Correspondent, ParbatNepal
7 years ago
1595
फागुन ८ पर्वत । पर्वत जिल्ला अस्पतालमा थाईराईड रोगको परिक्षण गर्ने मेशिन भित्रिएको छ । एनआरएन रुसको आर्थिक सहयोगमा जिल्ला अस्पतालमा थाईराईड मेशिन भित्रिएको हो । अस्पतालमा आउने थाईराइडका बिरामीहरुलाई उपचारमा सहजता ल्याउन मेशिन सहयोग गरेको एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले हिजो जिल्ला अस्पतालमा थाईराइड जाँच गर्ने मेशिन हस्तान्तरण गर्नुभयो । ७ लाख रुपैयाँ पर्ने उक्त मेशिन जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीलाई हस्तान्तरण गरिएको हो । यसअघि थाईराईडको जाँचका लागि नमूना संकलन गरि पोखरा पठाउनुपर्ने बाध्यता रहेको थियो । मेशिन आएपछि अव पोखरा जानुपर्ने बाध्यता हटेको छ ।
जिल्ला अस्पतालमा दैनिक ५ जना जति थाईराइडका शंकास्पद बिरामी आउने गरेको अस्पतालका डाक्टर भक्तबहादुर गुरुङले बताउनुभयो । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश भित्रका सबै जिल्ला अस्पतालमा स्मार्ट हेल्थ केयर सञ्चालन गर्ने तयारी भएको बताउनुभयो ।
जिल्ला अस्पतालहरुको क्षमता ५० शैयाको बनाउने र आवश्यक डाक्टर, उपकरण र प्रविधि बढाउन प्रदेश सरकार लागिपरेको गुरुङले बताउनुभयो । उहाँले स्वास्थ्यलाई मौलिक हकमा राखिएको बताउँदै रोग लागेर कोहि पनि अकालमा मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले आगामी दिनमा पनि स्वास्थ्यको क्षेत्रमा संस्थाले सहयोग गर्ने बताउनुभयो । गतवर्ष बिहादी स्वास्थ्यचौकीलाई एम्वुलेन्स हस्तान्तरण गरेको पनि उहाँले बताउनुभयो ।
