Correspondent, ParbatNepal
7 years ago
1384
मंसिर ६, पर्वत । जिल्लाको विकास र नागरिकहरुलाई दिने सेवामा जिल्ला प्रसासन कार्यालयको भूमिका चुस्तदुरुस्त बनाउन पर्वतका पत्रकारहरुले सुझाव दिएका छन् । बुधवार प्रमुख जिल्ला अधिकारीले आव्हान गर्नुभएको पत्रकार सम्मेलनमा पत्रकारहरुले त्यस्तो सुझाव दिएका हुन् ।
पत्रकारहरुले स्थानीय तहमा कर्मचारीको अभाव रहेको, स्थानीय तहको खर्च पारदर्शी नभएको, जिल्लाका कार्यालयको कामकारवाहिमा पारदर्शिताको अभाव भएको लगायतका गुनासो गरेका छन् । त्यस्तै संघ, प्रदेश र स्थानीय सरकारका विचमा रहेको दुरी कम गर्न प्रसासन कार्यालयले भूमिका खेल्नुपर्ने पनि सुझाव उनीहरुले दिए ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले राष्ट्रिय गौरवका आयोजनाको प्रगती सूस्त रहेको, बजेटको भ्योलुम ठुलो भएपनि काम सानो भएको, प्रदेश मातहत गठन भएका कार्यालयको कारवाहि गुमनाम भएको जस्ता गुनासो गर्नुभयो । पत्रकार महासंघका पूर्व अध्यक्ष एवं रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले असारे विकासको प्रवृति रोक्नुपर्ने बताउनुभयो । अनुगमन र मुल्याकंनमा जोड दिनुपर्ने घायलले बताउनुभयो ।
घायलले जिल्लामा विगतमा सञ्चालन भएका खुल्ला दिशामुक्त, खोपयुक्त, पूर्ण साक्षर जस्ता अभियानको निरन्तरतामा पनि ध्यान दिन सुझाव दिनुभयो । पत्रकार महासंघका पूर्व अध्यक्ष दुर्गाप्रसाद शर्माले विकास बजेट खर्च नहुने समस्या अहिले पनि देखिएको बताउनुभयो । उहाँले उपभोक्ता समितिको नाममा कामै नगरि जथाभावी वजेट निकाशा दिँदा अनियमितता मौलाएको आशंका गर्नुभयो ।
कार्यक्रममा उठेका जिज्ञाशा र सुझावको बारेमा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पत्रकारहरुले दिएका सुझाव गहन रहेको बताउँदै सुझावलाई आत्मासाथ गर्ने बताउनुभयो । उहाँले कार्यालय प्रमुखहरुको बैठकमा सुझाव उपर छलफल गरि कमजोरी सच्चाउन निर्देशन दिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्थानीय तहमा देखिएका समस्यालाई समाधान गर्न पनि सहजीकरण गर्ने ढकालले बताउनुभयो ।
