Correspondent, ParbatNepal
7 years ago
1600
पर्वत । पर्वत– पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मंगलवार मानिसहरुको निकै भिड थियो । कोही सामुहिक फोटो खिच्न व्यस्त थिए । कोही गफगाफमा मस्त थिए । सोही स्थानकी देवी सार्की भने मख्ख थिईन । आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने गगन थापालाइ भेट्दा सार्कीको अनुहार रसिलो देखिन्थ्यो ।
मंगलबार सूर्य प्रकाश मावि दुर्लुङको कार्यक्रममा सहभागी हुन पर्वत पुगेका गगन थापालाई भेटेपछि देवी मख्ख भएकी हुन । उनले आफूलाइ पढाउन सहयोग गर्ने थापासँग भीडलाइ छिचोल्दै फोटो समेत खिचाइन । कक्षा तीनमा पढिरहेकी देवी सार्कीको सम्पूर्ण पढाइ खर्च गगन थापाले व्यहोदै आएका छन् । कक्षा एकमा भर्ना भएको वर्ष देखि नै देवी सार्कीको सम्पूर्ण खर्च गगन थापाले व्यहोर्दै आएको छोरी पढाउ अभियानका अभियान्त प्रेम विकले बताए । विहान र बेलुकाको खानामात्र बाबुआमाले खुवाउछन् बाँकी
सवै खर्च थापाले गर्दै आएको जानकारी विकले दिए ।
स्कूलमा लाग्ने सम्पूर्ण खर्च स्टेशनरी, ड्रेस, दशैंका लागि लुगा, आवश्यकता अनुसार जुत्ता, जाडोको लागि आवश्यक लुगा लगायतको सहयोग गर्दै थापाले गर्नुहुन्छ । यसले आर्थिक अभावमा स्कूल जान नसक्ने देवी सार्की जस्तालाई ठूलो सहयोग पुगेको विकको भनाइ रहेको छ ।
थापाले देवी सार्कीलाई १० प्लस २ सम्म नै पढाउन सहयोग गर्ने बताएका छन् । दुर्गाका आमाबाबु स्थानीय स्तरमा नै मजदुरी गरेर जिवन निर्वाह गदै आएका छन् ।
