Correspondent, ParbatNepal
7 years ago
12280
साजन परियार, पर्वत । सपनाको पोको बोकेर विदेश उडेका यहाँका एक युवा रोगले थलिएर स्वदेश फर्किएका छन् । गाउँमा राम्रो घर बनाउने, छोराछोरीलाई राम्रो स्कुल पढाउने र श्रीमतीलाई सुख सयल दिने सपना बोकेर दुई बर्ष पहिले मलेसिया उडेका कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका बिष्णु परियार अहिले जिवन रक्षाका लागि याचाना गरेका छन् । दुबै मृगौला फेल भएपछि उनको परिवार अहिले पीडामा छटपटाईरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी ऋण खोजेर विदेश गएका थिए । दुवै मृगौलामा समस्या देखा परेपछि परियार नेपाल फर्किएका थिए ।
घरका उनी जेठा छोरा हुन् । परिवारको मुख्य जिम्मेवारी उनको काँधमा थियो । आफ्नो बालबच्चा र श्रीमतीलाई हेर्नु त उनको दायित्व नै थियो । डाँडा माथिका घाम जस्तै भएका बुवाआमालाई औषधी उपचार र लालनपालन गर्नु उनको कर्तव्य थियो । कमाउने मान्छेनै अहिले रोगले थला परेर अस्पतालमा भर्ना परेपछि उनको परिवारमा ठूलो संकट परेको छ ।
विगत २ महिनादेखि उनी अस्पतालमा उपचार गराइरहेका छन् । उनका बुवा डिलबहादुर दमाईले आफ्ना मृगौला दिएर छोरालाई बचाउँछु भन्दा पनि प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन नसक्दा समस्या परेको दुखेसो गरे ।
डिलबहादुरले भने ‘मेरा मृगौला दिएर छोरालाई बचाउँछु भन्दा पनि पैसाको अभाव भयो । आर्थिक अवस्था कमजोरका कारण छोराको उपचारमा समस्यामा देखियो । कसैले सहयोग गरेमा मेरो छोराले पुर्नजन्म पाउने थियो ।’ ‘हामी त्यसै दुखी थियौँ । भगवानले पनि हामी झन् दुःख थपिदिए –दमाईले भने ।’
परियारलाई सहयोग गर्न चाहानेले गण्डकी विकास बैंकको खाता नं ००७०१७०००२९४२१०००००१ मा रकम जम्मा गरेर आर्थिक सहयोग गर्न सक्नेछ । जीवन बचाउको लागि हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं ।
