Correspondent, ParbatNepal
7 years ago
1719
फागुन ७, पर्वत । पर्वतको कुश्मामा मंगलवारबाट पहिलो राष्ट्रिय मगर महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भिख मागेर देश समृद्ध नहुने बताउनुभयो । उहाँले देश अनुदान र ऋणको भरमा चल्न नहुने बताउँदै देशभित्रैका स्रोत साधानहरुको समुचित उपयोग गरि धनी बन्नुपर्ने कुरामा जोड दिनुभयो ।
मेला महोत्सवहरुमा पनि स्थानीय उत्पादनको बिक्री गर्ने र तिनीहरुको प्रचार गर्नुपर्ने भन्दै उहाँले स्वदेशी बस्तुहरुको प्रयोग गर्ने बानीको बिकास गर्नुपर्ने पनि बताउनुभयो । स्वदेशी बस्तुहरुको बिक्री र प्रचार गर्ने मेलाहरुमा बिदेशी उत्पादनको प्रदर्शन हुने गरेको र मनोरञ्जनका साधानहरु पनि भारतबाटै ल्याईने गरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो । देशमा भष्टचार बढेको पनि उहाँले बताउनुभयो ।
देश भष्टचारमा डुबेको, आयोजनाहरु लामो समयसम्म अलपत्र परेको, बैँकमा तरलता देखिएको, बजारमा मंहगी बढेको, बिदेशी बस्तुहरुको आयात बढेको दाबी गर्दैै मुख्यमन्त्री गुरुङले यो अवस्थामा देशको बिकास नहुने बताउनुभयो । संघियता आए देशमा बिकास हुने जनअपेक्षा रहेपनि केन्द्रिकृत सोच परिवर्तन नभएको र पुरातनबादी सोच अहिले पनि कायमै रहेकाले संघमै मात्र अधिकार र बजेट थन्किँदा प्रदेश र स्थानीय तह बिकासको गतिमा अगाडी बढ्न नसकेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
सिँगापुर लिक्वनी र मलेशिया महाथिरको एकल सोचले विकासमा धेरै अगाडी बढेपनि प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि लिक्वनी र महाथिरको छायाँ देखेपनि उहाँको व्यवहारमा त्यस्तो छायाँ नदेखिएको गुरुङले आरोप लगाउनुभयो ।
