खुलेको दिन पनि कर्मचारी विदा, फिल्ड तथा काजको बहानामा नआउने गर्दा शुक्रवार लगाएको ताला आईतवारसम्म खुलेको थिएन । शुक्रवार अर्ध्बिदा, शनिवार साप्ताहिक विदाका कारण दुईदिन पछि आईतवार आएका सेवाग्राहीको चाप कार्यालय परिसरमा निकै थियो । सेवाग्राहीको आशाविपरीत वडा कार्यालयमा न त वडाध्यक्ष थिए न त सचिव न कार्यालय सहयोगी नै देखिन्थे । आईतवार अबेरसम्म वडा कार्यालयमा शुक्रवार लगाएको ताला झुण्डिएकै देखिन्थ्यो ।
कुश्मा नगरपालिकाले सेवाग्राही मैत्री सेवा दिएको दाबी गरे पनि नागरिकले वडा कार्यालयमा कर्मचारी सास्ती खेप्नुपरेको छ । ‘यहाँ कर्मचारी कतिबेला आउँछन् , जान्छन् पत्तै पाईदैन स्थानीयले भने, ‘वडाध्यक्ष, सचिव र कार्यालय सहयोगी मध्ये एक जना बसेपनि नागरिकले दुःख पाउने थिएनन् ।’‘सेवाग्राही आफ्नो कामै छोडेर आउँछन्, जनप्रतिनिधी जिम्मेवारी भएको भए यस्तो दुःख पाउनुपर्ने थिएन’, उनीहरुले भने ।
स्थानीय तहको निर्वाचन पछि वडाको जिम्मेवारी पाएका वडाध्यक्ष सुजन वि.क कार्यालयमा उपस्थित नै नहुने गरेको स्थानीयको भनाई छ । उनको कुश्मामा सुनचाँदी पसल छ । प्रायजसो उनी त्यही भेट्टिन्छन् । कहिलेकाँही वडामा उपस्थित हुन्छन् । अन्य बेला आफ्नै पसलमा भेट्टिन्छन् । वडा कार्यालयका सहयोगी सुर्दशन तिवारी आफु विदामा बसेको जानकारी दिए । ‘मैले सबैलाई जानकारी दिएर विदामा बसेको छु, अन्य कुरा केही थाहा छैन, उनले भने ।’ यता वडाध्यक्ष सुजन वि.कले भने आईतवार कार्यालय बन्द भएकोे स्विकार गरे । उनले भने,‘वडाको नगरपालिका र विद्युत प्राधिकरणमा काम थियो । सचिवको परिक्षा भएका कारण उहाँ पोखरा हुनुहुन्छ । त्यो दिन गल्ती भएको स्विकार गदै आगमी दिनमा यस्ता गल्ती नदोह्रोराउने प्रतिवद्धता व्यक्त गरे । ’ सधै कार्यालय समयमा कार्यालय बन्द नहुने गरेका दावी गर्दै अध्यक्ष वि.कले एक दिन काम परेकोले यो अवस्था आएको बताएका छन् । ‘सेवाग्राहीलाई जुनसुकै समयमा पनी सेवा दिइरहेको छौँ ।’
स्थानीय जनप्रतिनिधि आइसकेपछि सर्वसुलभ तथा छिटो छरितो सेवा सुविधा पाउने आस गरेका नागरिक भने जनप्रतिनिधिको कामप्रति असन्तुष्ट देखिएका छन् । केन्द्रको सिंहदरबार गाउँघरमै पाउने आस गरेका सर्वसाधारण नागरिकलाई भने त्यो आभास हुन सकेको छैन् । केन्द्रको सिंहदरवार गाउँमै आउनु त टाढाको कुरा हो तर पनि पर्वतका वडा कार्यालय कार्यालय समयमा समेत बन्द अवस्थामा भेटिने गरेका छन् ।
