Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1515




बोलेका कुरा पुरा हुन्छन्’, ‘गिरी’, अधिकार नपाए बिकास असंभव,‘मल्ल’
बोलेका कुरा पुरा हुन्छन्’, ‘गिरी’, अधिकार नपाए बिकास असंभव,‘मल्ल’


माघ १ पर्वत । हिमशिखर युवा क्लव जलजला ६ शालिजा पर्वतद्वारा आयोजना गरिएको माघे संक्रान्ति मेला २०७५ को प्रतिनिधिसभा सदस्य पदम गिरीले आज एक समारोहका बीच उदघाटन गर्नुभयो । मेला उदघाटन पछि बोल्दै प्रतिनिधिसभा सदस्य गिरीले जलजलालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्न पहल गरेको दावी गर्नुभएको थियो । 

गिरीले देशकै कान्छो सांसद भएर आफू सिंहदरबार भित्र छिरेको बल्ल एकबर्ष भएकोले चुनाबअघि आफूले जनताका बीचमा गरेका बाचा र प्रतिवद्घताहरू पुरा गर्न नसकेको स्वीकार गर्नुभयो । सांसद गिरीले देशमा तीनतहको सरकारबाट बिकास र समृद्धिका लागि एकैसाथ काम अघि बढाएको वताउँदै जलजलाको कृषि र पर्यटनलाई विकास गर्नसके यो क्षेत्रको समृद्घि पुरा हुने दावी गर्नुभयो । 

उहाँले अब आउने चारबर्षभित्र जनताले महशुस गर्नेगरि विकास हुने विस्वास दिलाउनु भएको थियो । सांसद गिरीले जलजलाको विकासका लागि अर्थमन्त्री, पर्यटन मन्त्री र भौतिक योजना मन्त्रीलाई हम्पालमा ल्याएर जलजलाको वृहत पर्यटन गुरूयोजना बनाएर पर्वतकै समृद्घिलाई निष्कर्षमा पुर्याउने प्रतिवद्घता जनाउनु भएको थियो । 

सांसद गिरीले रेल आउने कुरा र पानीजहाज चल्ने कुरा कुनै जोक नभएर छिट्टै यथार्थमा परिणत हुने दावी गर्नुभयो । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले स्थानीय सरकारले स्वतन्त्र ढंगले काम गर्ने वातावरण नबनुञ्जेलसम्म गाउँ गाउँमा सिहदरबारको नारा निरर्थक सावित हुने दावी गर्नुभएको थियो । 

अध्यक्ष मल्लले जलजला गाउँपालिका धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्ट्रिकोणले निकै महत्वपूर्ण गाउँपालिका रहेको उल्लेख गर्दै यस क्षेत्रको विकास गर्न सके पर्वत जिल्लाकै समृद्घिमा टेवा पुग्ने दावी गर्नुभएको थियो । अध्यक्ष मल्लले गाउँपालिका भित्रका प्राकृतिक श्रोतसाधनहरूको अधिकतम उपयोग गरि करको दायरालाई घटाउने आफ्नो योजनामा जिल्ला समन्वय समितिदेखि प्रदेश सरकार र संघीय सरकारको हस्तक्षेपले बाधा पुर्याएको गुनासो गर्नुभएको थियो । 

उहाँले देशमा नेकपाको दुईतिहाई सरकार भएको र पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू पनि महत्वपूर्ण पदमा रहेकोले योबेला पर्वतको सम्पूर्ण विकास हुनेमा आफू विस्वस्त रहेको वताउनु भएको थियो । उहाँले भाषण र गफ गरेर गाउँको विकास नहुने दावी गर्दै काममा प्रतिस्पर्धा गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो  । 

कार्यक्रममा पुन युवा क्लव कुश्माका अध्यक्ष कृष्ण पुन, जलजला ६ का वडाअध्यक्ष होमबहादुर फकामी लगायतले बोल्नुभएको थियो । स्वागत मन्तव्य दीपक खोर्जाले गर्नुभयो । कार्यक्रममा सोरठी नाच सहित विभिन्न मगर संस्कृतिहरू प्रस्तुत गरिएको थियो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)