Correspondent, ParbatNepal
7 years ago
1538
मंसिर ९, पर्वत । रोपाईको बेला मनसुनले राम्रै साथ दियो । यसपटक असारदेखि असोजसम्म किसानलाई मनसुन सोचेभन्दा पनि राम्रो भयो । किसानको धानबाली राम्रो सँग सप्रियो । किसान खुशीले प्रफुल्ल थिए ।तर किसानको सपनामा एकाएक तुसारो पलायो ।
सप्रिएको धानमा मुसा यतिबिघ्न लाग्यो कि किसानले सञ्चोले भित्राउन पनि पाएनन । सिल्मी, कटुवाचौपारी, शंकरपोखरी, खुर्कोट र देउपुरलगायत जिल्लाका अधिकांश फाँटमा मुसाले धान बालीमा निकै क्षति पु¥याएपछि किसान चिन्तित छन । बाला काटेर लडाउने, धान समेट्नै नमिल्ने गरी प्वाल प्वालमा र्पुयाउने मुसाको चकचकले आजित किसानले नियन्त्रण र क्षतिपूर्तिका लागि जिल्ला प्रशासनमै गुहार लगाएका छन ।
अघिल्ला वर्षहरूमा २५ मुरी धान फल्दै आएको खेतबाट यसपटक वर्ष ७ मुरीमात्रै भित्र्याउन पाएको सिल्मीकी राधिका नेपालीले बताइन । ‘सधैं २४र२५ मुरी धान हुलिन्थ्यो,’ उनले भनिन, ‘योपल्ट मौसम राम्रो भएकाले धान धेरै हुन्छ भन्नेमा थियौं, मुसाले सखापै पारेछ । सिला टिपेर ७ मुरी र्पुयाइयो ।’ वर्षभरि खाने मुख्य बालीमा मुसा लागेपछि परिवार पाल्नै पिरलो भएको उनले बताइन । सिल्मीकै मणिलाल पौडेलले १५ मुरी धान फल्ने खेतबाट योपल्ट ६ मुरी मात्रै धान भित्र्याएको बताए ।
पर्वतमा धान खेतीको मुख्य पकेट क्षेत्र मानिएको कुश्मा–९ कटुवाचौपारीको फाँटमा पनि मुसाले हैरान पारेको किसानले बताएका छन । अनुकूल मौसम भएर उत्पादन बढ्ने आशामा बसेका किसान मुसाले धान सखाप पारेपछि निराश छन् । ‘अहिले मौसम राम्रै र्पयो, धान बढ्ने भयो भन्ने ठूलो आशा थियो,’ शंकरपोखरीका शिवनारायण शर्माले भने, ‘काटेर थन्क्याउने बेलामा भएको जाँगर पनि सेलायो । अब वर्षभरि के खाने ?’ शंकरपोखरीमा भने मुसासँगै बाँदरले पनि धान खाएर नष्ट गरेको किसानले बताए ।
किसानले मुसा निर्मुल पार्ने उपाय र तत्काल बालीमा भएको क्षतिपूर्ति माग गर्दै प्रमुख जिल्ला अधिकारी र नगरप्रमुखलगायतलाई ज्ञापनपत्र बुझाएका हुन्। किसानको ज्ञापनपत्रपछि नगरपालिका र कृषि ज्ञानकेन्द्रका पदाधिकारीले स्थलगत अनुगमन गरेको जनाएका छन् ।
