Correspondent, ParbatNepal
7 years ago
1469
मंसिर १९, पर्वत । विश्व विख्यात कथाबाचक ईश्वरकृष्ण महाराजले पर्वतमा विश्वकै अग्लो शिवपार्वतीको मुर्ती बनाई छोड्ने संकल्प गर्नुभएको छ ।
मंगलवार पर्वतको कुश्मामा ऐतिहासिक गुप्तेश्वर धार्मिक मेला कोटीहोम, तुलादान तथा शिवपूराण विराट महायज्ञ सञ्चालक समितिले गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले पर्वतमा शिवपार्वतीको मुर्ति बनाउनका लागि कुनै समस्या नहुने बताउनुभयो ।
उहाँले स्वतस्फूर्त रुपमा रकम संकलन भैरहेको र भगवानको कृपाले सहयोग थपिँदै जाने बताउनुभयो । पर्वतलाई देशकै एक धार्मिक गन्तव्य बनाउन जिल्लाबासीहरुले देखाएको उदारतालाई उहाँले निकै प्रसंसा गर्नुभयो । कार्यक्रमको तयारीका बारेमा वुझन कुश्मामा आउनुभएका ईश्वरकृष्णले पर्वतबासीहरुलाई जतिसक्दो बढि सहयोग गर्न आव्हान गर्नुभएको थियो ।
यज्ञ सञ्चलन समितिका अनुसार शिवपार्वतीको मुर्ती बनाउन अहिलेसम्म ४५ लाख रुपैयाँ नगदको वचन आएको छ । यज्ञ सञ्चालन गरि १० करोड संकलन गर्ने समितिको लक्ष्य रहेको जानकारी दिईएको छ । स्वतस्फूर्त रुपमा सहयोग आईरहेको र यसका अलवा ५ हजार १ सय बढिलाई तुलादान, एक लाख रकम दान गरि १ सय ५१ संस्थापक बनाउने जस्ता अभियान पनि चलिरहेको छ । पहिलो वर्ष जेठ १ गतेदेखि ११ गतेसम्म कार्यक्रमको आयोजना गरिएको छ ।
अर्को वर्षवाट वैशाख १ देखि ११ गतेसम्म सञ्चालन गरिने भएको छ । हरेक वर्ष यज्ञ सञ्चालन गर्ने दिर्घकालिन लक्ष्यका साथ समिति अगाडी बढेको ऐतिहासिक गुप्तेश्वर धार्मिक मेला कोटीहोम, तुलादान तथा शिवपूराण विराट महायज्ञ सञ्चालक समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पर्वतलाई चिनाउन यो धार्मिक मेला फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रसासनको तर्फबाट आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
अध्यक्ष पृथ्वीनारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव अच्यूत तिवारीले गर्नुभएको थियो ।
