Correspondent, ParbatNepal
7 years ago
1954
पर्वत १५ फागुन ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी प्रदेशमा ३ सय वटा होमस्टे थप्ने तयारी भएको बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिकामा होमस्टे सम्बन्धि तालिमको समापन गर्दै लम्सालले गण्डकी प्रदेशलाई होमस्टेको हब बनाउने सोच रहेको बताउनुभयो । मन्त्री लम्सालले पर्यटन प्रबद्र्धनलाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले होमस्टे सञ्चालनका लागि ३० करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।
होमस्टेका माध्यमबाट पर्यटकहरु आकर्षित हुने र यसले ग्रामीण क्षेत्रका विपन्न समूदायले रोजगारी प्राप्त गरि आर्थिक उपार्जन पनि गर्ने भएकाले सरकारले होमस्टे प्रबद्र्धनमा जोड दिएको मन्त्री लम्सालले उल्लेख गर्नुभयो ।
अहिले सञ्चालनमा रहेका होमस्टेको स्तरउन्नती गर्ने र नयाँ होमस्टे सञ्चालन गर्ने सरकारको नीति रहेकाले गाउँ गाउँमा होमस्टे सञ्चालन गर्न आवेदन दिन सर्वसाधारणहरुलाई आग्रह गर्नुभयो । पर्वत ‘ख’ का साँसद समेत रहनुभएका मन्त्री लम्सालले पर्वत जिल्लामा पनि थुप्रै पर्यटकिय क्षेत्र रहेको हुनाले पर्वतबासीहरुलाई होमस्टे सञ्चालन गर्ने सोच बनाउन सुझाव दिनुभयो ।
जिल्लाको चित्रे, आर्थर, दुर्लुङ, थापाठाना, लेस्पार, लुँखु, त्रिबेणीमा यसअघि होमस्टे सञ्चालन भैसकेका छन् । अन्य गाउँमा पनि होमस्टेको राम्रो संभवना छ । फलेवास नगरपालिकाले होमस्टे प्रबर्दन गर्ने कार्यक्रम तय गरेको छ । फलेवास नगरपालिका ५ खानीगाउँमा ३ दिने होमस्टे पर्यटन विकास सम्बन्धी आधारभुत तालिमको समापन गर्दै लम्सालले स्थानीय सरकारको योजनामा प्रदेश सरकार साथ दिन तयार रहेको बताउनुभयो यसैबिच तीन दिने तालिम शनिवार समापन भएको तालिममा ३० जना स्थानीय सहभागी भएका थिए ।
पाहुना स्वागत तथा सत्कार गर्ने तरिका, स्थानीय उत्पादित बस्तुका परिकार, अर्गा्निक खाना,बासको व्यवस्था र नेपाली संस्कृतीका ाबारेमा तालिम प्रदान गरिएको थियो । प्रशिक्षार्थीहरुले आफुले तालिममा सिकेको सिप र ज्ञानलाई पूर्णरुपमा पालना गर्दै होमस्टेलाई नमुना बनाउने बताएका थिए । कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
