Correspondent, ParbatNepal
7 years ago
1589
मंसिर ६ पर्वत ।
कालीगण्डकी नदीमाथी बन्दै गरेको बन्जिजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका स्थित साविकको नारायणस्थान गाविस जोड्नेगरी कालीगण्डकी माथि वन्जि निर्माण भैरहेको छ । सबै संरचना निर्माणको काम अन्तिम चरणमा पुगेका लगानीकर्ताहरुले जनाएका छन् ।
निर्माणको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अहिलेसम्म करिब ८० प्रतिशत काम सकिएको र तीन महिनाभित्र निर्माण पूरा हुने बताएको छ । प्यारामाउन्टका कम्पनीका मनोजकुमार चौधरीका अनुसार अहिले पहिलो चरणमा लेडर स्टेप निर्माणको काम दुई महिनामा सकिने छ । त्यसपछि एक महिनामा बञ्जीका लागि आवश्यक स्टीलका कामहरु हुनेछन । ‘अहिलेसम्मको काम अनुसार ८० प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘निरन्तर काम गर्न पायौँ भने तीन महिनामा काम सकेर लगानीकर्तालाई जिम्मा लगाउन सकिन्छ ।’ ५२० मिटर लामो र २२८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुलसहित कालीगण्डकीको खोंचमा बागलुङको नारायणस्थान र पर्वतको कुश्मा जोड्ने गरी बनाइएको पुलमा बन्ने यो बन्जी मुलुककै अन्य बन्जी स्पटमध्ये नमुना मानिएको छ ।
२०७३ बैशाखमा निर्माण सुरु भएको बञ्जी जम्पसँगै पर्यटकहरुलाई थप आकर्षणका लागि स्काइ साइक्लिङ, स्वीङ र रिसोर्ट समेत सञ्चालनको तयारी भैरहेको छ। कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी, सिन्धुपाल्चोकका राजु कार्की, फ्रेन्च नागरिक फ्लोरेन्स र प्रभु बैंकको लगानीमा बञ्जी जम्प निर्माण भैरहेको हो । लगानीकर्तामध्ये नेत्र पराजुलीका अनुसार यसका लागि अहिलेसम्म झण्डै १२ करोड रुपैयाँ लगानी भएको छ भने पाँच करोड रुपैयाँ प्रभु बैंकले लगानी गरेको छ ।
साहसिक पर्यटनमा रुची राख्ने पर्यटकलाई लक्षित गरि बनाउन थालिएको बन्जिजम्प पर्वतको चिनारी हुने लगानीकर्ता मध्येका यूवराज जोशीले बताए । जोशीका अनुसार बञ्जी जम्पमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा रिसोर्ट संचालनको लागि संरचना निर्माण काम भैरहेको छ । तीन ओटा नेपालकै अग्लो र लामा् झोलुङ्गे पुल र केबलकार मोडलको यान्त्रिक पुलका कारण पर्यटकहरुको आकर्षण बढ्दै गएको पर्वतमा बञ्जी जम्पले झनै आकर्षण बढाउने र पर्यटकीय जिल्लाको रुपमा चिनाउन सकिने जोशीले बताए । उनका अनुसार बञ्जी, स्काई साइक्लिङ र स्वीङमा मात्रै वर्षमा कम्तीमा पनि पचास हजारभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको छ । ‘ स्काई साईकिलिङ बनाएर परिक्षण भैसक्यो, जोशीले भने,’साईकिलिङ सफल भयो ।’
बन्जिजम्प निर्माण पछि पर्वत र बागलुङ जिल्ला पर्यटकको मुख्य आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले बन्जिजम्प बनेपछि पर्वतको व्यापार, व्यवसायमा टेवा पुग्ने बताए । उनले पर्यटनको माध्यमबाट जिल्लालाई समृद्ध बनाउन बन्जिजम्प फलदायी बन्ने विश्वास व्यक्त गरे ।
