Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1794




मुटुलाई यसरी बचाउन सकिन्छ–डा.अनिल भट्टराईका सुझाव
मुटुलाई यसरी बचाउन सकिन्छ–डा.अनिल भट्टराईका सुझाव

पर्वत नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन्। कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ। जन्मजात मुटुरोगीको सङ्ख्या एक प्रतिशत रहेको छ। मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले बताए।

उनले जीवनशैली खानपानमा सुधार गर्ने हो भने मुटुरोगबाट धेरै हदसम्म बच्न सकिने पनि बताए। डा भट्टराईले मानिसको जीवनशैलीलाई साधारण बनाउन सकियो भने मुटुरोग लाग्ने सम्भावना कम हुने बताए।

धुम्रपान नगर्ने, शरीरमा उच्च रक्तचाप चिनीको मात्रा घटाउने, तौल नियन्त्रण गर्ने नियमित भोजनमा कार्बोहाइडेडजन्य चीज कम खानाले मुटुरोगबाट बच्न सकिने उनको सुझाव छ। मुटुरोगबाट बच्नका लागि भात, आलु, बोसोजन्य मासु, चिल्लोपदार्थ कम खानुपर्ने उनी बताउँछन्।

त्यसैगरी फलफूल सागपात बढी मात्रामा खाने नियमित व्यायाम गर्नुपर्ने, दिनमा कम्तीमा आधा घण्टा कडा परिश्रम गर्नुपर्ने बताउँदै डा भट्टराईले वर्षको एक पटक नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने धारणा व्यक्त गरे। उनले रगत, पिसाब जाँच गर्नुका साथै स्वास फेर्न गाह्रो भएमा वा नियमित अवस्थाभन्दा फरक सङ्केत देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि सुझाव दिए।

जुनसुकै उमेर समूहका नागरिक पनि सचेत हुनुपर्ने बताउँदै उनले आफ्नो स्वास्थ्यप्रति थोरै मात्र सचेत सजग हुने हो भने पनि संवेदनशील अङ्ग मुटुरोगबाट बच्न सकिने विचार व्यक्त गरे। डा भट्टराईले आवश्यक जनशक्तिको अभाव सरकारको नीति नियमको कमी कमजोरीका कारणले सबै तहका नागरिकसम्म मुटुरोग उपचारको पहुँच पुग्न नसकेको उल्लेख गर्दै मुटुसम्बन्धी जस्तोसुकै रोगको उपचार शल्यक्रिया नेपालमै हुने बताए।

विपन्न नागरिकलाई राज्यले केही सहुलियत दिन थालेको बताउँदै उनले मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए। पर्वतकै मोदी गाउँपालिकामा जन्मिएका डा भट्टराईले पर्वत जिल्लामा ३० प्रतिशत मुटुरोगी रहेको बताए। सेभ हार्टका संस्थापकसमेत रहेका डा भट्टराईले विभिन्न जिल्लामा दर्जनौँ स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न अनाथ नागरिकको मुटुरोग परीक्षण उपचार गर्दै आएको जानकारी दिए।

उनले नेपालमा सबै किसिमको मुटुको शल्यक्रिया सम्भव भएको बताउँदै भल्भ फेर्ने सर्जरी, बाइपास सर्जरी, जन्माजात मुटुरोगीको प्वाल टाल्ने शल्यक्रिया, मुटुको नली फुटेको सर्जरी हुने बताए। कृत्रिम मुटु वा भ्यानटुकिलर यसिस्टिङ डिभाइस भनिने उपचार भने नेपालमा उपलब्ध नभएको उनको भनाइ छ। रासस

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)