Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2060




सम्पत्ती सकिएपछि क्यान्सर पीडितको मन्दिरमा वास
सम्पत्ती सकिएपछि क्यान्सर पीडितको मन्दिरमा वास


रोशन तिवारी माघ २५ पर्वत । क्यान्सर बाट पीडित भएका पदमबहादुर कँडेल उपचार गर्दा गर्दै घरखेत लिलाम भएपछि मन्दिरमा वास बस्न थाल्नुभएको छ । जिल्लाको फलेवास नगरपालिका –११ पाङराङका कँडेल श्रीमती भिमाकुमारी सहित मुडिकुवा स्थित कालिका मन्दिरमा बस्दै आउनुभएको हो । 

एउटा झुपडी र ४ हलको खेत बेचेर आएको १२ लाख रुपैयाँ उपचारमा सकिएपछि मन्दिरको बास भएको कँडेलले बताउनुभयो ।  ६७ बर्षिय कँडेल पिसावनली अर्थात प्रोष्टेट क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँलाई रोगले च्यापेको ४ वर्ष भयो । २०७१ सालबाट कँडेलले उपचार शुरु गरेपनि रोग झनै बल्झिँदै गएको छ । पिसावमा रगत देखिन थालेपछि कँडेल २०७१ पुष १४ गते पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा पुग्नुभयो । त्यहाँ ४ महिनासम्म उपचार गरेपछि रगत बग्ने समस्या कम भयो । त्यसपछि उहाँ घर फर्किनुभयो । 

पोखरामा उहाँले १० लाख खर्च गर्नुभयो । पोखराबाट फर्किएको १ महिना नहुँदै फेरि पिसावमा रगत देखिन थाल्यो । भएको घर खेत बेचेर गाउँलेहरुको सल्लाह लिई उहाँ २०७५ जेठमा चितवनको वि.पी. कोईराला क्यान्सर अस्पतालमा पुग्नुभयो । एक महिना उपचार गराएपछि साथमा भएको रकम सकियो । अस्पतालले थप उपचारका लागि रकम ल्याउन सल्लाह दिएर अस्पतालबाट डिस्चार्ज गरे । डाक्टरहरुले थप रकम ल्याएर उपचार गर्ने सल्लाह दिएपछि उहाँ जिल्ला फर्केपछि गाउँ पुग्नुभएको छैन् । गाउँमा घर पनि छैन । साथमा रकम पनि भएन । 

गतवर्ष पुष देखि कँडेल दम्पती मन्दिरमा बस्दै आएका हुन् । डाक्टरले २२ लाख रुपैयाँ भए उपचार हुने सल्लाह दिएको कँडेलले बताउनुभयो । ‘म संग २० रुपैयाँ पनि खल्तीमा छैन,’ उहाँले भन्नुभयो ,‘ २२ लाख कहाँबाट ल्याएर उपचार गराउनु ? कँडेलले गहभरि आँशु पार्दै भन्नुभयो,’ जस्तो भएपनि बाँच्न मन लाग्दो रहेछ ।’ 

कँडेलका चार छोरा छन् । छोराहरुको पनि आर्थिक हैषियत कमजोर छ । कान्छा छोरा मोहनबहादुर कँडेल दुवईमा रोजगारी गर्छन् । मोहनबहादुरले पठाएको रकम औषधी किन्दा ठिक्क भएको बुवा पदमबहादुरले बताउनुभयो । जेठा छोरा सोमबहादुर घरमै कृषि पेशा गरेर परिवार पाल्दै आएका छन् । माईला छोरा भारतमा रोजगार छन् । साईलो छोरा पोहोर साल घरमा आगोमा डढेर अझै उपचार गर्दै आईरहेको कँडेलले बताउनुभयो ।    

औषधी किनेर खान मासिक १० हजार जति खर्च हुने गरेको पीडित पदमवहादुरले बताउनुभयो । उहाँले उपचारमा समस्या भएपछि देशबिदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गर्न अपिल गर्नुभएको छ । आफु सँग रकम नभएपछि क्यान्सर पालेर बस्नुपरेको कँडेलले बताउनुभयो । मन्दिरमा बस्दै आएका कँडेललाई पर्वत सेवा समाजले १० हजार २५ रुपैयाँ शुक्रबार हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष मुना भुसाल र फलेवास ११ का वडाध्यक्ष जीतवहादुर सुनारले पीडित कँडेल दम्पतीलाई उपचारका लागि प्राप्त रकम हस्तान्तरण गर्नुभएको हो । पर्वत घर भई विभिन्न देशमा रोजगारीको शिलशिलामा रहेका व्याक्तिहरुले कँडेललाई उक्त रकम सहयोग गर्नुभएको हो । सहयोग गर्नेहरुमा रोशन पौडेल  खुर्कोट,  सुनिल पौडेल  कुश्मा ७ खरेया ,सुरज क्षेत्री कुश्मा ७ खरेया,सुमन श्रेष्ठ  कुश्मा ७ खरिया र इन्दु राज रेग्मी कुश्मा नगरपालिका २ खुर्कोट रहेका छन् । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)