Correspondent, ParbatNepal
7 years ago
1475
फागुन ११ पर्वत । पर्वत, कास्की र स्याङजाको सिमानामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र पञ्चासेलेकमा केबुलकार बनाउने योजना निर्माण चरणमा प्रबेश गरेको छ । पञ्चासे केबुलकार प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरेर केवुलकार निर्माण चरणमा प्रबेश गरेको जानकारी दिएको हो ।
पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पञ्चासे तालसम्मको ८.५ किलोमिटर दूरीको केबलकार निर्माण गर्ने प्रक्रिया शुरु भएको पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । पञ्चासे केवुलकार प्रालीले लगानीको वातावरण तयार भैसकेको,जग्गा प्राप्ती भैसकेको र अन्य प्राविधिक पक्षको काम पुरा भएकाले निर्माण चरणमा प्रबेश गरेको शर्माले बताउनुभयो ।
पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सो केबुलकार ११ अर्ब ३८ करोड ५० लाख रुपियाँको लागतमा निर्माण गर्न लागिएको हो । पञ्चासे केबुलकार नेपालकै सबैभन्दा ठूलो र लामो हुने कम्पनीले जनाएको छ ।
केबलकार निर्माणका लागि सरकारसँग करिव तीन हजार रोपनी जग्गा लिजमा लिने सम्झौता भइसकेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । निजी–साझेदारी सहकार्यमा निर्माण गरिने सो केबलकार नेपालकै राष्ट्रिय गौरवको परियोजना बन्न सक्ने विश्वास गरिएको छ ।
उक्त केबलकार निजी, सामुदायिक र जनसहभागितामा निर्माण गरिनेछ । परियोजनाका लागि लाग्ने लागतका लागि आफूहरुले बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागिताबाट जुटाउने अध्यक्ष शर्माको भनाइ छ । दश हजार स्थानीयलाई रोजगारी प्रदान गर्ने निर्माण कम्पनीको दाबी छ ।
