Correspondent, ParbatNepal
7 years ago
1543
मंसिर २१, पर्वत । मार्ग कृष्ण चतुर्दशीका दिन बिहीबार मृतक आफन्तको आत्माले बैकुण्ठबास गरोेस् भन्ने कामनाका साथ आज पर्वतका विभिन्न शक्तिपिठमा सातथरीका बीउ छरेर बालाचतुर्दशी पर्व मनाइँदैछ । बालाचतुर्दशीका अवसरमा पर्वतका धार्मिकस्थलमा सत्बिज छर्नेको बिहानैदेखी भक्तालुहरुको घुईचो लागेको छ ।
कुश्माबजारको गुप्तेश्वर गुफा र कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा विशेष मेला लागेको छ । बालाचतुर्दशीकै अवसरमा दक्षिण पर्वतमा रहेको विश्वकै ठुलो शालिग्राम शिला, पर्वत, कास्की र स्याङजाको सिमानामा रहेको पञ्चासे, डहरे देउराली लगायतका स्थानमा पनि बिहानै देखि सत्बीज छर्नेको घुँइचो लागेको छ । त्यस्तै मोदीवेणी दिव्य धाममा पनि बालाचतुर्दशीको अवसरमा विशेष मेला लागेको छ ।
मेलामा भजन कृतन तथा नाचगान भैरहेको छ । शिव मन्दिरहरुमा हरेक वर्षको बालाचतुर्दशी, शिवरात्री, रामनवमी, साउन महिनाभर पुजाआजा हुने गरेको छ । बालासुर नामका व्यक्तिले मानिसको मासु खान थालेपछि उनकै मितद्वारा असुरको बध भएको र दुनियाँलाई सुख मिलेको कथा प्रसङ्ग यो दिनसँग जोडिएको छ ।
मितको हत्या गरेर भौँतारिएका हत्यारालाई महादेवले मृगस्थलीमा सत्वीज छरेमा दोष टर्छ भनेकाले यो दिन सत्वीज छर्न थालिएको भनिन्छ । धान, मकै, कोदो, गहुँ, रायो, सस्र्युँ र मास वा आफूखुशी सङ्ग्रह गरिएका सात् थरी बीउ यो दिनमा छरिन्छ ।
आशौच बारेकाले सत्वीज छर्ने र आशौच चोख्याएकाले महादीप बाल्ने चलन छ ।
