Correspondent, ParbatNepal
7 years ago
2623
साजन परियार, पर्वत । श्रीमानको मृत्युको पीडा त छदै थियो । त्यस माथि परिवारका सदस्यहरुले किरिया बस्न नदिए पछि उनमा झन पीडा थपियो । श्रीमानको मृत्यु हुँदा समेत काज किरियामा बस्न नदिई आफु माथि अभद्र व्यवहार गरेको भन्दै यहाँकी एक महिला न्यायको खोजीमा प्रशासनमा आएकी छन् ।
पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी कृष्णकुमारी खत्री श्रीमान् जितवहादुर खत्रीको मृत्यु भएको पाँच दिनसम्म पनि परिवारका सदस्यले किरिया बस्न नदिएको भन्दै प्रशासनमा आएकी हुन् । श्रीमान बिरामी भएर अस्पतालको बेडमा छ्टपटाई रहँदा समेत परिवारका सदस्यले भेट्न नदिएको उनको गुनासो छ ।
आजभन्दा पाँच दिन पहिले श्रीमानको मृत्यु भएपछि घरमा आएर काजकिरिया गर्न खोज्दा खत्रीलाई घरकै सदस्यले काजकिरिया गर्न नदिएका हुन् । उनले आफ्ना पतिको काजकिरिया गरिदिनु भनेर पटक– पटक माग गर्दा पनि कसैले वास्ता गरेको उनको गुनासो छ । आफुपट्टि सन्तान नभएपछि श्रीमान् जितवहादुर खत्रीले अर्का बिवाह गरेका थिए । आफुले जन्माएको सन्तान पनि सानैमा दवैले खोसेर लगेपछि उनी सहारा विहिन बनेकी थिईन ।
श्रीमान्ले अर्को विवाह गरेपछि उनी २०६६ सालदेखी सदरमुकाम कुश्मामा बस्दै आएकी थिईन । अर्की श्रीमती पट्टिका छोरा रामवहादुर खत्री, लेखवहादुर खत्री, अर्जुनवहादुर खत्री र बसन्तवहादुर खत्रीले घरमा आएर क्रियामा बस्न नदिने भनी दुर व्यवहार देखाएको भन्दै आफुलाई पतिको क्रिया गर्ने वातावरण मिलाई दिन अपिल गरेकी छिन् ।
