Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1839




मध्यपहाडी लोकमार्ग : पोखरा बागलुङ- खण्डमा यात्रुलाई सास्ती
मध्यपहाडी लोकमार्ग : पोखरा बागलुङ- खण्डमा यात्रुलाई सास्ती


पर्वत — काँधमा काखे बच्चा र हातमा झोला च्याप्दै बिहीबार दिउँसो कास्कीको नयाँपुलबाट पर्वतको मोदी–२ डिमुवातर्फ महिलाहरू कष्टले पैदलयात्रा गरिरहेका थिए । कतिपय केटाकेटीहरू लामो हिँडाइ छिचोल्न नसकेर बाटैमा गलेका देखिन्थे ।

डिमुवादेखि नयाँपुलसम्मको करिब ४ किलोमिटर दूरीमा २ सय जनाभन्दा बढी पैदलयात्रुले कष्टले आउजाउ गरेको देखिन्थ्यो । कुनै राजनीतिक दल या समूहको बन्द, चक्काजाम भएर उनीहरू यसरी पैदलै हिँड्न बाध्य भएका होइनन् । निर्माणाधीन मध्यपहाडी लोकमार्गले डिमुवास्थित बेतेनीको महभीरमा पहरा फुटाउन एक्साभेटर चलाएका कारण बिहान १० देखि दिउँसो ४ बजेसम्म धौलागिरि र कास्कीतर्फबाट आउजाउ गर्ने यात्रुले यस्तो असुविधा भोग्न बाध्य भएका हुन् ।

लोकमार्ग आयोजना कार्यालयले सडक निर्माणको जिम्मा दिएको लामा कन्स्ट्रक्सनले महभीरको करिव २० मिटर पहरा एक्साभेटरको सहायताले फुटाउन सुरु गरेको करिब एक महिना भइसक्यो । कठिन चट्टान भएकाले पहरा फुटाउन भन्दै आयोजनाले गत पुस १२ गतेदेखि महभीरमा सडक चौडा पार्न पहरो फुटाउनुपर्ने भन्दै बिहान १० देखि साँझ ४ बजेसम्म सडक अवरुद्ध पारेर काम गरिरहेको छ । यसो गर्दा धौलागिरिबाट देशभर छुट्ने सवारीले डिमुवा र देशभरबाट धौलागिरि प्रवेश गर्ने यात्रुले कास्कीस्थित नयाँपुलमा ६ घण्टासम्म रोकिनुपर्ने अवस्था छ ।

आयोजनाले डिमुवामा महभीरको करिब २० मिटरमा दुईवटा एक्साभेटरको सहायताले पहरो फुटाउने काम गरिरहँदा ४ किमि वरपर सवारीसाधनको आउजाउ रोक्ने गरेको छ । यसरी रोक्नु सुरक्षाका दृष्टिले सावधानी भए पनि धेरै टाढा नै रोकिदिनु आयोजनाको लापरबाही भएको यात्रुहरूले गुनासो गरे । ‘जरुरी काम नपरी टाढाको बाटो हिँडिन्न,’ विमला क्षत्रीले भनिन्, ‘कामै रोकेर भए पनि बस छाड्नुपर्दैन रु अलि नजिकमा ल्याएर रोकिदिए हतारमा हुनेलाई हिँडेर जान सजिलो हुन्थ्यो ।’

कास्कीतर्फबाट पर्वत र पर्वततर्फबाट कास्की पैदलै जाने वैकल्पिक बाटा धेरै भए पनि सवारीमा आउनेलाई टाढै रोकिदिँदा घण्टौं हिँड्नु परेको गुनासो उनको छ ।बालबच्चा र सामान बोकेर अवरुद्ध सडक वारपार गर्दैगरेका यात्रुहरूले २० मिटरका लागि चार किलोमिटर सडक अवरुद्ध पारिनु आयोजनाको गम्भीर लापरबाही भएको बताए ।

