Author
समीर रेग्मी
समीर रेग्मी

Contributor, ParbatNepal

7 years ago

2009




बागलुङ बजारदेखि पाङ्ग जोडने नेपालकै अग्लो पुल बनाउँन अर्थको स्वीकृती
बागलुङ बजारदेखि पाङ्ग जोडने नेपालकै अग्लो पुल बनाउँन अर्थको स्वीकृती

बागलुङ, २४ मंसिर
बागलुङ र पर्वतको पाङ जोड्ने मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । मुलुककै सबैभन्दा लामो हुने उक्त पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि अर्थमन्त्रालयले सहमति दिएसँगै पुल निर्माणको काम सुरु भएको हो ।
बागलुङ नगरपालिका वडा नं. १ रामरेखा र कुश्मा नगरपालिका वडा नं. १ पाङ अदुवावारी जोड्नेगरी निर्माण गर्न लागिएको पाँच सय ६७ मिटर लामो र एक सय ६० मिटर अग्लो पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया अगाडि बढेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख कुमार थापाले बताउनुभयो ।
२०५९ सालदेखि पुल निर्माणको चर्चा चलेपनि लामो दुरी भएकाले लठ्ठा तान्न समस्या हुने भन्दै अध्ययन प्रक्रियामै रोकिएको थियो । बागलुङ नगरपालिकाले उक्त स्थानमा पुल बनाउँने सक्रियता देखाएसँगै सस्पेन्सन ब्रिज डिभिजनले पुनः सर्वे गरेर पुल निर्माणको कामलाई अगाडि बढाएको थापाले बताउनुभयो । तीन महिना अगाडि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले पुनः सर्वेक्षण गरी पुल निर्माणमा आवश्यक लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो ।
अर्थ मन्त्रालयले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिद गर्न ४० लाख रुपियाँ बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया सुरु भएको प्रमुख थापाले बताउनुभयो । ‘हामीले यही पुल निर्माण गर्ने भनेरै लठ्ठा तान्ने मेसिन खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेका थियौं, अर्थ मन्त्रालयले बजेट स्वीकृतपछि मेसिन खरिद र निर्माणको प्रक्रिया एकसाथ अगाडि बढाउँने सोंच बनाएका छौं ।’ थापाले भन्नुभयो ।
बागलुङ बजारदेखि नजिकै देखिने पाङको अदुवावारीसम्म पुग्नका लागि ठूलो खोंच क्रस गरेर हिड्नेपर्ने बाध्यताको अन्त्य गर्नका लागि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । बागलुङ बजारसँग व्यवसायीक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका केही वडा र जलजला गाउँपालिकाका केही वडावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्नेगरी पुल निर्माणका लागि केन्द्र सरकारलाई यस अगाडिनै दवाव दिइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
बागलुङ नगरपालिकाको तर्फबाट पटक पटक पुल निर्माणका लागि दवाव दिएपनि प्रविधि अभावका कारण पुल निर्माणको काम अगाडि बढ्न नसकेकोमा अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेपछि पुल निर्माणको प्रक्रिया अगाडि बढ्ने पौडेलले बताउनुभयो । ‘हामीले यहाँ पुल निर्माण गर्ने विषयमा सम्बन्धीत सबै निकायलाई झक्झकाइरहेका थियौं, अर्थमन्त्रालयबाट लठ्ठा तान्ने प्रविधि खरिदका लागि बजेट स्वीकृत गर्नका लागि पटक पटक दवाव सिर्जना गरेपछि सफल भएका छौं, अबको केही समयमा पुल निर्माणको प्रक्रिया अगाडि बढ्छ ।’ पौडेलले भन्नुभयो ।
कालिगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिक माथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । २०५९ सालमा पाँच करोड ८४ लाख रुपियाँ लागत अनुमान गरिएको उक्त पुल निर्माणका लागि करिब १० करोड रुपियाँ खर्च हुने सस्पेन्न ब्रिज डिभिजन कार्यालयका इन्जिनियर बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

    -Khabarway

NA
सम्बन्धित समाचार (जिल्ला )