Correspondent, ParbatNepal
7 years ago
1438
पर्वत– गण्डकी प्रदेशको योजना आयोगसमक्ष पर्वतका स्थानीय तहले हरेक स्थानीय सरकारका केन्द्र जोड्ने सडक कालोपत्रे हुनेगरी योजना बनाउन आग्रह गरेका छन् ।
प्रदेश योजना आयोगले प्रस्ताव गरेको आवधिक पञ्चवर्षीय योजनाको सुझाव संकलनका क्रममा स्थानीय तहका प्रमुखले सडक, विद्युत्, पर्यटन र कृषिमा लगानी बढाउन उचित हुने भनाइ राखे ।
पञ्चवर्षीय योजनामा समावेश गर्ने योजनाहरूको सूची बनाउन जिल्लागत सुझाव संकलनका क्रममा पर्वतमा आयोजित कार्यक्रममा स्थानीय तहका केन्द्र जोड्ने सडक कालोपत्रेलाई मुख्य योजनामा समावेश गर्न सबै प्रमुखहरूले सुझाए ।
फलेवास, महाशिला र पैयुँ जोड्ने सडक कालोपत्रे हुँदा जिल्लाकै समृद्धिको आधार बन्छ,’ फलेवासकी उपप्रमुख मञ्जु अधिकारीले भनिन्, ‘फलेवासको केन्द्रसम्म कालोपत्रे भएको छ । अब महाशिला–पैयुँ हुँदै विहादी जोडेर फलेवाससम्म ल्याउनेगरी योजना बनाउनुपर्यो ।’ महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले हरेक विकासका योजना केन्द्र र प्रदेश सरकारको बाटो हेर्दा समय लाग्ने बताए ।
कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछानेले अग्ला पुल, निर्माणाधीन बन्जी जम्प, जलविद्युत्, प्राकृतिक गुफा र ऐतिहासिक धार्मिक क्षेत्रहरूले कुश्माको समृद्धिको खाका कोर्ने बताइन् । उनले प्रदेश मन्त्रालयले स्थानीय तहका योजनामा सहयोग गर्नुपर्ने बताइन् ।
सहभागिलाई गण्डकी प्रदेशको समग्र अवस्थाका बारेमा जानकारी दिइएको थियो । प्रदेशले अख्तियार गरेका योजनाहरूका बारेमा जानकारी दिएर जनप्रतिनिधि, प्रशासकीय प्रमुखहरू र अन्य सरोकारवालासँग सुझाव लिइएको प्रदेश योजना आयोगका उपाध्यक्ष डा। गिरिधारी शर्मा पौडेलले जानकारी दिए ।
उनले प्रदेशका ११ वटै जिल्लाका सरोकारवालासँग पञ्चवर्षीय योजनामा समेट्न सकिने योजना संकलन गरिने बताए । गरिबी निवारण, पुँजी निर्माण र लगानी, पर्यटन, उद्योग र औद्योगिक स्रोत, सहकारी, खाद्यान्न तथा फलफूल उत्पादन, पशुपालन, ऊर्जा, वन तथा वातावरण, सडक, सिँचाइ, खानेपानीलगायत २७ शीर्षकमा सुझाव संकलन गरिएको छ । कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्रोत र क्षमताले भ्याउने खालका योजनाहरू छनोट गर्नुपर्ने सहभागीले सुझाए ।