‘सडक बन्दैगरेको भन्दा सय मिटर टाढा सवारी रोक्नु ठीकै हो,’ यात्रु पीताम्बर पौडेलले भने, ‘यहाँ त सरासर दुस्ख दिने नियत देखियो ।’ अर्का यात्रु विक्रम सुवेदीले आयोजनापक्षले सडक बनाउने नाममा सर्वसाधारणलाई हदैसम्मको दुस्ख दिँदा स्थानीय प्रशासन र सरोकारवाला मैन बस्नुसमेत लापरबाही भएकोआरोप लगाए ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गको बागलुङ, पर्वत र कास्कीसमेत हेर्ने गरी गतमहिना पर्वतमा आयोजना कार्यान्वयन कार्यालय सञ्चालनमा आएको छ । आयोजनाको पर्वत डिभिजन कार्यालयका अनुसार महभीर तीन जिल्लाको सबैभन्दा कठीन स्थान हो । सक्नेजति उपकरण प्रयोग गरेर छिटै सडक खुलाउने प्रयास भइरहेको आयोजनाको डिभिजन कार्यालय प्रमुख आशिष थापामगरले बताए ।

‘ठूला र धेरै मेसिन प्रयोग गरेर पहरा फुटाउन सम्भव छैन,’ उनले भने, ‘हाम्रो क्षमताले भ्याउने जति साधन प्रयोग गरिएको छ । पहरो धेरै कठिन र कडा चट्टान भएकाले सवारी रोक्नुपरेको हो ।’ उनले काम भइरहेका बेला पैदलयात्रुसमेत रोक्नुपर्ने बताए । पहरो निकै जोखिमपूर्ण भएकाले दुईभन्दा धेरै ब्रेकर हान्न नमिल्ने उनको भनाइ छ । आयोजनाले महभीर छिचोल्न आगामी जेठसम्म लाग्ने अनुमान गरेको छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले थोरै दूरीमा काम गरेर लामो दूरीको सडक अवरुद्ध गर्नु आयोजनाको कमजोरी भएको स्वीकारे । यात्रुलाई सहज आउजाउ गर्ने वातावरण बनाउन पहल भइरहेको उनको भनाइ छ । ‘हामीले त्यसै विषयमा छलफल गर्न अस्ती बुधबार आयोजना, ठेकेदार कम्पनी र यातायात व्यवसायीलाई बोलाएर कुराकानी गरेका थियौं,’ प्रजिअ ढकालले भने, ‘धेरै सर्वसाधारणले दुस्ख पाएका छन् । छिट्टै समाधान निकाल्न आयोजनापक्ष सहमत छ ।’

राष्ट्रिय गौरवको आयोजना भएकाले अवरोधभन्दा छिटो काम सक्न सबैपक्षले दबाब दिनुपर्ने उनले बताए । यात्रुलाई समस्या भएपछि स्थानीय मोदी गाउँपालिकाले गत साता नयाँ वैकल्पिक ट्रयाक खोलेको छ । करिब पाँच किलोमिटर लामो ड्राइभर्सन मार्गलाई केही रकम खर्चेर स्तरोन्नति गर्न सके यात्रुको समस्या समाधान हुने गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए ।

केही दिनअघि प्रमुख जिल्ला अधिकारी, आयोजनाका डिभिजन इन्जिनियर, जनप्रतिनिधिसहितको टोलीले स्थलगत अवलोकन गरिसकेको पातीचौर–राहाले–टापु–गौंडा हुँदै धौलागिरि गेटसम्मको सडक सञ्चालनमा आए यात्रुले यो समस्या भोग्न नपर्ने अध्यक्ष पौडेलले बताए । मोदी–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाले यात्रुले दैनिक ६ घण्टा जामको सामना गर्ने बाध्यताको अन्त्य गर्न ट्रयाक खोलेको यो सडक सञ्चालन हुनुपर्ने माग गरे ।

‘गाउँपालिकासँग बजेट मागेर हामीले वैकल्पिक मार्ग निर्माण गरिसकेका हौं,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘यसलाई अरु समयमा पनि सवारी चल्नसक्ने बनाउन सकिन्छ । आयोजनापक्षले पनि चासो दिनुपर्‍यो ।’थोरै खर्च गर्नसके जुनसुकैबेला अवरुद्ध हुने महभीर खण्डमा यात्रुले दुस्ख नपाउने उनले बताए । डिभिजन इन्जिनियर थापाले ड्राइभर्सन मार्ग अरू समयमा पनि सञ्चालन हुनेगरी चलाउन स्थानीय तहले चासो दिए आयोजनापक्ष सहयोग गर्न तयार भएको बताए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)