Correspondent, ParbatNepal
7 years ago
2206
मंसिर २५, पर्वत । पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक भवन निर्माण सुरु भएको छ । सोमबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त भवनको शिलन्यास गर्नुभयो ।
जिल्ला अस्पतालको नयाँ भवन २१ करोड १३ लाख ६२ हजार नौ सय ३९ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । ५० शैया र अत्याधुनिक सुबिधा सहितको भवन ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । भवन पर्वत अस्पतालका तत्कालिन अध्यक्ष राधाकुमारी क्षेत्रीको विशेष पहलमा परेको थियो । उहाँले आफु अध्यक्ष नियुक्त भएदेखि नै पर्वत अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि सक्रियता देखाउँदै आएकी थिइन ।
हालसम्म पर्वत अस्पताल दशकौअघि निर्माण भएका जिर्ण भवनमा सञ्चालन हुँदै आएको छ । श्याम सुन्दर÷गोर्खा जे.भी.ले ०७७ पुस २७ गतेसम्म नयाँ भवन निर्माण गरिसक्नुपर्ने समय तोकिएको छ । शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत निर्माण हुन लागेको भवन समयमै सम्पन्न हुनुपर्ने जिल्लाबासीको माग रहेको छ ।
पर्वतमा बर्षौदेखि योजना परेपनि समयमा निर्माण नभएका थुप्रै योजना रहेका छन् । विशेषगरी पक्की पुल, सडक कालोपत्रेको काम समय घर्किसक्दा पनि जिल्लामा निर्माण पुरा हुन सकेका छैनन् । पर्वत गृहजिल्ला भएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सदस्य पदम गिरी, गण्डकी प्रदेशका मन्त्री विकास लम्साल, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आफ्नो यो कार्यकालमा पर्वतका हरेक वडा जोडिने मुख्य सडक कालोपत्रे गर्ने दाबी गर्दै आएपनि विगतको योजना समयमा सम्पन्न नहुने समस्याले पर्वतबासीले विश्वास गर्न सकिरहेका छैनन् ।
योजना पार्नुभन्दा पनि समयमा सम्पन्न नहुनु पर्वतमा भित्रिने योजनाको मुख्य समस्या रहेको छ । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पनि योजनाको काम समयमै सम्पन्न हुनुपर्ने बताउनुुभयो । उहाँले समयमा योजनाको निर्माण कार्य पुरा नगर्ने निर्माण ब्यबसायीलाई कारबाही गर्नसमेत आग्रह गर्नुभयो । ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेको भन्दै उनले समयमा काम नगर्ने निर्माण ब्यबसायीलाई कारबाही गर्नैपर्ने बताउनुभयो ।
पर्वत अस्पतालमा निर्माण गर्न लागिएको अस्पताल भवन सबैभन्दा ठुलो सरकारी संरचना भएका कारण यसलाई तोकिएको समय भन्दा एक महिना भएपनि अघि सक्न निर्माण ब्यबसायीलाई उहाँले आग्रह गर्नुभयो । भवन शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य डा.चुडामणी शर्मा, नेकपाका नेता केशव कुँवर, शहरी विकास तथा भवन विभाग पोखराका प्रमुख नारायण भण्डारीलगायतले भवन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
