Correspondent, ParbatNepal
7 years ago
1473
पर्वत नेपाल–संवाददाता । पर्वतमा हात्तिपाईले रोक निवारणका लागि अन्तिम पटक हात्तिपाईले रोग बिरुद्धको औषधी ख्वाउने तयारी भएको छ । सन् २०१० बाट औषधी ख्वाउन थालिएपनि अझै रोगको संक्रमण कायमै रहेका कारण यसवर्ष १० औँ चरणको औषधी ख्वाउने अभियान सञ्चालन गरिएको हो । फागुन १५ गतेबाट एक हप्ता सम्म औषधी ख्वाउने अभियान सञ्चालन हुने लागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसवर्ष स्वयंसेविकालाई औषधी ख्वाउने जिम्मा नदिएर अनुभवी स्वास्थ्यकर्मीहरु मार्फत ख्वाउन लागिएको छ । बिगतका वर्षहरुमा औषधी पोको पारेर दिएकै आधारमा खाएको रेकर्ड राख्ने गरिएको थियो । औषधी पोको पारेर दिँदा बिरामीले नखाएको भेटिएपछि स्वास्थ्यकर्मीहरुले यसपाली स्वास्थ्यकर्मीकै आँखाअगाडी औषधी ख्वाउने भएका छन् ।
हात्तिपाईले रोगलाई निखार्ने उदेश्य लिएर यसपाली विगत वर्षभन्दा प्रभावकारी ढंगले औषधी ख्वाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दिपक भण्डारीले जानकारी दिनुभयो । यो बर्ष अन्तिम चरणको औषधी ख्वाउने अभियान रहेको भण्डारीले बताउनुभयो । अहेव, स्टाफ नर्स, अनमी लगायत ४१० जना स्वास्थ्यकर्मीहरु औषधी ख्वाउन परिचालन हुने भएका छन् ।
पर्वतमा १ लाख ४८ हजार २ सय ६७ जनसंख्या मध्ये १ लाख ३७ हजार २ सय ५० जनालाई औषधी ख्वाउने तयारी रहेको छ । सन् २०१० मा १३ प्रतिशतमा हात्तिपाईलेको संक्रमण रहेको पाइएको थियो । औषधी ख्वाउन थालेपछि संक्रमणको दर घट्दै गएको छ ।
जिल्लामा २ जना संक्रमित व्याक्तिको हातखुट्टा सुन्निएर औषधी सेवन गरिरहेको र १६ जनामा हाईड्रोशिलको अपरेशन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हात्तिपाईलेको संक्रमण हट्न नसकेका कारण सात वटै स्थानीय तहमार्फत औषधी ख्वाउने अभियान चलाइएको छ । हात्तिपाईले रोग बिरुद्धको औषधी ख्वाउने अन्तिम चरणको कार्यक्रम रहेकाले यो अभियानलाई प्रभावकारी बनाउन जिल्लाका स्थानीय तहहरुले पनि रणनीति बनाईरहेका छन् ।
